
इंग्लिस प्रिमियर लिगमा उपाधि दाबेदार आर्सनल तेस्रो खेलमा ब्राइटनसँग १-१ गोलको बराबरीमा रोकिएको छ। शनिबार साँझ भएको खेलमा आर्सनल दोस्रो हाफको सुरुवातमै १० खेलाडीमा समेटिएको थियो। आर्सनल खेलमा अग्रताका बाबजुत दोस्रो हाफमा गोल खान पुग्दा अङ्क बाँड्न बाध्य भयो। एक खेलाडी कम भएपछि आर्सनल ब्राइटनसँग पूर्ण दबाबमा परेको थियो।
खेलमा ब्राइटन विरुद्ध आर्सनलले पहिलो हाफमै अग्रता बनाएको थियो। खेलको ३८ औं मिनेटमा काइ हावर्टले बुकायो साकाको पासलाई सदुपयोग गर्दा आर्सनलले अग्रता लिएको थियो। तर त्यसपछि पहिलो हाफमा दुबै टिमले थप गोल गर्न सकेनन्।
यद्यपि दोस्रो हाफमा भने आर्सनल सुरुवातमै १० खेलाडीमा समेटियो। ४९ औं मिनेटमा डिक्लेन राइस दोहोरो पंहलो कार्ड पाएर मैदानबाट बाहिरिंदा आर्सनल दबाबमा परेको थियो। त्यसपछि खेलमा फर्किएको ब्राइटनले ५८ औं मिनेटमा बराबरी गोल गर्यो। उसका लागि जोआओ पेड्रोले गोल गर्दै टिमलाई खेलमा फर्काएका थिए।
त्यसपछि पनि एकपछि रुपमा खेल आफ्नो पकडमा पारेको ब्राइटनले गोल गर्न भने सकेन्। काउन्टर याट्याकमा बुकायो साका र काइ हावर्टले बनाएका केही मौकामा आर्सनल चुक्दा सम्भावित जितबाट टोली विमुख भएको थियो।
खेलपछि आर्सनलको तीन खेलबाट ७ अङ्क भएको छ। आजै हुने प्रिमियर लिगका अन्य खेलमा ब्रेन्टफोरड र साउथहेमन्टन, एभर्टन र बोर्नेमाउथ, इप्सविच टाउन र फुलह्याम, लेस्टर सिटी र एस्टन भिल्ला प्रतिस्पर्धा गर्दै छन्। त्यस्तै नोटिङ्घम फरेस्ट र वल्भरह्याम्टन भिड्दा म्यानचेस्टर सिटीले वेस्टह्याम युनाइटेडसँग प्रतिस्पर्धा गर्दै छ।