
काठमाडौं- एन्फा महिला लिगमा विभागीय टोली नेपाल पुलिस क्लबले सुदुरपश्चिममाथि ९-० को प्रभावसालि जित निकालेको छ। पुलिसले गोल वर्षा गरेको खेलमा निरु थापा र दिपा न्यौपानेल ह्याट्रिक पुरा गरे।
आफ्नो दोस्रो खेलमा पहिलो जित निकाल्नेक्रममा पुलिसले एकपछिय रुपमा गोल गरेको थियो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा पुलिसका लागि थप गोल पुजा राना मगर, अनुष्का शेर्पा र जिमकुमारी गुरुङले गरे।
खेलमा निरुले आठौं, ६८औं र ७७औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गर्दा दिपाले २९औं, ४६औं र ७०औं मिनेटमा गोल गरेकी थिइन्। त्यस्तै पुजाले २८औं मिनेटमा गोल गर्दा ४६औं मिनेटमा जिमकुमारी र इन्ज्युरी समयमा अनुष्काले गोल गर्दा पुलिस जारी लिगमा अहिले सम्मकै फराकिलो जित निकाल्न सफल भयो।
यसअघि पहिलो खेलमा पुलिस अर्को विभागिय टोली नेपाल एपिएफ क्लबसँग बराबरीमा रोकिएको थियो। सुदूरपश्चिमको भने यो लगातार दोस्रो हार हो। पहिलो खेलमा सुदूरपश्चिम बागमती युथ क्लबसँग पराजित भएको थियो।
आजै भएको पहिलो खेलमा संकटा क्लबले चन्द्रपुर नगरपालीकालाई गोलरहित बराबरीमा रोकेको थियो। अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ।