चीनको चाङ’ इ-५ चन्द्र मिशन: जसले चन्द्रमाको भू-वैज्ञानिक इतिहास पुनर्लेखन गर्‍यो

चीनको चाङ’ इ-५ चन्द्र मिशन: जसले चन्द्रमाको भू-वैज्ञानिक इतिहास पुनर्लेखन गर्‍यो
+
-

पछिल्लो समय चीनको चाङ’इ-५ ले ल्याएका नमूनाहरुले चन्द्रमाको भू-वैज्ञानिक इतिहासलाई पुन: एकपटक पुनर्लेखन गरेको छ। चीनको एक यानले पृथ्वीमा ल्याएका चन्द्र नमूनाहरूको अनुसन्धानहरुबाट नयाँ प्रमाण प्रस्तुत गरेसँगै विश्वभर चासो ब्यक्त गरिएका छन्।

३ वर्षअघि ल्याइएका नमुनाहरुको पछिल्लो अध्ययनबाट चन्द्रमामा ज्वालामुखी विस्फोटहरू १२ करोड वर्ष पहिले पनि भइरहेको र जतिबेला पृथ्वीमा डाइनासोरहरू हिँडिरहेका हुन्थे। जबकी यसअघिका अनुसन्धानहरुले भने अर्बौं वर्षपहिले नै चन्द्रमा चिसिएको दाबी गरेका थिए।

चिनियाँ अनुसन्धानकर्ताहरूले गरेको यो विश्लेषणले चन्द्रमाको भू-वैज्ञानिक विकासबारे लामो समयदेखि चल्दै आएको मान्यतालाई नयाँ चुनौती दिएको छ। साथै, यसले अन्य ग्रहहरूको तापीय विकास र ग्रहहरू कसरी चिसिन्छन् भन्ने प्रश्नमा चलिरहेको वैज्ञानिक बहसमा थप योगदान पुर्‍याएको छ।

यी निष्कर्षहरू ‘साइन्स’ नामक अन्तर्राष्ट्रिय वैज्ञानिक पत्रिकामा चीनको भू-विज्ञान तथा भू-भौतिकी संस्थान (IGGCAS)का प्राध्यापक ली क्युली र उनको टोलीले प्रकाशित गरेका हुन्। यसअघिसम्म के मानिन्थ्यो भने- ४.५ अर्ब वर्ष पहिले निर्माण भएलगत्तै चन्द्रमा चिसिएको थियो र यसको ज्वालामुखीय गतिविधि २.८ अर्ब वर्षअघि नै समाप्त भएको थियो। तर पछिल्ला अनुसन्धानहरुले ग्रहविज्ञानमा अब यो अनुमान गर्न प्रेरित गरेको छ कि चन्द्रमाको ज्वालामुखीय गतिविधि यसअघिको अनुमानभन्दा निकै लामो समयसम्म चलिरहेको थियो।

२०२१ मा, प्राध्यापक लीले चीनको चाङ’इ-५ मिशनद्वारा सोही वर्ष ल्याइएका चन्द्रमाको माटोका नमूनाहरूको आइजिजिसिएएस अध्ययनमा भाग लिएर अनुसन्धान सुरु गरेका थिए। जसबाट देखियोकी ‘म्याटेरियल-बासाल्ट क्लास्ट’-२ अर्ब वर्ष पुरानो थियो।

नयाँ अध्ययनमा, प्राध्यापक ली र उनको टोलीले सोही चन्द्रमाको माटोको नमूनामा फेला परेका सिसाका मोतिहरूको विस्तृत विश्लेषण गरेको छ। यसले चन्द्रमाको पछिल्लो ज्वालामुखीय गतिविधिको समयरेखालाई करिब १२ करोड वर्षअघिसम्म धकेलिदियो।

लीका अनुसार,’अपोलो र लुना (रूसी) मिशनहरूले पृथ्वीमा ल्याएका वा चन्द्र उल्काका रूपमा पृथ्वीमा पुगेका चन्द्र ज्वालामुखीय बासाल्ट नमूनाहरूको मिति निर्धारणले देखाएको छ कि चन्द्रमामा बासाल्टिक ज्वालामुखी गतिविधि ४.४ अर्ब वर्षअघि सुरू भएको थियो र कम्तीमा २.९ देखी २.८ अर्ब वर्षअघिसम्म जारी रह्यो।’

पछिल्लो समयमा पृथ्वीबाट गरिएका टेलिस्कोप अवलोकनहरू र नासाको लुनार रिकनाइसन्स अर्बिटरबाट प्राप्त तथ्यांकले चन्द्रमामा पछिल्लो समयको ज्वालामुखीय गतिविधिलाई सहयोग गरेको भएपनि कुनै ठ्याक्कै मिति पत्ता लाग्न सकेको थिएन।

क्यालिफोर्निया विश्वविद्यालय, डेविसका प्राध्यापक यिन चिङ्जुले पछिल्ला अनुसन्धानले चन्द्रमाले अझै पनि म्याग्मा उत्पन्न गर्न सक्ने क्षमता राख्न सक्ने बताए। उनी भन्छन्,’पछिल्लो अध्ययनले चन्द्रमानले अझैपनि म्याग्मा उत्पन्न गर्न सक्ने क्षमता राख्छ।’ उनले ‘साइन्स’ पत्रिकाको पछिल्लो अंकका बारेमा टिप्पणी लेख्दै यो कुरा उल्लेख गरेका हुन्। यिन थप्छन्,’यसले ग्रहहरूका तापीय विकास र ग्रहहरू कसरी चिसिन्छन् भन्ने अझै थाहा नभएको प्रश्नमा चलिरहेको बहसमा थप योगदान पुर्याउने छ।’

यिनका अनुसार ग्यासले भरिएको म्याग्मा विस्फोट हुँदा म्याग्माका फोहोराहरू उत्पन्न गर्न सक्छ, जसले उप-मिलिमिटर आकारका सिसाका मोतिहरू उत्पादन गर्छ। ती मोतिहरू चन्द्रमाको सतहभरी व्यापक क्षेत्रमा जम्मा हुन सक्छन् र त्यसपछि विभिन्न टक्करहरूको प्रभावले अझै टाढा पुर्याउन सक्ने अध्यनले देखाएको छ। तर, सिसाका मोतिहरू चन्द्रमाको माटो र चट्टानलाई गलाउने क्षुद्रग्रह र उल्का पिण्डहरूको टक्करबाट पनि उत्पन्न हुन सक्छन्। यस्ता टक्करबाट बनेका सिसा र ज्वालामुखीले बनाएका मोतिहरूलाई छुट्याउनु अत्यन्त चुनौतीपूर्ण हुन्छ।

यिन भन्छन्,’दुवै समान प्रकारका चट्टानहरू पग्लिएका थोपा जमेर बनेका हुन्छन्। यद्यपि, उनीहरू फरक प्रक्रियाबाट बनेका हुनसक्छन्, तिनको रासायनिक र समस्थानिक संरचना सामान्यतया समान हुन्छ।’

लीको टोलीले सही सिसा नमूनाहरू पहिचान गर्नको लागि अत्यन्त सावधानीपूर्वक विधि विकास गरेको थियो। लीले आफ्नो अनुसन्धानमा भनेका छन्,’हामीले चाङ’इ-५ मिशनले संकलन गरेको चन्द्रमाको माटोमा भएका करिब ३,००० सिसाका मोतिहरूको अनुसन्धान गर्यौं र तिनको बनावट, रासायनिक संरचना र सल्फर समस्थानहरूको आधारमा तीनवटा मोतिहरूलाई ज्वालामुखीय उत्पत्तिको ठहर गरेका हौं।’

ती तीन ज्वालामुखीय सिसा मोतिहरूको युरेनियम-लेड मिति निर्धारणबाट ती करिब १२.३ करोड वर्ष पहिले बनेको लीको अनुसन्धानबाट देखिएको थियो। जसबाट तीनीहरुको आधारभुत भिन्नता करिब १.५ करोड वर्षको फरक हुन सक्ने जनाइएको छ। साथै २ अर्ब वर्ष पुराना ज्वालामुखीय बासाल्टहरूभन्दा यी निकै कम उमेरको भएको अनुसन्धानले पुष्टि गरेको छ।

यो अनुसन्धानले यस्तो सुझाव दियोकि चन्द्रमाको भू-वैज्ञानिक इतिहास पहिले सोचेकोभन्दा अझै गतिशील र जटिल छ, जसले यसको तापीय विकास र लाखौं वर्षसम्म सतहलाई आकार दिने प्रक्रियाहरूमा नयाँ परिदृश्य देखाएको छ।

लीको अनुसन्धानले यो पनि पत्ता लगायो कि चाङ’इ-५ मिशनबाट प्राप्त तीनवटा ज्वालामुखीय सिसा मोतिहरूको संरचना नासाको अपोलो कार्यक्रमबाट प्राप्त २५ थरीका ज्ञात ज्वालामुखीय सिसा मोतिहरूको संरचनासँग फरक छ।

चाङ’इ-५ का मोतिहरूमा सोडियम अक्साइड, पोटासियम अक्साइड, फस्फोरस पेन्टाअक्साइड र केही ट्रेस तत्वहरूको मात्रा उच्च पाइएको छ, जुन सामान्यतया असंगत मानिन्छन्। यी असामान्य रासायनिक संयोजनहरूले चन्द्रमामा पछिल्लो समयमा भएका आश्चर्यजनक ज्वालामुखी विस्फोटहरूको कारणको संकेत दिन सक्छन्।

लीका अनुसार,’उच्च अनुपातमा(KREEP) उच्च पोटासियम (K), दुर्लभ पृथ्वी तत्त्व (REE) र फस्फोरस (P)ले विकिरणजन्य ताप पैदा गर्न सक्छ, जसले स्थानीय तापीय असंगतिहरू सिर्जना गरेर म्यान्टलको आंशिक पग्लावट गराउँछ र त्यसपछि म्याग्मा सतहमा विस्फोट हुन्छ।’ यिनले भने,’चन्द्रमामा उत्पन्न भएको अनुमानित तापले १२ करोड वर्षअघिसम्म स्थानीय म्याग्मा गतिविधिहरूलाई कायम राख्न पर्याप्त छ कि छैन भन्ने पूर्ण मूल्यांकन गर्न विस्तृत मोडलिङ आवश्यक छ।’

चाङ’इ-५ का चन्द्र नमूनाहरूले अन्य उल्लेखनीय खोजहरू पनि दिएका छन्। जस्तै परिवर्तनसाइट (चाङ्गसाइट) (Y) खनिज पत्ता लगाउनु, उच्च अक्षांश क्षेत्रमा चन्द्रमाको सतहमा पानीको उत्पती पत्ता लगाउनु र चन्द्र सामग्रीको तापीय उपचारबाट पानीको वाष्प उत्पादनका बारेमासमेत महत्त्वपूर्ण खोजहरु भएका छन्।

साभार: साउथ चाइना मर्निङ पोस्टबाट।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?