
काठमाडौं- कोशी प्रदेशले एन्फा महिला लिगमा लगातार तेस्रो जित निकाल्दै शीर्ष स्थानमा कायम रहेको छ। लगातार जित यात्रामा रहेको कोशीले आइतबार कर्णाली प्रदेशलाई ४-० गोल अन्तरले पराजित गर्यो।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा कोशीलाई जित दिलाउन पुर्णिमा राईले २ तथा प्रतिक्षा राई र समिक्षा मगरले समान १-१ गोल गरे।
खेलमा पुर्णिमाले ३४औं मिनेटमा गोल गर्दै कोशीलाई अग्रता दिलाएकी थिइन। पहिलो हाफमा १-० को अग्रता बनाएको कोशीका लागि ६६औं मिनेटमा समिक्षाले अग्रता दोब्बर बनाइन्।
पुर्णिमाले ७१औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दा प्रतिक्षाले ७४औं मिनेटमा कोशीका लगि चौंथो गोल गर्दै टिमको फराकिलो जित निश्चित गरेकी थिइन्।
तेस्रो खेलमा अपराजित रहँदै ९ अंक जोडेको कोशी तालिकाको शीर्ष स्थानमा छ। पराजित कर्णाली नवौं स्थानमा झरेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना जारी लिगमा १० टोलीको सहभागिता रहेको छ। पहिलो चरणमा सबै टोलीले एकअर्काको सामना गरिरहेका छन् । जस अन्तर्गत तेस्रो चरणका खेलहरु आजबाट सुरु भएका हुन्।