
झापा – नजिकिँदै गरेका नेपालीका पर्वहरुलाई लक्षित गरेर झापाको बिर्तामोडमा एक महिने दशैंतिहार महोत्सव तथा जुत्ताचप्पल मेला हुने भएको छ।
‘नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मुख्य नारासहित भदौं २५ गतेदेखि असोज २४ गतेसम्म बिर्तामोडस्थित सिटी सेन्टरमा मेला आयोजना गर्न लागिएको आइतवार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर जानकारी गराइएको हो।
सिटी सेन्टर बिर्तामोडको आयोजना तथा बिर्तामोड नेपाली जुत्ता घरको सह–आयोजनामा महोत्सव हुन लागेको सिटी सेन्टरका सञ्चालक दिपेन्द्र राउतले जानकारी दिए।
स्वदेशमा उत्पादित जुत्ता चप्पलहरु र स्वदेशी ब्राण्डलाई आम उपभोक्तामाझ पुर्याई स्वदेशी वस्तु नै प्रयोग गर्ने भावनाको विकास गराउनु महोत्सवको मुख्य उद्देश्य रहेको नेपाली जुत्ता घरका एक जना सञ्चालक होमनाथ उपाध्यायले बताए। उपाध्यायका अनुसार महोत्सवमा जुत्ता चप्पलका २५ स्टल रहनेछन्।
महोत्सवमा नेपालमा स्थापित चर्चित जुत्ता चप्पल कम्पनी र ब्राण्डहरु बीएफ डियर हिल, फस्ट वाक सुज, रन सुज, स्मार्ट सुज, क्रस रोड सुज गरी ५ वटा कम्पनीका १० भन्दा बढी ब्राण्डका तीन हजारभन्दा बढी मोडलका जुत्ताहरु उपलब्ध हुने उनले बताए।
महोत्सव अवधिभर न्यूनतम् १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहने उपाध्यायले जानकारी दिए।