
काठमाडाैँ – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अरु राजनीतिक दललाई कमजोर बनाउने नीतिअनुसार वर्तमान सरकार निर्माण नभएको बताएका छन्।
बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आायोजित उत्कृष्ट नगरपालिका र गाउँपालिकालाई सम्मान कार्यक्रममा उनले यस्तो बताउनुभएको हो। नेकपा (माओवादी केन्द्र) प्रति लक्षित गर्दै उनले दुई ठूला राजनीतिक दल मिलेपछि अरु पार्टीलाई सिध्याउने हुन् की भन्ने भय पालेर नराख्न आग्रह गरे। उनले कुनैपनि पार्टीलाई सिध्याउने र कमजोर पार्ने नीति कांग्रेस र एमालेको नभएको बताए।
उनले सबैलाई मिलाएर अघि बढाउन आफूहरुले चाहेको पनि स्पष्ट पारे। उनले पछिल्लो समय पार्टी परित्याग गरेकाहरु पनि पार्टीमा पुनः फर्किने क्रम जारी रहेको भन्दै अझ बलियो पार्टी बनाउनुपर्ने आवश्यकता औंल्याए। उनले कांग्रेसलाई कमजोर बनाउनेहरु नेपालमा रहेको भन्दै सबैलाई एक गरेर बलियो पार्टी बनाउनुपर्ने बताए। उनले आफूले अब सबैकुराबाट सन्यास लिने बेला आइसकेको भन्दै पार्टी, देशको चिन्ता अब नयाँ बन्ने नेताहरुले लिनुपर्ने बताए।
उनले भने, ‘हाम्रो पार्टी र नेकपा एमाले सहमतिमा पुगेर अहिले नयाँ सरकार बनेको छ। एमाले र माओवादी हुँदा हाम्रो पार्टीको अवस्थाप्रति सबै साथीहरु चिन्तित थिए। डराएका पनि थिए। अफ्ठ्यारो पनि मानेका थिए। उहाँहरुकै सुझाव अनुसार एमालेका नेता केपी शर्मा ओलीसँग कुरा गरेर सहमतिमा पुग्यौँ। त्यो सहमतिले अहिले केपी ओलीजी प्रधानमन्त्री हुनुहुन्छ। दुई वर्ष पुगेपछि डेढ वर्षको निम्ति मलाई प्रधानमन्त्री छोड्ने सहमति भएको छ। यसले देशभरका साथीहरुमा सुखद् कुरा आएको छ। सबै साथीहरु खुशी छन्। दुई पार्टीको बीचमा जो सहमति भएको छ। त्यसले अरु केही पार्टीका साथीहरु दुई पार्टी मिलेपछि हामी अरु पार्टी सिद्धिन्छ भन्ने चिन्ता होला। तर हामी कसैलाई सिध्याउने, कमजोर गर्ने हाम्रो पार्टीको नीति पनि होइन। मलाई लाग्छ, एमालेका नेता केपी ओलीज्युको कुरा पनि होइन। त्यसैले हामी सबैलाई मिलाएर अघि बढ्नुपर्ने कुराहरु छ। हामी सबैलाई मिलाएर अघि बढाउन चाहन्छौँ। अहिलेको बेलामा एमाले र कांग्रेसको बीचमा सहमति भएको छ। यसले हाम्रोबाट अरु पार्टीमा गएकाहरु पनि फर्किंदै छन्। अझै फर्काउने काममा लाग्नुपर्छ। धेरै पार्टीले हामीलाई कमजोर बनाउन खोजकै हो। हाम्रो पार्टी कमजोर बनाउनेहरु अझै छन्। हामीले सबैलाई एक गरेर बलियो पार्टी बनाउनु पर्छ। मेरो एज पनि गयो। हरेक कारणले पनि रिटायरमेण्टको बेला भइसकेको छ। भोलि हुने नेताहरुले नै चिन्ता बढी गर्नुपर्छ। मलाई भन्दा बढ्ता चिन्ता गर्नुपर्छ।’
सभापति देउवाले भोलिका दिन चुनौतीपूर्ण र महत्वपूर्ण अवसरका रुपमा रहेको भन्दै दुवैलाई मिलाएर अघि बढ्न आग्रह गरे। उनले अब पार्टीको नेतृत्व लिने नेताहरुलाई काम गरेर देखाउन पनि चुनौती दिए। उनले कांग्रेस र एमालेको सरकार बनेपछि देशभर उत्साह पैदा भएको बताए।