
काठमाडाैँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जलनको उपचारका लागि पनि सरकारले आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेका छन्।
सरकारले मुटु रोग, क्यान्सर, अल्जाइमर, पार्किन्सस, हेड इन्जुरी, इस्पाइनल इन्जुरी, सिकल सेल एनिमिया र मिर्गौला रोगका बिरामीलाई उपचारका लागि एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ।
शुक्रबार वीर अस्पतालमा डा. केडी जोशी जलन उपचार केन्द्रको शुभारम्भ गर्दै उनले जलन उपचारका लागि पनि सरकारले तत्काल एक लाख आर्थिक सहयोग उपलब्ध गराउने बताएका हुन्।
उनले भने, ‘आम नागरिकले जलन उपचारका निम्ति सुविधा पाउने एउटा स्थिति वीर अस्पतालमा बनेको छ। यसको उपचारलाई प्राथमिकतामा राखिनुपर्छ भनेर हामीले मन्त्रालय सम्हालेदेखि नै यो ८ वटा रोगमा राज्यले जुन सुविधा दिएको छ। यो नवौँ उपचार सुविधा पाउने अवस्था बनाउन हामीले निरन्तर प्रयास गरेका छौँ। स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयलाई लेखेर पठायो। त्यो प्रस्ताव स्वीकृत भएको छैन।’
उनले उपचारको अभावमा जलन रोगीहरूको ज्यान जाने गरेकाले सरकारले त्यस्ता रोगीहरूको उपचारका लागि सो केन्द्र स्थापना गरेको स्पष्ट पारे।
मन्त्री पौडेलले जलन रोगीको उपचारमा पनि आर्थिक सहायता दिनका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरिसकिएको र अर्थमन्त्री पनि सकारात्मक रहेकाे बताए।
उनले भने,’उपप्रधानमन्त्री तथा अर्थमन्त्रीज्यूले यसको उपचारको निम्ति डेडिकेटेड सरकारी अस्पताल पहिला हुनुपर्यो। त्यसपछि हामी त्यसमा काम गर्छौ भन्नुभएको छ। आज वीर अस्पतालमा वर्न वार्डमा डेडिकेटेड ट्रिटमेन्ट सेन्टर बनेको छ। अव यो भएपछि म यहाँहरूलाई विश्वास दिलाउन चाहन्छु– यो जलन उपचारमा सेवा सुविधा दिनेगरी एक लाख रुपैयाँ दिने व्यवस्था हामीले तत्काल गर्नेछौँ । यो कुराको कमिटमेन्ट म गर्न चाहन्छु।’
त्यस अवसरमा वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले भूकम्पपछि सो सेवा बन्द भए पनि नेपाल सरकारले प्राथमिकता दिएपछि सो सेवा पुनः सञ्चालनमा ल्याउन सम्भव भएको बताउनु बताएका थिए।
उनले बिरामीहरूको चापलाई ध्यानमा राखेर वीर अस्पतालमा चार वटा फार्मेसीको व्यवस्था गरिएको पनि मन्त्री पौडेललाई जानकारी गराए।