
काठमाडौँ- काठमाडौँका विभिन्न स्थानमा शनिवार तीनदेखि पाँच घण्टा विद्युत् अवरूद्ध हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ। प्राधिकरणले एक सूचना जारी गर्दै रत्नपार्क वितरण केन्द्रको असन र महाबौद्ध फिडर अन्तर्गत पर्ने विभिन्न स्थानमा तीनदेखि पाँच घण्टा विद्युत् अवरूद्ध हुने जनाएको हो।
रत्नपार्क वितरण केन्द्रकै महाबौद्ध फिडर अन्तर्गत महाबौद्ध सबस्टेशन भित्र, न्युरोड गेट, रन्जना हल, विशालबजार सबस्टेशन भित्र, विशाल बजार अगाडि, गणेश स्थान ट्रमा हस्पिटल पछाडि, केबुल हेडसम्मका क्षेत्रमा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम् विद्युत् अवरूद्ध हुनेछ।
त्यस्तैगरी, असन फिडर अन्तर्गत रत्नपार्क बगैचाभित्र, भोटाहिटी साझा भण्डार, असनचोक, बाङ्गेमुढा, भेडासिंह, ईन्द्रचोक, सुरज आर्केड अगाडि, मसला गल्लीको मोडसम्मको क्षेत्रमा आज दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।
प्राधिकरणले भूमिगत तारसम्बन्धी कामका लागि फिडर सटनडाउनमा राख्नुपर्ने भएकाले विद्युत अवरूद्ध हुने जनाउँदै निर्धारित समयअगाडि नै काम सम्पन्न भए तोकिएको समयभन्दा अगाडि नै विद्युत सेवा चालु हुने जनाएको छ।