
विश्वभर डिमेन्सिया (बिर्सने) रोगका विरामीहरु बढ्ने क्रम जारी छ। अहिले विश्वमा डिमेन्सिया सातौं प्रमुख मृत्युको कारणका रुपमा रहेको डब्लुएचओले जनाएको छ। मानसिक स्वास्थ्यका लागि डिमेन्सिया मुख्य समस्यका रुपमा रहेको छ। बढ्दो डिमेन्सीयाका कारण विशेषज्ञहरू सन् २०५० सम्ममा १ सय ५३ मिलियन मानिसहरूमा यो रोगको जोखिम रहेको मान्छन्। जुन आजको संख्या भन्दा तीन गुणा बढी हो।
त्यसोत यो रोग बढीमात्रामा बुढ्यौलीपनसँगै बढ्ने भएकाले धेरैले यसलाई बुढ्यौली रोगका रुपमा लिन्छन्। ६५ वर्ष माथिका मानिसहरुमा यो रोगको जोखीम बढी रहेको छ। त्यसमा पनि उच्च रक्तचाप, सुगर, उच्च तौल, धुम्रपान, उच्च मध्यपान, शारिरिक रुपमा कमजोर, डिप्रेसन र एकल जिवन बिताउनेहरु बढी मात्रामा यो रोगको चपेटामा पर्ने गरेका छन्।
वर्तमान विश्वमा ५५ मिलियनभन्दा बढी मानिसहरूलाई डिमेन्सियाको सिकार भएका छन्। जसमा ६०% भन्दा धेरै निम्न र मध्यम-आय भएका देशहरूमा बस्ने मानिसहरु सिकार भएको डब्लुएचओले जनाएको छ। हरेक वर्ष झण्डै १० मिलियन नयाँ केसहरू देखिने गरेको रिपोर्ट गरिन्छ।
डिमेन्सिया मानसिक मात्र नभएर यो ब्रेनको रोग समेत भएकाले यसलाई जोखिमपूर्ण मानिन्छ। अल्जाइमर डिमेन्सियाको सबैभन्दा सामान्य रूपका रुपमा लिने गरिन्छ। यसले ६०-७०% केसहरू बढ्नमा योगदान पुर्याउन सक्छ।
सन् २०१९ मा डिमेन्सियाले विश्व अर्थतन्त्रलाई १.३ ट्रिलियन अमेरिकी डलर खर्च गराएको मानिन्छ। जसको करिब ५०% अनौपचारिक हेरचाहकर्ताहरू (जस्तै, परिवारका सदस्य र नजिकका साथीहरू) द्वारा प्रदान गरिएको हेरचाहमा निर्भर रह्यो।
पुरुषको तुलनामा यो रोगले महिलाहरुलाई बढी प्रभावित बनाएको छ।तर डिमेन्सिया भएका व्यक्तिहरूलाई हेरचाह गर्ने कुल समयको ७०% महिलाहरूले योगदान गर्ने गरेको रिपोर्टहरुले देखाएको छ।
यद्यपि यो रोगको उपचारको प्रगति सुस्त छ। मस्तिष्क अत्यधिक जटिल छ, र डिमेन्सिया कसरी उत्पन्न हुन्छ र कसरी समाप्त गरिन्छ भन्ने हाम्रो बुझाइमा लगातार परिवर्तनहरु आइरहेका छन्। रक्त-मस्तिष्क अवरोध पार गर्न सक्षम औषधि विकास गर्नु अझै चुनौतीपूर्ण रहेको मानिन्छ।
विशेषज्ञहरूले भन्छन् कि उपचारको प्रतीक्षा नगरी अहिले नै केही कुरामा सुधार गर्ने हो भने डिमेन्सियाको जोखिम घटाउन सहयोग पुग्छ। पक्कै पनि एकदिन, वैज्ञानिकहरूले डिमेन्सियाको उपचारमा सफलता हात पार्ने विश्वास लिइन्छ। यस्तोमा डिमेन्सीयाबाट बच्न मस्तिष्कलाई तेज राख्ने तरिकाहरू अपनाउनु पर्छ। यि तरिका जो प्रभावकारी बन्न सक्छन्।
आँखा चलाइराख्ने:
हाम्रा लागि दृष्टि सबैभन्दा महत्त्वपूर्ण इन्द्रिय हो भन्ने सोचाइ सामान्य मानिन्छ र यो उचित पनि हो। हाम्रो आँखा धेरै जटिल संरचना हो। केहि अनुमानहरू अनुसार १० मिलियन रङहरू छुट्याउन आँखा सक्षम छन्। अनी जनावरहरूको संसारको तुलनामा हाम्रो दृष्टि सबैभन्दा तीक्ष्ण मध्ये एक मानिन्छ।
यसको अर्थ दृष्टि हाम्रो संज्ञानात्मक स्वास्थ्यसँग नजिकबाट सम्बन्धित छ र राम्रो दृष्टि वृद्धावस्थामा मस्तिष्कको स्वस्थ कार्यलाई कायम राख्नमा सम्बन्धित हुन सक्छ। अनुसन्धानले पनि यसलाई पुष्टि गर्ने गरेको छ। वैज्ञानिक रिपोर्टहरूमा प्रकाशित एक हालैको अध्ययनले देखाएको छ कि दृश्य संवेदनशीलताले डिमेन्सियालाई औपचारिक रूपमा देखिनु १२ वर्ष अघि नै यसको संकेत गर्छ। त्यसैले निरन्तर आँखा चलाइरहनाले दिमागलाइ सकृया बनाउन मद्दत गर्ने विश्वास गरिन्छ।
केही न केही सिकिरहनु:
शिक्षाले स्वास्थ्यमा पर्ने प्रभाव धेरै पक्षीय र जटिल मानिन्छ। तर, एउटा कुरा स्पष्ट छ: उच्च शिक्षा र गुणस्तरीय शिक्षा स्वास्थ्य परिणामहरूसँग सम्बन्धित हुन्छ। डिमेन्सियाको सन्दर्भमा पनि यही कुरा लागु हुने मानिन्छ। धेरै अध्ययनहरूले देखाएका छन् कि तपाईंले शिक्षामा बिताएको समय जति धेरै हुन्छ, डिमेन्सियाको जोखिम त्यति नै कम हुन्छ। अर्थात निरन्तरको सिकाइले डिमेन्सियालाई कम गर्न सक्छ। बुढ्यौली उमेरमा पनि केही न केही पढ्ने र सिक्ने क्रम जारी राख्नु पर्छ।
घुलमिल भएर बस्ने:
एक्लो हुनु कसैका लागि र कुनैपनि रोगकका लागि निको मानिन्दैन्। अनि कसैलाइ एक्लो बस्न मन पनि हुँदैन तर एक्लो बसेमा यसको असर सोचेकोभन्दा धेरै लामो समयसम्म रहन सक्ने वैज्ञानीक अनुसन्धानहरुले देखाएका छन्। लामो समयसम्मको एक्लोपनाले डिमेन्सियाको जोखिम करिब ६० प्रतिशतले बढाउन सक्ने बताइएको छ।
सजग रहने, न्यूरोटिक होइन:
आफ्नो व्यक्तित्वको हिस्सा आफै हो, त्यसैले यसलाई समय अनुकुल परिवर्तन गर्न सकिन्छ। उच्च सजगता र न्यूरोटिक स्तरको कमीले डिमेन्सियाको जोखिम कम गर्नमा महत्त्वपूर्ण भूमिका खेल्ने अध्ययनले देखाएको छ।
हावामा हुने प्रदूषण घटाउनु:
वायु प्रदूषणले पनि डिमेन्सियाको जोखिम बढाउने अनुसन्धानहरुले देखाएका छन्। त्यसैले आफू बस्ने ठाउँको हावाको प्रदुषण घटाउने र प्रदुषणयुक्त हावाबाट बच्नु पर्छ।
निन्द्रालाई प्राथमिकता दिनुपर्छ:
निद्राको समस्या डिमेन्सियाको लक्ष्यणसँग सिंधै जोडिन्छ। राम्रो निद्राले मस्तिष्कलाई स्वस्थ राख्न मद्दत गर्न सक्छ। साथै शरिरमा स्फुर्ती आउने भएकाले निन्द्रालाई प्राथमिक्ता दिनु उपयुक्त हुन्छ। मजाले निदाउने र सुत्ने मानिसहरुमा यो समस्या निकै कम हुन्छ।
व्यायाम र स्वस्थ खानपान:
मानिसक रुपमा स्वस्थ कृयाकलाप जति महत्वपूर्ण छ। शारिरिक व्यायाम र स्वस्थ आहारले पनि मस्तिष्क र मुटु दुवैलाई स्वस्थ राख्न मद्दत पुर्याउँछ। त्यसैले ब्यामलाई पनि आफ्नो दैनिकीमा अपरिहार्य रुपमा समेट्नु पर्छ। विशेष गरेर धुम्रपान, मध्यपानबाट टाढा रहेर स्वस्थ खानपानलाई अँगाल्न सके डिमेन्सीयामात्र होइन धेरै रोगबाट बच्न सकिन्छ।