
पछिल्लो समय विश्वव्यापी रुपमा बढ्दो स्वास्थ्य जोखिमका बारेमा अनेकन अनुसन्धानहरु भइरहेका छन्। पछिल्लो समय के मानिन थालिएको छ भने अब ४० वर्षदेखि दुध र चीजलगायत दुग्धजन्य पदार्थहरूका विषयमा रहेको धारणालाई अब फरक तरिकाले हेर्नुपर्ने मत विकसित हुँदै गएको छ।
चिकित्सा सल्लाहलाई मान्ने हो भने अब सम्पूर्ण फ्याट भएको दूधको प्रयोग गर्न पाइनेछ। यसअघिको चिकित्सकीय धारणामा यो पूर्ण परिवर्तन हो। किनकि यी उत्पादनहरूमा सन्तृप्त बोसो बढी हुने र जुन रातो मासुसँग सम्बन्धित अस्वस्थ बोसोको रूपमा रहने उल्लेख गरिएको थियो। जसका कारण दुधमा रहेको फ्याटको मात्रालाई निकालेर मात्र पश्चिमा विश्वमा यसको प्रयोग गरिने गरिन्थ्यो। कतिपयले बच्चा बाहेक अन्य वयस्कहरूले दुधको सेवन गर्दैन थिए।
विश्वमा दुधप्रतिको फरक-फरक धारणा रहने गरेको छ। एसियाली देशहरूमध्ये अझ दक्षिण एसियाली मुलुकहरूमा दुग्धजन्य पदार्थलाई सँधै स्वस्थकर मानिए पनि पश्चिमा विश्वमा दुधमा हुने फ्याटको मात्रा निकालेर मात्र प्रयोग अनुकुल मानिने गरिन्छ। अझ धेरैले दुधको सिधा प्रयोग रुचाउने गरेका छैनन्।
तर, विगत दशकमा प्रकाशित केही अध्ययनहरूले यसको विपरीत प्रमाणहरू फेला पारेका छन्। पूर्ण दूधबाट बनेको चीज र दही, साथै पूर्ण दूध आफैंले, पहिले सोचिएभन्दा बढी लाभदायक हुन सक्ने अध्ययनहरु सार्वजानिक भएका छन्।
डेरीसँग सम्बन्धित बदलिँदो दृष्टिकोण वृद्धहरूका लागि विशेष रूपमा महत्त्वपूर्ण मानिएको छ। किनकि उनीहरूलाई मुटुरोग, स्ट्रोक, र मधुमेह जस्ता रोगहरूको जोखिम बढी हुने गर्छ। यस्तोमा दूधको सेवनले उनीहरुलाई सहयोग हुन सक्ने देखिएको छ।
त्यसबाहेक, वृद्धहरूले प्रोटिन राम्रोसँग पचाउन नसक्ने हुँदा, उनीहरूलाई प्रोटिनको सेवन बढाउन सल्लाह दिइने गरिन्छ। डेरी प्रोटिन र क्याल्सियमले भरिएको हुने भएकाले वृद्धहरूलाई स्वस्थ मांसपेशी र बलियो हड्डीहरू कायम राख्न मद्दत गर्ने विश्वास गरिएको छ। साथै, दूधका उत्पादनहरू तुलनात्मक रूपमा सस्तो, सजिलै उपलब्ध र सजिलै उपभोग गर्न सकिने भएकाले पनि डक्टरहरुले आफ्नो धारणा परिवर्तन गरेर दुध जन्य पदार्थको सेवनमा जोड दिन लागेका हुन्।
त्यसो त, दुग्धजन्य सामाग्रीहरू पचाउन नसक्नेहरूका लागि समेत अहिले विभिन्न लेक्टोज-रहित उत्पादनहरू उपलब्ध हुने गरेका छन्। जसले पाचन समस्याहरू कम गराउँछ।
पछिल्ला अध्ययनले दूध र डेरी उत्पादनहरूको सेवनले बालबालिकामा मोटोपन घटाउने जोखिम, वयस्कहरूमा शरीरको बनावट सुधार गर्ने र तौल घटाउने, मुटुरोग, विशेष गरी स्ट्रोकको जोखिम घटाउने बताइएको छ।
उपलब्ध वैज्ञानिक प्रमाणहरूको पूर्णताले देखाउँछ कि दूध र डेरी उत्पादनहरूको सेवनले पोषण सिफारिसहरू पूरा गर्न मद्दत गर्ने र सबैभन्दा सामान्य दीर्घ रोगहरूबाट बचाउन सक्ने बताइएको छ। जबकि धेरै कम नकारात्मक प्रभावहरू रिपोर्ट गरिएको छ।
अन्य अध्ययनहरूले पनि दही वा चीज स्वास्थ्यका लागि सबैभन्दा बढी लाभदायक भएको फेला पारेका छन्। डेरी जन्य पदार्थको सेवनले विशेषगरी मधुमेह प्रकारका जोखिमलाई घटाउने गरेको अध्ययनले दाबी गरेको छ। युनिभर्सिटी अफ क्यालिफोर्नियाका सान फ्रान्सिस्कोका प्रोफेसर डा. रोनाल्ड क्रसले दुधजन्य पदार्थको सेवन साँचिकै लाभदायक प्रमाणित भएको बताए।
धेरैजसो मानिसले उपभोग गर्ने मात्रामा घिउ र क्रिमले स्वास्थ्य समस्याहरू पैदा गर्दैन। तर, उनले उच्च एलडीएल कोलेस्ट्रोल स्तर भएका आफ्ना बिरामीहरूलाई डेरी फ्याटबाट टाढा रहन सल्लाह दिए। उनले भने, ‘म उच्च एलडीएल भएका मानिसहरूलाई सबै प्रकारका दुग्धजन्य पदार्थहरूको प्रयोग घटाउन प्रयास गर्न सल्लाह दिन्छु।’
त्यसो त, टफ्ट्स युनिभर्सिटीका प्रोफेसर र कार्डियोलोजिस्ट दारिउश मोजाफरियन अझै पनि धेरै पोषण विशेषज्ञहरूले पूर्ण फ्याट भएका डेरी जन्य सेवन नगर्न सिफारिस गर्ने गरेको बताउँछन्। जस्तै, अमेरिकी आधिकारिक आहार निर्देशिकाहरूले दुधजन्य प्रयोगलाई अत्यन्त कम मात्रामा प्रयोग गर्ने गर्छ।
तर उनी थप्छन् कि डेरी फ्याट अनुसन्धान गर्नेहरूमा यसबारे कम बहस भएको छ। उनी भन्छन्, ‘धेरै वैज्ञानिकहरूले डेरी फ्याट र डेरी खाद्य पदार्थहरूको अध्ययन गर्दा महसुस गरेका छन् कि डेरी फ्याट हानिकारक छैन र सायद स्वस्थका लागि लाभदायक पनि हुन सक्छ।’
६ वर्षअघि उनले एक लेखेको सोधमा विश्वभरका १६ अध्ययनहरूको विश्लेषण गरिएको थियो। जसले डेरी उत्पादनहरूको सेवन गर्दा उत्पन्न हुने रगतका बायोमार्करहरूको स्तर मापन गरेको थियो। उनले भने, ‘हामीले देख्यौं कि डेरी फ्याट बायोमार्करहरूको उच्च स्तर मधुमेहको २०% देखि ३०% कम जोखिमसँग महत्वपूर्ण रूपमा सम्बन्धित थियो।’
मोजाफरियन भन्छन्, ‘अब दूध सेवनको वैज्ञानिक सहमति आउँदो वर्षहरूमा परिवर्तन हुनेछ र उनी विश्वस्त छन् कि आहार निर्देशिकाहरू परिवर्तन गरिने छ, किनकि डेरी फ्याटलाई स्वस्थ पाइएको अनुसन्धानहरूको संख्या बढ्दै गएको छ।’
१९७० को दशकमा, पोषण विशेषज्ञहरूले खराब बोसोको सेवनले उच्च कोलेस्ट्रोल स्तर र मुटुरोगको समस्या ल्याउँदैछ भनेर चिन्तित भएका थिए। जसको मुख्य कारण डेरीको उत्पादनहरुसँग सम्बन्धित थियो।
अब शोधकर्ताहरू भन्छन् कि सबै बोसो उस्तै हुँदैन र डेरी बोसोलाई कम चिन्ताजनक बनाउने केही तत्वहरू हुन सक्छन्। सुरूवातमा, यसमा दूध फ्याट ग्लोब्युल मेम्ब्रेन हुन्छ, जसले शरीरले सन्तृप्त बोसोतर्फ कस्तो प्रतिक्रिया दिन्छ भनेर परिवर्तन गर्ने विश्वास गरिएको छ।
डेरी उत्पादनहरूले थप स्वास्थ्य लाभहरू प्रदान गर्ने अनुसन्धानहरूले लगातार पत्ता लगाएको छ। यी उत्पादनहरूमा प्रोबायोटिक्स हुने र जसले पाचन प्रणालीलाई राम्रोसँग काम गर्न मद्दत गर्ने विश्वास गरिएको छ। जसले तपाईंको प्रतिरक्षा प्रणालीलाई सुदृढ पार्ने अध्ययनको सुझाव छ।
पाचन प्रणालीमा सही ब्याक्टेरिया हुनु मधुमेहदेखि डिमेन्सियासम्मको रोकथाममा मद्दत गर्छ भन्ने सिद्धान्त विकसित भएको छ। डेरीजन्य पदार्थले भिटामिन के २ पनि उत्पादन गर्ने र जसले मधुमेहलाई रोक्न र मधुमेह भएका व्यक्तिहरूलाई रोग व्यवस्थापनमा मद्दत गर्ने अनुसन्धानले फेला पारेको मोजाफरियनको भनाइ छ।