
वीरगञ्ज – खरिद बिल नदेखाउने वीरगञ्जका ६ पसलेलाई ४५ हजार रुपैयाँ जरिवाना गरिएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख सुनिल चौरसियाको नेतृत्वमा बुधबार बजार अनुगमन गरिएको थियो।
टोलीले सातवटा पसलमा अनुगमन गरेकोमा ६ वटा पसलेहरुले खरिद बिल नदेखाएकोले उनीहरुलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ बमोजिम नगद जरिवाना गरिएको हो।
जसमा वीरगञ्जको न्यु अमित किराना स्टोर्स, मुकेश एण्ड केशरी किराना स्टोर्स, भगवती किराना भण्डारलाई जनही दश हजार जरिवाना गरिएको थियो।
यस्तै, आयुष गल्ला किराना पसल, राहुल एण्ड नविन किराना र मुन्ना लाल किरानालाई जनही पाँच हजार जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका सुचना अधिकारी दिलिप खँग खत्वेले जानकारी दिए।
जरिवाना गरिएको रकम सात दिन भित्र राष्ट्रिय बाणिज्य बैंकमा दाखिला गरी भौचर कार्यालयमा पेश गर्न निर्देशन पनि दिईएको उनले बताए। साथै, चाडपर्बको बेलामा उपभोक्तासँग बढी मूल्य लिने, गुणस्तरहीन वस्तु बिक्री गर्ने ,म्याद नाघेका सामान बिक्री गर्ने, लेबल नभएका सामान बिक्री गर्ने जस्ता कार्य नगर्न पनि कार्यालयले व्यापारीसित अनुरोध पनि गरेको छ।