
वीरगञ्ज – रौतहटमा हैजा संक्रमण फैलिएको छ। जिल्लाको राजपुर नगरपालिका वडा नम्बर ४ मा हैजा रोगका बिरामी भेटिएका हुन्।
गत असोज २ गते वडा नम्बर ४ एक जनामा झाडापखाला देखिएको थियो। झाडापाखालाका बिरामीहरुको संख्या बढदै गएपछि गरिएको आरडिटी र कल्चरल टेस्टबाट हैजा पुष्टि भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।
हैजा थप फैलिन नदिन सावधानी अपनाई एरिया सिल गरिएको छ। रौतहटका प्रमुख जिल्ला अधिकारीबाट जारी गरिएको आदेशअनुसार राजपुर नगरपालिकाको वडा नम्बर ४ जोबैर चोकदेखि मदनी चोक, शेख अब्दुल्लाहको खलिहानदेखि डा. नुरुल होदाको घरसम्मको वरिपरिको घरधुरी क्षेत्रमा स्थानीय तहको स्वास्थ्य शाखाका प्रमुखको अनुमतिबिना स्वास्थयकर्मी, सुरक्षाकर्मी र सरसफाइकर्मीहरु र अत्यावश्यक काममा बाहेक हिँडडुल गर्न रोक लगाइएको छ।
यस्तै, अत्यावश्यक सेवाबाहेकका सवारीसाधनहरुको आवतजावतमा नियन्त्रण गर्ने, उक्त क्षेत्रमा माछामासु ओसारपसार र बिक्री वितरण नियन्त्रण गर्ने, सम्बन्धित स्थानीय तहको स्वास्थ्य शाखाबाट जारी गरिएका अन्य आदेश र सर्तहरुको कार्यान्वयन गर्ने गराउने भनिएको छ।
हैजा नियन्त्रणको लागि आइतबार नगरपालिकाका निम्ति प्रमुख प्रशासकीय अधिकृत खुर्सेद आलमले प्रभावित एरिया सिल गरिदिन प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखेर अनुरोध गरेका थिए। जसअनुसार प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आइतबारदेखि नै अर्को आदेश नभएसम्मको लागि उक्त क्षेत्र सिल गरिएको रौतहटकी प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले जानकारी दिइन्।
अहिले झाडापाखाला लागेका दर्जनभन्दा बढी बिरामीको राजपुरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। सोही क्रममा नगरपालिकाका मेयर डा. रजिक आलमले आइतबार नै स्वास्थ्य केन्द्रमा पुगेर बिरामीहरुको बारे जानकारी लिएका थिए।