झापा– खोलाले बगाएर इलाममा एकजनाको मृत्यु भएको छ। इलामको माई नगरपालिकामा खोलाले बगाएर एकजनाको मृत्यु भएको हो।
शुक्रबार दिउँसो अन्दाजी १ बजेको समयमा माई नगरपालिका– ८ स्थित सेते खोलाले बगाएर स्थानीय ६८ वर्षीय मैतबहादुर लिम्बूको मृत्यु भएको हो।
खोला तर्ने क्रममा बगाइरहेको अवस्थामा स्थानीयले देखेर लिम्बूलाई बगाएको ठाउँदेखि अन्दाजी ७० मिटर दक्षिण उद्धार गरेका थिए। उनलाई स्थानीय माई अस्पताल दानाबारीमा सामान्य उपचारपश्चात् थप उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
झापाको कचनकवलमा खोलाले बगाएर एक बालिका बेपत्ता भएकी छन्। कचनकवल–१ झकुवाटोली बस्ने पचु राजवंशीकी छोरी १४ बर्षीया नेहारिका राजवंशी जमुना खोलामा डुबेर बेपत्ता भएकी हुन्।
भारत सानिमाको घरबाट घर फर्कने क्रममा चमारभिट्टा पुल छेउमा जमुना खोलामा दिउँसो करिब ३ बजे उनी साइकलसहित बेपत्ता भएको कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए।
स्थानीयबासी, जनप्रतिनिधि, सुरक्षाकर्मीसहितको टोलीले खोजी कार्य जारी राखेको भट्टराईले जानकारी दिएका छन्।