प्रलयको सन्त्रासमा ११ घण्टा

प्रलयको सन्त्रासमा ११ घण्टा
+
-

पटक-पटक जिस्काइएको र उसको बहाव मार्गमाथिको शिखरबाट व्यभिचारपूर्ण तरिकाले ढुंगा उत्खनन्‌को सिकार नख्खु या कर्मनाशा नदीले आफ्नो प्रलयकारी ताण्डवको प्रारम्भिक झलक देखायो शनिबार।

बिहीबारदेखि परेको अविरल वर्षाले नख्खुको सतह बेरोकटोक उक्लिरहेको थियो। उसले आफ्ना दुवै किनारालाई फैलाउँदै दुईतर्फको बस्ती र होचा मैदानहरुलाई चपेटामा पारेको थियो। फैलावटका हिसाबले र साविकको नदी मार्ग उसको आवेग र त्यहाँबाट उर्लिएका छालहरुबाट अनुमान लगाउन सकिन्थ्यो।

यो फरक तथ्य विरलै देखिने दृश्य र अनुभूति रोमाञ्चक मात्र बन्न सकेन। शुक्रबार मध्यरातबाट नदीलाई उसका दुई किनाराका फाँट र जमिनले पुगेन। आसपासका घरहरुमा पानी घुस्न थाल्यो। अनुभवीहरुले ०३८ सालको बाढीको दृश्य वर्णन गर्दाभन्दा पनि माथि पानीको तह बढ्न थालेपछि र बाढीमा मिसिने सन्त्रास बढ्न थाल्यो घेरिएका बस्तीहरुमा।

तस्बिरः बर्षा शाह/देश सञ्चार।

नख्खु पुलमा दुई ओटा बगेका टिपर अड्किएर पानीको बहावलाई बस्तीतिरै ‘डाइभर्सन’ गर्न थप मद्दत पुर्‍यायो भने स्थानीयहरु आफ्ना सामानलाई जस्तो सकिन्छ, बचाउन पहिलो तल्ताबाट तुलनात्मक रुपमा अग्लो ठाउँमा सार्न थाले। शनिबार बिहानसम्म उर्लेको जलस्तरले हामी प्रलयको नजिक छौँ कि के हो भन्ने भय सर्वत्र देखिन थाल्यो।

नख्खु नदीबाट करिब ३०० मिटर उत्तरपूर्वमा निर्मित ‘अरुणिमा बस्ती’मा २१ घर छन्। दुई लहरबीचको १२ फिटको बाटोमा करिब ६ फिट गहिरो पानी जमिसकेको थियो। त्यसको पश्चिमपट्टी उभिएको र नदीबाट अझ नजिक १४ तल्ले सनराइज अपार्टमेन्ट केही हदसम्म बढी सुरक्षित थिए, पानी कति माथि चढ्ला त? भन्ने सोचका कारण।

तर अरुणिमा बस्तीका बासिन्दाका लागि ‘जीवन’को सुरक्षा मुख्य चासो बन्न थालेको थियो। प्राकृतिक विपद्‌मा ज्यान, धनमालको सुरक्षाका लागि कहाँ सम्पर्क राख्ने? हामीकहाँ यो सार्वजनिक जानकारी र सरकारको प्राथमिकताको विषय बनिसकेको छैन।

बिहान करिब ९ बजे वडाध्यक्ष गणेश केसीसँगको फोन वार्ताले केही आस पलायो। उनी सुरक्षाकर्मीहरुसँग उद्धारको अनुरोधसहित सम्पर्कमा थिए। तर, सुरक्षाकर्मीहरुको सीमित संख्या, संकटको विकराल आयतन र उद्धार सामग्रीहरुको कमीले गर्दा उनीहरुमाथि पूर्ण निर्भरताको अर्थ उपलब्ध सीमित समयका हिसाबले काल निम्त्याउनु नै हुन्थ्यो।

प्रधानमन्त्री केपी ओलीले अमेरिकाबाट सामाजिक सञ्जालमार्फत आफू अमेरिकामा भए पनि ‘मुटु’ बाढी र पहिरोको प्रकोपबाट प्रभावित नेपालीहरुकै लागि तड्पिएको सन्देश दिए, तर त्यहाँ न त संकटमा कहाँ सम्पर्क गर्ने या सरकारका कुन एजेन्सीले संकट उद्धारमा जुट्ने कुनै स्पष्टता थिएन।

अरुणिमा बस्तीजस्तै अन्यत्र पनि मानिसहरु जोखिममा परेको अपुष्ट समाचार र केही भिडियोहरु समाजिक सञ्जालमा देखा पर्न थाले। हाम्रो नजिकको मेडिसिटी अस्पताल र अलि टाढाको इमाडोलस्थित किष्ट अस्पताल आफै बाढीको सिकार भई बिरामीहरुलाई ‘डिस्चार्ज’ गरेको खबरले झनै सन्त्रास उत्पन्न गरायो, उदार या दैविक चमत्कारको प्रतिक्षा गरिरहेका हामीहरुमा।

बिहान करिब ९ बजे वडाध्यक्ष गणेश केसीसँगको फोन वार्ताले केही आस पलायो। उनी सुरक्षाकर्मीहरुसँग उद्धारको अनुरोधसहित सम्पर्कमा थिए। तर, सुरक्षाकर्मीहरुको सीमित संख्या, संकटको विकराल आयतन र उद्धार सामग्रीहरुको कमीले गर्दा उनीहरुमाथि पूर्ण निर्भरताको अर्थ उपलब्ध सीमित समयका हिसाबले काल निम्त्याउनु नै हुन्थ्यो।

अरुणिमा बस्तीको उत्तरी लहरका ११ घरबाट सक्षम शरीरका व्यक्तिहरु एउटा घरको छत र त्यसमाथिको तार नाघ्दै संघर्षपूर्ण तरिकाले बाटो नजिकको अन्तिम घर पुगी त्योसँग जोडिएको ‘गार्ड हाउस’बाट सडकमा पुगे।अशक्तहरुका लागि तत्काल उद्धार प्रबन्ध गर्नु उनीहरुको प्राथमिकता थियो। यता दक्षिणी लहरका १० घरसँग त्यो विकल्प थिएन। तर, त्यसरी नै छतबाटै ‘गार्ड हाउस’ अघिल्तिरको घरमा पुग्ने विकल्प रोजे। सेना, सशस्त्र र प्रहरी देखापरे पनि उनीहरुसँग पूर्ण तयारी थिएन। तीन जना अडकिएका वृद्धा र त्यहीँ बस्ने पाँच सदस्यको एक अमेरिकी परिवारलाई ‘मोटरबोट’बाट उद्धार गरी सुरक्षा टोली फर्कियो। बाँकीको उदार आफ्नै जिम्मामा आयो।

वास्तवमा ‘समुदाय’मा बस्नेहरुबीचको सहअस्तित्व र एकअर्काप्रतिको जिम्मेवारी भावको अनुपम प्रदर्शनी भयो त्यहाँ। एकले अर्काको हात समाति, त्यहाँ पाल्तु बिरालो र कुकुरहरुलाई बोकी ४–५ फुट गहिरो पानी र गडुवा हिलो हुँदै सुरक्षित भन्दा साहसको साथ यात्रा पूरा गरे सबैले।

नेपाली राज्य र त्यसका सञ्चालकहरु आफ्नो गैरजिम्मेवारी चरित्रका कारण बदनाम छन्। तर, नेपाली समाज ठीक त्यसको उल्टो सहिष्णु र सहयोगी छ। हरेक २१ परिवारका लागि कोही न कोही आफन्त आतिथ्य दिन उत्सुक थिए। विपत्‌मा सम्मानित ‘अतिथि’ बनेर बाहिरिए उनीहरु। विदेशमा जस्तो शरणार्थीका रुपमा हैन।

उद्धारकर्मीहरु निश्चय पनि दबाबमा थिए। तर, काम पूरा नगरी एक ठाउँबाट अर्को ठाउँमा जाँदा श्रेय कम र आलोचना बढी उनीहरुको नियती बन्यो। नख्खुमा एक जना श्रमिक चणिकलाल तामाङले डुबेका दुई जनाको उद्धार गरे। जनताको हकको कुरा गर्न नथाक्ने कुनै दलले आफ्ना युवा तथा विद्यार्थीलाई परिचालन गर्ने सोचसम्म बनाएनन्। त्यो नेपाली राजनीतिको चासो, प्राथमिकता र चरित्र बन्नै सकेको छैन।

मुलुकले यो प्राकृतिक विपत्तिका कारण पक्कै पनि सयौँ व्यक्तिहरुले ज्यान गुमाएका छन्, अन्नबाली र घर सम्पत्ति पूर्ण या आंशिकरुपमा क्षतिग्रस्त भएका छन्। नख्खुले भत्किएका घरका भाँडाकुडा, ग्यास सिलिन्डर, त्रिपाल र पानी ट्यांकीहरु बगाएको देख्न सकिन्थ्यो सहजै। ती घरका बासिन्दाहरुको ‘भाग्य’ कसैलाई थाहा छैन। चणिकलाल सर्वत्र हुँदैनन्, तर जहाँ हुन्छन् ‘पूज्य’ र ‘प्रशंसनीय’ हुन्छन्। १२०० मेगावाट बिजुली उत्पादन ठप्प भएको छ। तर, हामी भाग्यमानी थियौं, केही मिटर टाढा देखिएको ‘प्रलय’ले अरुणिमा बस्तीका बासिन्दालाई एक मौका दियो जीवनको, तर अरु हामीजस्तै भाग्यमानी बन्न सकेनन्।

यद्यपि, भोगाइको हिसाबले राति १२ बजेदेखि भोलिपल्ट ११ बजेसम्मको प्रलय सन्त्रासको विपतपूर्ण  ११ घण्टाले राज्यको निकम्मापनको आभाषलाई थप पुष्टि गर्‍यो तर सामाजिक एकता र भाइचाराले नेपालको बलियो साँस्कृतिक संरचनालाई मजबुद र दिगो बनाइराख्ने आत्मविश्वास थप जागृत गराउन सफल भयो।

सरकार र राजनीतिक दलहरुबारे त केही भन्नु उपयुक्त छैन। चणिकलाल तामाङजस्ता हृदयलाई सलाम र प्राकृतिक प्रकोपबाट ज्यान गुमाएकाहरुप्रति हार्दिक श्रदाञ्जली तथा विपत्‌मा परेका सम्पूर्ण परिवारजनप्रति सहानुभूति।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?