
बर्दघाटः पश्चिम नवलपरासीको बर्दघाटस्थित चिसापानीमा ट्रमा सेन्टर निर्माण प्रक्रिया अगाडि बढेको छ। आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र सांसद विनोद चौधरीले संयुक्त रुपमा ट्रमा सेन्टरको शिलान्यास गरेका हुन्।
१२ करोड ३४ लाख रुपैयाँ लागतमा संघ सरकारबाट निर्माण शुरु भएको सेन्टर डेढ बिघा बढी क्षेत्रफलमा बन्नेछ। १५ बेड क्षमताको भवन शिलान्यास गर्दै मन्त्री पौडेलले विशिष्टीकृत सेवाहरू विस्तार गर्ने सोच आफूहरूको रहेको भन्दै प्रदेशस्तरमा रहेका प्रादेशिक अस्पतालहरूबाट संघीय राजधानीमा उपलब्ध सेवाहरू विस्तार गर्ने प्रयास थालिएको बताए।
क्यान्सर उपचार सेवा सातै प्रदेशमा भएको उल्लेख गर्दै मन्त्री पौडेलले क्रमैसँग मुटु, मृगौलालगायतका उपचारहरुसमेत विस्तार गर्ने लक्ष्य रहेको बताए।
स्वास्थ्य बीमामा सुधार आफूहरूको प्राथमिकतामा रहेको भन्दै मन्त्री पौडेलले छरिएर हुने स्वास्थ्य क्षेत्रको खर्च एकीकृत गरेर स्रोतसमेत थप्ने अवस्थामा हरेक नागरिकलाई ५ लाख बराबरको स्वास्थ्य बीमा सुविधा दिन सकिने बताए।
आम नागरिकलाई सहज होस् भन्नका लागि बीमा सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौं, मन्त्री पौडेलले भने, यसलाई सुधार्न सकियो भने सबै नागरिकलाई बीमामा आकर्षित गर्न सकिन्छ भन्ने विश्वास छ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा निर्वाचित भएसँगै सेन्टर खोल्ने चाहना राखेकामा अघि बढ्न सफल भएको भन्दै सघाउने संघीय सरकारलगायत सबैप्रति आभार प्रकट गरे।
शहरी विकास मन्त्रालय अन्तर्गतको सघन सहरी तथा भवन निर्माण योजना, चितवनले ठेक्का आह्वान गरेको थियो । १५ करोड बजेट लागतको बहुवर्षीयय ठेक्का अन्तर्गत एक्सिस एसियन कम्पनी, जनकपुरले निर्माणको ठेक्का पाएको हो।
नवलपरासी–१ बाट निर्वाचीत प्रतिनिधिसभा सदस्य एवं कांग्रेसका नेता विनोद चौधरीले ट्रमा सेन्टर निर्माणलाई प्राथमिकतामा राख्दै आएका थिए। चिसापानी अस्पतालमा ट्रमासहितको सुविधा सम्पन्न एकीकृत अस्पताल सञ्चालन गर्ने सांसद चौधरीको प्रतिवद्धता अनुसार अहिले ट्रमा सेन्टरले पनि मूर्तरुप लिन लागेको हो।
अर्थ मन्त्रालयबाट माघ १७ गते १५ करोड रुपैयाँको बहुवर्षीय ठेक्का तथा श्रोत सुनिश्चितताको स्वीकृति प्राप्त भएको हो। निर्वाचनका बेला सांसद चौधरीले चिसापानी अस्पतालको सेवा विस्तारसँगै विशिष्टीकृत सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने प्रतिवद्धता गरेका थिए।
आव २०८२/८३ सम्ममा निर्माण कार्य सम्पन्न हुने सो अस्पताल सघन सहरी तथा भवन निर्माण आयोजना, चितवनले निर्माण कार्य अगाडि बढाउने सरकारले जनाएको छ।
ट्रमा अस्पताल सञ्चालनपश्चात् पूर्वपश्चिम राजमार्गमा हुने सवारी दुर्घटना तथा स्थानीय तहमा हुने दुर्घटना लगायत सबै प्रकारका विरामीहरुले सहज उपचार पाउने छन्।
सांसद चौधरीले चिसापानी अस्पताललाई यो क्षेत्रकै उत्कृष्ट सेवा प्रदान गर्ने अस्पतालका रुपमा अगाडि बढाउने योजना बताए।