चलचित्र निर्देशक मीनबहादुर भामले देशसञ्चार चौतारीको यसपटकको अंकमा देशसञ्चारकर्मीहरुसँग अन्तर्क्रिया गरेका छन्। मुगुमा जन्मेका मीन एसएलसीपछि काठमाडौँ भागे र चलचित्र निर्देशक बन्न अनेकौँ कसरत गरे।
पछिल्लो समयमा उनी ‘शाम्बाला’ सिनेमाबाट चर्चामा छन्। ओस्कर अवार्डका लागि नेपालका तर्फबाट शाम्बालाको मनोनयन पनि भएको छ।
यसअघि ‘कालो पोथी’ सिनेमा बनाएर चर्चा बटुलेका मीनलाई भने त्यो सफलताले डिप्रेसनमै पुर्याएछ। ‘नौ महिनामा बल्ल म डिप्रेसनबाट बाहिरिएँ,’ उनले भने।
सानैदेखि पटकपटक आफूलाई ‘रिकरिङ ड्रिम्स्’ हुने र त्यही सपनाले डोर्याएर आफू डोल्पासम्म पुगेको अनि शाम्बालाको कथाको पृष्ठभूमि तयार भएको उनी बताउँछन्।
बुवाले मुगुमा खोलेको हाइभिजन हल खोलेपछि आफूले पहिलोपटक ठूलो पर्दामा फिल्म हेरेको उनी सम्झन्छन्। ‘मलाई त्यही बेलादेखि फिल्मको निर्देशक बन्ने ध्याउन्न लागेको हो,’ उनले भने।
मुगुको हाइभिजन हलबाट सुरु भएको उनको निर्देशनप्रतिको चस्का राष्ट्रिय नाचघर, गुरुकुल, एक्टर्स स्टुडियो हुँदै ‘कालो पोथी’सम्म पुगेको हो।
मुगु हुँदैदेखि किताब पढ्ने चस्का पनि लागेको थियो मीनलाई। पढाउन दार्जिलिङबाट आएका शिक्षकको किताब चोरेर पढेको अनुभव छ उनलाई।
अहिले विश्व सिनेमाको स्पटलाइट दक्षिण कोरियामा रहेको र अब भियतनाममा सर्ने तथा १० वर्षपछि नेपालमा आइपुग्ने विश्वास उनी व्यक्त गर्छन्। ध्यान गर्ने र साक्षीभावमा रहन रुचाउने मीन भन्छन्- ‘चराचुरुङ्गीसँग सुत्न र उठ्न पाइयोस्, प्रकृतिसँग रमाउन पाइयोस्।’
सकभर आफ्नो खाना आफैँ पकाउने तथा आफैँ लुगा धुने मीन अध्यात्ममा छिटै लाग्न पाइयोस् भन्ने चाहना रहेको बताउँछन्। सिनेमा व्यक्तिगत पैसाले बनाउन नपरोस् भन्ने आफ्नो चाहना रहेको उनी बताउँछन्। ‘सिनेमा त अर्कैको पैसाले बनाउने हो,’ उनले भने।
‘शाम्बाला बनाउँदा मैले १४-१५ करोड रुपैयाँ डोल्पामा खर्च गरेँ, यो पैसा त नेपालमा खर्च भयो नि, दुई/तीन करोड रुपैयाँ त ट्याक्स नै तिरेँ,’ उनले भने।
प्रेम खोजेको वा अन्य केही खोजेको व्यक्ति आफ्नो सिनेमाको प्रमुख तत्व रहेको मीनले बताए। ‘भोलि मैले साइन्स फिक्सन बनाएँ भने पनि यही झल्किने हो,’ उनले भने।
सिनेमा बनाउने क्रममा आफूले प्रोजेक्ट नसकुञ्जेल परिवारलाई पनि नभेटेको उनले बताए। ‘१३ महिना मैले परिवारका सदस्यलाई भेटिनँ,’ उनले भने।
अब राजनीतिमा उत्रने उनले बताए। ‘तर ८४ को चुनावअघि नै म सिनेमा बनाउँछु, बनाउँछु,’ उनले भने।
देशसञ्चार चौतारीको पूरा भाग:

भर्खरै
लोकप्रिय






































































































































































































