
दक्षिण लेबननमा स्थल आक्रमणमा रहेका इजरायलका आठ सैनिक मारिएका छन्। लेबननी सशस्त्र समूह हिज्बुल्लाहविरुद्ध स्थल आक्रमण सुरु गरेयताको यो इजरेलले बेहोरेको पहिलो र ठूलो मानवीय क्षती हो। त्यस्तै, इजरायलले गरेको हवाइ हमलामा परी लेबनानको राजधानी वेरुतमा ५ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।
इरान समर्थित हिज्बुल्लाहले स्थल आक्रमणमा रहेको इजरायली ट्याङ्कहरू ध्वस्त पारेको जनाउँदै इजरायली फौजलाई फिर्ता पठाउन आफूसँग पर्याप्त बल र अस्त्र भएको जनाएको छ। यसअघि इजरायली सेनाले थप स्थल सेना र बख्तरबन्द फौज लेबननमा भइरहेको कारबाहीमा खटाएको थियो।
इजरायलले स्थल कारबाहीलाई लेबननी सीमावर्ती गाउँका ‘आतङ्कवादी पूर्वाधार’ नष्ट गर्नु रहेको बताएको छ। लेबननमा स्थल अतिक्रमण गरेको दोस्रो दिन इजरायली फौजले पहिलो पटक हिज्बुल्लाह लडाकुको सामना गरेका थिए।
इजरायल डिफेन्स फोर्सेस (आइडीएफ)ले एक विज्ञप्तिमार्फत् हवाई सेनाको साथ पाएका आफ्ना सैनिकहरूले दक्षिण लेबननी क्षेत्रमा कयौं आतङ्कवादीहरूलाई मारेको र उनीहरूका आतङ्कवादी पूर्वाधारलाई ठिक निशानामा पर्ने अस्त्र र नजिक दूरीबाट लडेको जनाएको छ।
हिज्बुल्लाहले आफ्ना दर्जनौँ लडाकुले इजरेली कमान्डोहरूतर्फ ट्याङ्कभेदी मिसाइल प्रहार गरेको जनाउँदै बुधबार एक सीमावर्ती गाउँमा भएका लडाइँका क्रममा दर्जनौंलाई मारेको र घाइते बनाएको दाबी गरेको छ। यसैबीच मध्य बेइरुतमा भएको एक इजरेली हवाई हमलामा परेर कम्तीमा पाँच जना मारिनुका साथै आठजना घाइते भएको लेबननी अधिकारीहरूले बताएका छन्।
उक्त बहुतले भवनमा एक हिज्बुल्लाहसम्बद्ध स्वास्थ्य केन्द्र रहेको छ र त्यो लेबननको संसद् र संयुक्त राष्ट्रसङ्घको क्षेत्रीय मुख्यालयको केही मिटर दूरीमा रहेको जनाइएको छ। यो बेइरुतको मध्यभागमा भएको पहिलो इजरेली हमला हो। बुधबार रातभर अन्य हमलाहरू भने बेइरुतको दक्षिणी उपनगर दाहियमा भएको बताइएको छ।
लेबननको स्वास्थ्य मन्त्रालयले देशभर पछिल्लो २४ घण्टामा ४६ जना मानिसहरू मारिनुका साथै ८५ जना घाइते भएको जनाएको थियो। पछिल्लो दुई सातादेखिका इजरेली हमलाका कारण हिज्बुल्लाह कमजोर बनेको आँकलन गरिएको छ। इजरायलको आक्रमणमा लेबननमा १,२०० भन्दा धेरै मानिसहरू मारिनुका साथै झन्डै १२ लाख जना विस्थापित बनेको लेबननी अधिकारीहरूले बताएका छन्।