
झापा- झापाको बाह्रदशी- ६ सिमलवारीमा प्रहरीले बिहीबार साँझ ४ घण्टा खनेर एउटा शवको खोजी गरेको छ।
गत जेठ दोस्रो सातादेखि हराइरहेका २१ वर्षीय राजेश ठाकुरको हत्यापछि घरभित्र पुरिएको आशंकामा प्रहरीले छिमेकीको घरभित्र र बाहिर आँगनमा खनेको हो।
४ घण्टासम्म खन्दा पनि शव भेटिएको छैन। खन्ने टोली घरमा प्रहरी राखेर खन्ने प्रहरीको टोली बिहीबार राति फर्किएको थियो।
प्रहरीले हत्यापछि शव पुरिएको हुनसक्ने आशंकामा उत्खनन् गरेको बुझिएको छ। सो क्रममा छिमेकी नरेश राजवंशीले हत्या गरेको स्वीकार गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले घटनामा संलग्नहरुको खोजी जारी राखेको छ।
थप एक जना युवतीलाई पनि पक्राउ गरिएको बुझिएको छ। घटनाबारे प्रहरीले जानकारी दिन चाहेको छैन।
तीन महिनादेखि हराइरहेका २१ वर्षीय युवक राजेश ठाकुरलाई हत्या गरेको हुनसक्ने बयानका आधारमा छिमेकी राजवंशीको घरको आँगन र कोठामा खनिएको हो।
बिहीबार अपरान्ह ४ बजेदेखि प्रहरीले राती ८ बजेसम्म खनेको थियो। युवाको हत्यामा प्रयोग भएको डोरी, हातहतियारहरूसमेत फेला परेको बुझिएको छ। जमिन खन्दा नुनका पोकाहरू भेटिएको स्थानीयबासीले बताएका छन्।