
वीरगञ्ज – पर्साको पोखरिया नगरपालिकामा रहेको पोखरिया अस्पतालको स्तरोन्नति गर्न माग गर्दै शुक्रबार छैटाैँ दिन पनि धर्ना दिइएको छ।
अस्पताललाई प्रादेशिक अस्पताल बनाउन माँग गर्दै राष्ट्रिय मुक्ति क्रान्ति नेपालले गत आइतबारदेखि धर्ना कार्यक्रम शुरु गरेको थियो। शुक्रबार छैठो पनि दुई घण्टाको लागि अस्पताल परिसरमा धर्ना दिइएकोे राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीका केन्द्रिय सदस्य नेजामुदिन समानीले बताए।
आफूहरुको माग पूरा नभएसम्म धर्ना जारी रहने उनले बताए। पोखरिया अस्पतालमा सहज उपचार सेवा तथा अस्पतालमा चिकित्सकदेखि ओषधिलगायत ब्यवस्थाबारे लामो समयदेखि माग गर्दै आए पनि कुनै सु्नुवाइ नभएपछि दबाब स्वरुपा अस्पताल परिसरमै धर्ना दिइएको समानीले बताए।
अस्पताल भवनको निर्माण,अस्पताललाई कर्मचारी भर्ती केन्द्र हुनबाट रोक्नको लागि धर्ना शुरु गरिएको उनको भनाइ छ। प्रदेश सरकारका मुख्यमन्त्री वा संघीय सरकारका मन्त्री नआए सम्म आफुहरुको धर्ना जारी रहने समानीले बताए।
अस्पताल भवन निर्माण ,नगरपालिकाको जगतपुर टोलमा रहेको बर्थिङ सेन्टरको भवन लगायतका अधुरो योजना पूरा गर्नुपर्ने, मालपोत, भूमिसुधार, नापीलगायत कार्यालय पोखरियामा स्थापना गर्नुपर्नेलगायत माग पार्टीले अगाडि सारेको छ।
शुक्रबारको धर्नामा कार्यक्रममा राष्ट्रिय मुक्ति क्रान्तिका केन्द्रिय सदस्य राजेश राय यादव तथा महिला नेतृ आशा चौहान लगायतको उपस्थिति थियो। पोखरिया असपतालमा पर्साको ग्रामीण भेगका बिरामी पुग्ने गरेका छन्। तर अस्पतालमा भौतिक संरचनासँगै चिकित्सक,औषधिको कमीलगायत समस्याका कारण बिरामीले उचित उपचार नपाउने गरेको स्थानीयहरुको गुनासो छ।
पोखरिया असपतालमा पोखरिया नगरपालिका,धोबिन गाउँपालिका,ठोरी,पकहा मैनपुर,कालिकामाई गाउँपालिका लगायतका स्थानहरुबाट बढी बिरामीहरु पुग्ने गरेका छन्। तर अस्पतालमा उपचार अभावका कारण उनीहरुलाई सदरमुकाम वीरगञ्जका तथा भारत बिहारका अस्पताल तथा क्लिनिकमा जानुपर्ने बाध्यता छ।