
झापा- हत्यापछि शव गाडेको हुनसक्ने आशंकाले झापाको बाह्रदशी– ६ मा प्रहरीले शुक्रबार पनि जमिन खनेको छ। बिहीबार घरेलु औजारले जमिन खने पनि शुक्रबार भने एक्जाभेटर प्रयोग गरेर प्रहरीले जमिन खनेको हो।
स्थानीयबासी २१ वर्षीय राजेश ठाकुरको हत्यापछि शव गाडेको हुनसक्ने आशंकाले प्रहरीले शुक्रबार पनि आगनको भागमा खन्ने काम गरिरहेको छ।
बिहीबार राति ८ बजेसम्म घरभित्र खनेर शव खोजिएको थियो। शुक्रबार पनि प्रहरीले गाउँपालिकाको एक्जाभेटर प्रयोग गरेर शव खोजिरहेको छ। तर यो समाचार तयार पार्दासम्मको समयसम्म शव भेटिएको छैन।
प्रहरीले शव खोज्न घरभित्र एक्जाभेटर प्रयोग गर्न ठाकुरका आफन्तले आग्रह गरिरहेका छन्। प्रहरीले घर बाहिर मात्र एक्जाभेटर प्रयोग गरेको भन्दै आक्रोसित आफन्तहरूले आफैं घर भत्काएर शव निकाल्ने बताइरहेका छन्।
गत जेठ १५ गतेदेखि हराइरहेका ठाकुरलाई स्थानीय राजेश राजवंशीले हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।
उनीसँगै प्रहरीले उनकी भाउजुलाई पनि पक्राउ गरिसकेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ।
गत जेठ १५ गते एउटा फोन कल आएपछि साइकल लिएर हिँडेका ठाकुर फर्किएनन्।