धन्न मैले दलको सदस्यता लिइनँ

धन्न मैले दलको सदस्यता लिइनँ
+
-

संविधानतः संघीय लोकतान्त्रिक गणतन्त्र नाम दिइएको आजको नेपालमा यथार्थमा २–४ वटा ठूला भनिएका दलहरूको तन्त्र छ। यहाँ दल भनेको कुनै समूह वा संगठित संस्था नभई कांग्रेस भनेको शेरबहादुर, एमाले भनेको खड्गप्रसाद, माओवादी भनेको पुष्पकमल र सबैभन्दा कान्छो दलको रुपमा रहेको रास्वपा भनेको रवि लामिछाने नै हुन्। अरु भनेका त यिनीहरूका आदेशपालक अथवा भनाैँ यिनीहरूले गरेका कुकर्मका चाङ बोक्ने भरिया अर्थात् गुलाम मात्र हुन्।

गुलामीको अर्थ हो पराधिन अर्थात् अरुको अधीनमा हुनु। आफूसँग भएको बुद्धि विवेक प्रयोग नगरी अमुक व्यक्तिले भनेको कुरा आँखा चिम्लेर मान्नु अथवा त्यसैलाई सत्य ठान्नु गुलामी हो अर्थात् भनाँै के राम्रो के नराम्रो भन्ने कुराको निर्णय लिने अधिकार अरुलाई छोड्नु गुलामी हो।

सृष्टिमा रहेका सम्पूर्ण प्राणीमध्ये खान्छ, पिउँछ, सुत्छ, बस्छ, घुमफिर गर्छ, हाँस्छ, खेल्छ, बच्चा जन्माउँछ भनेर मानिसलाई सर्वश्रेष्ठ भनिएको होइन, यो काम त पशुहरूले पनि गर्ने गर्छन्। मानिसलाई यस कारणले सर्वश्रेष्ठ भनिएको हो कि ऊसँग बुद्धि हुन्छ, विवेक हुन्छ, नैतिकता हुन्छ, उसले आपूm र समाजका लागि के गर्दा हित र के गर्दा अहित हुन्छ भन्ने कुरा सोच्न सक्छ।

बुद्धिकै कारण मानिसले सम्पूर्ण जीवमाथि नियन्त्रण गर्न सम्भव भएको हो र नयाँ–नयाँ अनुसन्धान तथा आविष्कारद्वारा जीवनलाई सुखी एवं समृद्ध बनाएको हो। अतः जुन व्यक्ति अथवा समाजले बुद्धि विवेकको प्रयोग गर्दैन अथवा गर्ने अधिकार राख्दैन, जुन ब्यक्ति अथवा समाजको नैतिकता हराएको हुन्छ अनि जुन व्यक्ति अथवा समाज आफू र समाजका लागि के गर्दा हित र के गर्दा अहित हुन्छ भन्ने कुरा सोच्न सक्दैन अथवा सोच्ने अधिकार राख्दैन भने बुझे हुन्छ त्यो ब्यक्ति, समाज अनि मुलुकको भविष्य सुन्दर छैन।

कतिपयलाई लाग्न सक्छ आजको युगमा पनि आफूसँग भएको बुद्धि विवेक प्रयोग गर्न नसक्ने अथवा प्रयोग गर्न अधिकार नराख्ने व्यक्ति अथवा समाज हुन्छ र ? हो हुँदा रहेछन्। चाहेर अथवा नचाहेर, त्यो पनि एक पटक होइन पटक पटक, बुद्धि र विवेक मात्र होइन नैतिकता, इमान्दारी, भावना, नाता सम्बन्ध, माया प्रेम, सबै छोडन तयार ब्यक्ति र समाज संसारमा अन्यत्र कतै नभेटिए पनि आजका नेपाली र नेपाली समाजमा यस्ता त्यागीहरूको बाहुल्यता रहेको छ जसलाई आधुनिक युगका दास भन्न सकिन्छ। तर, उनीहरू आफूलाई सिद्धान्तवादी दलका सिद्धान्तवादी कार्यकर्ता भएको भ्रम पालेर बाँचिरहेका छन्।

केही वर्षअघि पेशागत कामको सिलसिलामा अर्घाखाँची गएको थिएँ। प्रधानमन्त्री थिए, खड्गप्रसाद ओली, जुन उनको प्रधानमन्त्रीको रुपमा पहिलो कार्यकाल थियो। त्यसताका प्रधानमन्त्री रहेका ओलीलाई हटाएर कांग्रेसले आफ्नो समर्थनमा माओवादीका पुष्पकमल दाहाललाई प्र्रधानमन्त्री बनाउने भन्ने गाँइगँुइ सुरु भएको थियो। म बसेको होटलका मालिक कांग्रेसप्रति आस्था राख्ने भएकाले बेलाबेलामा कांग्रेसीजनको जमघट सो होटलमा भइरहन्थ्यो।

म प्रायः खाना नखाई बिहानै काममा निस्कन्थे र काम गर्ने ठाउँ पनि नजिकै भएकोले खाना खान सोही होटलमा आउँथे र दिनभरि बाहिरै काम गरेर पुनः बेलुका फर्कन्थे।

एकदिन बिहानको खाना खान होटल आउँदा केही कांग्रेसीजनको जमघट शुरु भइसकेको रहेछ। सबैको अनुहारमा गज्जबको खुशी देखिन्थ्यो जुन कुनै पनि हिसाबले बनाबटी देखिँदैनथ्यो। खाना खाँदै उनीहरूको कुरा सुन्दै गर्दा उनीहरू खुशी हुनुको कारण थाहा पाएँ। माथि भनिएजस्तै पुष्पकमल दाहालले एमालेलाई दिएको समर्थन फिर्ता लिएर कांग्रेसको समर्थनमा प्रधानमन्त्री बन्न तयार भएका कारण कांग्रसीजनमा यो खुशी आएको रहेछ।

एकैपटक मनमा नानाथरीका कुरा आए। कांग्रेसप्रति आस्था राखेकै कारण जसले गाउँगाउँबाट लखेट्यो, सम्पत्ति कब्जा गर् यो, अङ्गभङ्ग गर् यो अनि हत्या गर्‍यो त्यसैलाई सरकारको नेतृत्व सुम्पँदा यत्रो खुशी? तर, काममा जानुपर्ने भएकाले लामो चिन्तन मननतर्फ नलागी निस्किएँ। बेलुका खाना खाँदा एक जना म्याडम सँगै परिन् जसलाई मैले दिउँसोको कांग्रेसी जमघटमा देखेको थिएँ। एकछिन उनीसँग कुराकानी गर्दै जाँदा थाहा भयो उनी २०५८ फागुन २९ गते घरमा सुतिरहेको अवस्थामा माओवादीले हत्या गरेको तत्कालीन जिल्ला विकास समिति, अर्घाखाँचीका उपसभापति राममणि ज्ञवालीकी छोरी अनिता ज्ञवाली रहिछन्।

उनको परिचय पाइसकेपछि केही कुरा भन्न मन लाग्दालाग्दै पनि नभनी सुत्न लागेँ। भोलिपल्ट बिहान काठमाडौँ फर्कनुपर्ने थियो। गाडी चढ्न आउँदा त उनी पनि काठमाडाैँ आउनकै लागि पहिले नै गाडीमा बसिसकेकी रहिछन् र संयोगले सिट पनि सँगै परेछ। लामो बाटो भएकाले बेलाबेलामा विभिन्न प्रसंगका कुरा चले।

कुराकै सिलसिलामा मैले उनलाई भनेँ, ‘मुलुक र समाजका लागि त त्यस्तै हो तर पार्टी र नेतृत्वप्रतिको तपाईं र तपाईंजस्ता कार्यकर्ताको निष्ठा र बफादारी शायदै कुनै सभ्य र स्वार्थरहित समाजमा देखिएला। आफ्नो बुबाको हत्यारासँगनिहित सत्ता स्वार्थका निम्ति सम्झौता गर्ने पार्टी नेतृत्वलाई तपाईंहरू जस्ताको साथ र समर्थन साँच्चै अनुकरणीय छ।’ मेरो यस भनाइले भने उनलाई निकै छोएछ। एकछिन बुबा सम्झेर रोइन्, रुँदै नेतृत्वको आलोचना गरिन् र लामो समयसम्म बोल्न सकिनन्।

आफ्नो प्रधानमन्त्री सिट सुरक्षित भइसकेपछि र राष्ट्रपतिमा कुरा नमिलेपछि २०७९ पुस १० गते एमालेलगायतसँग भएको गठबन्धनलाई ३ महिना नपुग्दै छोडेर २०७९ फागुनमा जब पुष्पकमल दाहाल चुनावी गठबन्धनको मुख्य सहयात्री दल कांग्रेसतिरै फर्किए तब मेरो एक जना नजिकको मित्रले द्वन्द्व कालमा माओवादीले क्रुरतापूर्वक हत्या गरेका लमजुङका शिक्षक मुक्तिनाथ अधिकारीको फोटो सामाजिक सञ्जालमा शेयर गर्दै कांग्रेसीहरूलाई ती दिन सम्झन सुझाए।

तर, २०७९ मंसिरमा भएको चुनावमा ८९ सिटका साथ पहिलो ठूलो दल भएको कांग्रेसले ३२ सिट ल्याएर तेस्रो स्थानमा रहेको माओवादीलाई शुरुमै सरकारको नेतृत्व दिन नसक्ने अडान लियो त्यतिवेला ७८ सिटका साथ दोस्रो स्थानमा रहेको एमालेले तिनै पुष्पकमल दाहाललाई बोलाएर सरकारको नेतृत्व दिँदा मेरा ती मित्रले मुक्तिनाथको त के कुरा माओवादीबाट आफ्नै बहिनी ज्वाइँको हत्या गरेको दिन सम्झिएनन्। हाल आफूलाई खाँटी एमाले देखाउन सामाजिक सञ्जालमा विभिन्न पोष्ट गरिरहने ती मित्रको अझ ताज्जुव लाग्दो कुरा के छ भने २०६३ को परिवर्तनपछि जब माओवादीको सत्तारोहण शुरु भयो त्यसपछि ती मित्र उग्र माओवादीको रुपमा देखा परे।

त्यसताका उनको कुरा गराइ यस्तो लाग्थ्यो कि उनी जत्तिको माओवादी त शायद पुष्पकमल र बाबुराम पनि होइनन्। तर, १३ महिना नपुग्दै माओवादीका सारा सर्तलाई स्वीकारेर त्यही एमालेले तिनै दाहाललाई पुनः काँधमा बोकेर हिँड्दा ती मित्रलाई माओवादीद्वारा हत्या गरिएका हजारौँ एमाले कार्यकर्ताको त के कुरा आफ्नै बहिनी ज्वाइँको समेत सम्झना आएको देखिएन।

भारतको जम्मुबाट राजा महेन्द्रको सुझाव सल्लाह र सहयोगमा नेपाल आई यातायात ब्यवसायबाट आफ्नो व्यावसायिक जीवन शुरु गरेका सरदार प्रितम सिंहको पुस्तक विमोचनको क्रममा २०८० आषाढ १८ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले प्रितम सिंह व्यवसाय र सामाजिक काममा मात्र नभई राजनीतिमा समेत उत्तिकै सक्रिय हुनुहुन्छ भन्दै एक पटक आफूलाइ प्रधानमन्त्री बनाउन सिंह पटक पटक दिल्ली गएको खुलासा गरे।

उनले यति भनिरहदा दर्शकदीर्घाबाट तालीको गडगडाहट आएको सुनियो। दर्शकदीर्घामा दुई किसिमका मानिसहरूको उपस्थिति देखिन्थ्यो। पहिलो प्रितम सिंहका आफन्तजन तथा शुभचिन्तकहरू र अर्को स्वयं प्रधानमन्त्री दाहाल अध्यक्ष भएको नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ता। देशको प्रधानमन्त्रीले नै आपूmलाई प्रधानमन्त्री बनाउन प्रितम सिंहले पहल गरेको भन्दा सिंहका परिवार तथा आफन्तजनले गौरव महसुस गरेर ताली बजाउनु त स्वाभाविक थियो तर सुरुङ युद्धको घोषणाका साथ पुँजीवाद र विस्तारवादविरुद्ध विद्रोहको बिगुल फुक्दै साम्यवादी शासन व्यवस्था स्थापनार्थ दश वर्षसम्म कथित जनयुद्ध लडेका भनिएका माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले ताली बजाउनु बडो ताज्जुबको कुरा थियो।

उनीहरूको तालीलाई दुई अर्थमा बुझ्न सकिन्छ।

पहिलो, उनीहरूले पुष्पकमलले के बोल्दै छन् भन्ने कुरातर्फ ध्यान नै दिएनन्, जे बोल्छन् राम्रै बोल्छन् भन्ने बुझाइका साथ बुझ्दै नबुझी ताली बजाए।

दोस्रो, ताली नबजाई बस्ने अधिकार उनीहरूसँग थिएन। पुष्पकमलले बोलेका कुरालाई चिन्तन मनन गर्ने, विश्लेषण गर्ने अनि चित्त बुझे ताली बजाउने अधिकार उनीहरू राख्दैनथे/राख्दैनन् अनि ताली बजाए।
२०७९ मंसिरदेखि हालसम्म नेपालमा सर्वाधिक चर्चित तथा विवादित व्यक्तिको नाम लिनुपर्‍यो भने निर्विवाद रुपले आउने नाम हो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने।

लोकरिझ्याइँवादको खाष्टो ओढेर टेलिभिजन सोमार्फत कमाएको लोकप्रियतालाई राजनीतिक शक्तिमा रुपान्तरण गर्ने महत्वाकांक्षाका साथ आफूलाई सभापति घोषणा गर्दै २०७९ मंसिर ४ गते भएको निर्वाचनमा उनी होमिएका थिए। पार्टी स्थापना गरेकोे पाँच महिनाभित्र ‘नो नट एगेन’ र ‘जान्नेलाई छान्ने’ को नारा दिएर पुराना दलले गरेका राष्ट्रघात र भ्रष्टाचारलाई दण्डित गर्ने संकल्पसहित मतदातासामु पुगेका उनका कुरालाई कतिपय क्षेत्रका मतदाताले विश्वास गरे। तर, आफूलाई विश्वास गरी मतदान गरेका मतदातालाई विश्वासघात गर्न उनलाई दुई महिना पनि लागेन।

जसविरुद्ध मतदाताले उनलाई मत दिएका थिए उनैका सामु लम्पसार पर्दै तिनले घोक्रेठ्याक नलगाउन्जेल तिनकै सरकारमा सहभागी भए। कतिपय मानिस आफ्नो अवसरवादी द्वैध चरित्रलाई लामो समयसम्म लुकाएर राख्न सफल हुन्छन् तर लामिछानेमा यो खुवी देखिएन। अन्धभक्तहरूले उनको लाज छोप्न जतिसुकै प्रयास गरे पनि यथार्थमा उनी सर्वांग रुपले नांगिसकेका छन्। राजनीतिक सिद्धान्त र मूल्य मान्यतामा विश्वास गर्ने, देश र जनताप्रति इमान्दार राजनीतिज्ञले आफूमाथि कुनै आरोप लाग्छ भने तथ्यगत रुपमा त्यसको खण्डन गर्छ र छानबिनको मौका दिई जनताको विश्वास जित्छ। तर, लामिछाने सहकारी रकम हिनामिना प्रकरणमा आफ्नो नाम जोडिँदै गर्दा छानबिनलाई प्रभावित पार्नकै निमित्त भ्रष्ट भनिएकाहरूकै सारा सर्तलाई स्वीकार्दै गृहमन्त्री मात्र भएनन् विपक्षीले गरेको संसदीय छानबिन समितिको मागलाई रोक्नसमेत हदैसम्मको प्रयास गरे।

अन्ततः उनको केही चलेन, उनको पार्टीको सदस्यसमेत राखेर छानबिन समिति पनि गठन भयो र त्यो समितिले सर्वसम्मत रुपमा लामिछाने समेतलाई कारबाहीको सिफारिस गर्दै प्रतिवेदनसमेत बुझाइसकेको छ तर उनका भक्तहरू क्लिन चिटको गीत गाउँदै थपडी बजाएर हिँड्दै छन्।

कहिलेकाहीँ म सोच्छु मैले पनि कुनै दलको सदस्यता लिएको भए कतै न कतै पक्कै ठाउँ पाउने थिएँ होला तर तत्काल अर्को मनले प्रतिवाद गर्छ र भन्छ केही पाउनकै लागि आफूलाई दास बनाउन सकिन्छ र ? हो, मैले दलको सदस्यता लिएको भए सबैभन्दा पहिले मेरो इमान्दारीको बलि चढाउनुपथ्र्यो, नैतिकताको बलि चढाउनुपथ्र्यो, मेरो विवेकको, स्वाभिमानको अनि धर्म, संस्कृति, रीति रिवाजको बलि चढाउनुपथ्र्यो अथवा भनाँै मसँग भएका मेरा सम्पूर्ण अधिकारहरूको बलि चढाउनुपथ्र्यो।

आफ्ना लागि कहिल्यै झुट नबोलेको मैले दल र सम्बद्ध नेताहरूका लागि झुट बोल्नुपथ्र्यो, आफ्ना लागि कहिल्यै बेइमानी नगरेको मैले दल र सम्बद्ध नेताहरूका लागि बेइमानी गर्नुपथ्र्यो अनि एक से एक भ्रष्ट, अपराधी अनि राष्ट्रघातीहरूको जयजयकार गर्दै हिँडनुपथ्र्यो।

नवविवाहित दुलही, नाबालक सन्तान अनि अशक्त माता पितालाई छाडेर हातमुख जोड्नकै लागि बिदेसिएको कुनै युवा बन्द बाकसमा फिर्ता भएको देख्दा त्यसका लागि जिम्मेवार रहेकाहरूको जयजयकार कसरी गरौँ? जसको सम्पत्ति लुटिएको छ, जसलाई अंगभंग गरिएको छ, जसका पिताको उसैको अगाडि बीभत्स किसिमले हत्या गरिएको छ ऊ नजिक तिनै लुटेरा र हत्याराहरूको जयजयकार गर्दै तिनकै निम्ति कसरी भोट मागाैँ ? बिचौलिया र तस्करहरूको स्वार्थका लागि निजीकरणको नाममा भएका उद्योगधन्दा बन्द गराउँदै लाखौँलाई बेरोजगार बनाउने अनि लाउडा, धमिजा, एलसीजस्ता ठुल्ठूला भ्रष्टाचार गरी मुलुकलाई दुर्गतिमा लानको निमित्त खाका कोर्नेलाई कसरी युग पुरुष मानौँ? एउटा नटवरलाल जो कहिले दोहोरो नागरिकता र दोहोरो राहदानी प्रकरणमा जोडिन्छ भने कहिले लाखाैँ भुइँमान्छेले भविष्यका निम्ति खाइ नखाई सञ्चित गरेको करोडाँै रकमको हिनामिनामा, त्यस्तालाई कसरी यो मुलुकको भविष्य निर्माता मानौँ?

अपवादको रुपमा बाहेक नेपालमा विद्यमान राजनीतिक दलका कुनै पनि कार्यकर्ताले म इमानदार छु, म नैतिकवान र बिवेकी छु, म झुट बोल्दिनँ अनि बेइमानी पनि गर्दिनँ भन्छ भने बुझे हुन्छ– उसले झुट बोल्दै छ। हो, उसले दलको सदस्यता लिनुभन्दा अगाडि ऊ इमानदार थियो होला अनि नैतिकवान र विवेकी पनि, उसले झुट बोलेन होला न त बेइमानी नै गर्‍यो होला तर जुन दिन उसले दलको सदस्यता लियो त्यही दिन यी सब कुरालाई तिलाञ्जली दियो। मैले दलको सदस्यताका लागि यी सब कुरालाई तिलाञ्जली दिन नसक्ने भएरै कुनै पनि दलको सदस्यता लिइनँ जसका लागि म आफूलाई धन्य सम्झन्छु।
janardanghimire@live.com

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?