
काठमाडाैँ – काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले सार्वजनिक बिदाको दिनमा पनि विरामीको उपचार सेवा सुचारु हुने जनाएको छ।
सोमबार न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले सार्वजनिक बिदाको दिन पनि बिरामीहरुले अस्पतालमा उपचार सेवा पाउने स्पष्ट पारेका हुन्। दशैँ, तिहारलगायत चाडपर्वको बेला सार्वजनिक बिदा अस्पतालहरुमा पनि हुने गर्छ।
ती बिदाका दिनमा पनि आफूहरुले उपचार सेवा दिने काम २४ घण्टा नै हुने र त्यो इमर्जेन्सी कक्षमार्फत हुने पनि निर्देशक अधिकारीले बताए।
उनले सार्वजनिक बिदाको दिनमा पनि कुनै स्वास्थ्य समस्या भएका इमर्जेन्सीमार्फत २४ घण्टा नै बिरामीहरुको उपचार हुने भएकाले त्यस्ता बिरामीहरुले अस्पताल बन्द छ भनेर सोच्न नपर्ने बताए।
अस्पतालले दशैँमा ४ दिन र तिहारमा ३ दिन सार्वजनिक बिदा दिने गर्छ। तर ती सार्वजनिक बिदाको दिनमा ओपीडी सेवा बन्द भए पनि सबै बिरामीको उपचार इमर्जेन्सी सेवाबाट हुने गरी २४ घण्टा नै चिकित्सकहरु परिचालित हुने निर्देशक अधिकारीले बताए।
दशैँको ४ दिन, तिहारको ३ दिन र कृष्ण जन्माष्टमी र शिवरात्रिको दिन अस्पतालले सार्वजनिक बिदा दिने गरेको छ। त्यसबाहेका अन्य सार्वजनिक विदाहरुमा आधा दिन अस्पतालले बिरामीहरुका लाग सेवा दिने काम गर्ने पनि अस्पतालले जनाएको छ। निर्देशक डा. अधिकारीले विदाको दिनमा पनि करिव १२ जना चिकित्सकहरुको समूह २४ घण्टानै उपचारका लागि परिचालन हुने गरेको बताए।
अस्पतालमा हाल गर्भवती महिलाको चाप बढेको छ। असार, साउन, भदौ, असोजमा गर्भवतीको संख्या बढेर महिनामा करिव २ हजारको संख्या पुग्ने गरेको पनि निर्देशक डा. अधिकारीले बताए।