
झापा- झापाको दमक नगरपालिकाको वडा नं ८ कार्यालयले सर्वसाधारणलाई दसैंको टीका लगाइदिने भन्दै सूचना जारी गरेको छ।
दसैं टीका लगाइदिने भन्दै सूचना जारी गरेको वडाध्यक्ष धर्मप्रसाद दाहालले पुष्टि गरेका छन्।
संवैधानिक राजतन्त्र र त्यस अघि राजाले सर्वसाधारणलाई दसैंको टीका लगाइदिने परम्परा भएकोमा गणतन्त्र स्थापनापछि राष्ट्रपतिले सर्वसाधारणलाई दसैंको टीका लगाइदिने परम्परा छ।
त्यस्को सिको गर्दै वडा कार्यालयले पनि दसैंको टीका लगाइदिने सूचना निकालेको संभवतः यो पहिलो हो।
सर्वसाधारणलाई दसैंको टीका लगाइदिने सूचना वडा कार्यालयले निकालेपछि सामाजिक सञ्जालमा आलोचना व्यक्त हुन थालेको छ।
दमक नगरपालिका प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगरपालिका हो।
वडा कार्यालयलाई व्यवभार नपर्नेगरी सर्वसाधारणलाई दसैंको टीका लगाइदिने योजना रहेको वडाध्यक्ष धर्मप्रसाद दाहालले बताए।
उनले भने, ‘टीका लगाइदिने कोही नहुनेका लागि यो अवसर प्रदान गर्न खोजिएको हो।’