
झापा- झापा बिर्तामोड नगरपालिकाको बिर्ताबजार दसैँ मेलामा ठाउँ नभएपछि सन्थालहरूले बाटोमै नृत्य देखाएका छन्।
बिर्तामोड-भद्रपुर रोड र बिर्ताबजार जोड्ने पुरानो भद्रपुर रोडमा उनीहरूले मुश्किलले आ-आफ्ना समूहको साँस्कृतिक नृत्य प्रस्तुत गरेका थिए।
मेलामा नाच देखाउन आठवटा टोली भेला भएकोमा उनीहरूलाई बाटोमा नृत्य देखाउन समस्या भएको थियो। कुनै समूहले नृत्य देखाइरहेका थिए भने कुनै समूहले ठाउँको अभावमा नृत्य देखाउन सकिरहेका थिएनन्। सन्थालहरूले पुरै सडक ढाकेर नृत्य देखाइरहँदा करिव एक घण्टा सडक अवरुद्ध भई ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको थियो।
बिर्ताबजारको ऐतिहासिक एवम् धार्मिक महत्वको दुर्गा मन्दिरमा परापूर्वकालदेखि दसैँको टीकाको दिन मेला लाग्दै आएको छ।
अहिलेको शिवालयदेखि पश्चिमपट्टी स्वर्गीय सतानुसिंह राजवंशीले दान दिएको करिव एक विघा जग्गा खाली रहेको थियो। जहाँ सन्थालहरूले सामूहिक नृत्य देखाउने गर्थे। त्यस जग्गामा अहिले महेन्द्ररत्न मावि र अनारमनी पव्लिक क्याम्पसको भवन बनाइएको छ।
सोही दुर्गा मन्दिरको लागि डोमालाल राजवंशीले करिव १२ विगाह जग्गा दान दिएका थिए। त्यो जग्गा देवी गुठीमा रहेका व्यक्तिहरूले मासिसके। यसरी ऐतिहासिक मठमन्दिर र मन्दिरका जग्गा मासेर आदिवासीहरुले दान दिएको जग्गा जमिनसँगै उनीहरूको संस्कार,संस्कृति र पहिचान नष्ट गर्ने गलत प्रवृति बढ्दै गएको बिर्तामोड- ३ सैनिकमोडका सूर्य राजवंशी गुनासो गर्छन्।
बिर्ताबजारको मात्र होइन, गरामनीको दुर्गा मन्दिरको जग्गा पनि मासिएको छ। ठाउँकै अभावमा गरामनी मेला घट्दै गएको छ। आइतबार गरामनीमा पनि मेला लाग्दैछ। त्यहाँ पनि सन्थाल समुदायले नृत्य देखाउँदैछन्।