
झापा- झापा जिल्लामै सन्थाल नृत्यका लागि प्रचलित बिर्तामोड– ८ स्थित गरामनीको ऐतिहासिक एवं धार्मिक मेलामा यस वर्ष सन्थाल नृत्यको आकर्षण घटेको छ।
विगतका वर्षमा १५–२० वटा सन्थाल नृत्य टोलीले नृत्य देखाएर मनोरञ्जन प्रदान गरेकोमा यस वर्ष मात्र पाँचवटा टोली सहभागी भएपछि मेलाको रौनकता घटेको हो।
दुर्गा शक्तिपीठ मन्दिर संरक्षण समिति र मेला व्यवस्थापन समितिले पत्राचार नगरेपछि सन्थाल टोलीहरु नआएका हुन्। मेलामा बिर्तामोडका टोलीहरुको समेत सहभागिता देखिएन।
नेतृत्वले जिम्मेवारी पूरा नगर्दा यो अवस्था आएको बिर्तामोड– ८ का वडाध्यक्ष अजय कार्कीले बताए। उनले अर्को वर्षदेखि सन्थाल नृत्यकै लागि वडा कार्यालयबाट एक लाख रुपैयाँ छुट्याउने घोषणा गरे।
परम्परादेखि सन्थालहरुले नाच देखाउँदै आएको दुर्गा माध्यमिक विद्यालयको खेल मैदानलाई मासेर टहरा निर्माण गरिएकोमा त्यसलाई आफ्नै नेतृत्वमा भत्काएर ठाउँ खाली गर्ने उनले चेतावनी दिएका छन्।
मेलामा सहभागी पाँचवटा टोलीमध्ये बिहानी सन्थाल युवा क्लब कन्काई– ४ कालीमुढा प्रथम हुँदै २० हजार नगद पुरस्कार जितेको छ। त्यस्तै, दोस्रो भएको राजगढ जुवान क्लब बाह्रदशी– २ ले १५ हजार नगद पुरस्कार पाउँदा जियड झरना सन्थाल युवा क्लव कचनकवल– ५ तेस्रो भएको छ। उसले १० हजार नगद पुरस्कार प्राप्त गरेको छ।
त्यस्तै, पाथीभरा सन्थाल युवा क्लब हल्दिवारी– ४ र हल्दिवारी– ४ कै पाथीभरा सन्थाल नृत्य समूह सान्त्वना भएका छन्। उनीहरुले पाँच–पाँच हजार नगद पुरस्कार पाएका छन्।