
वीरगञ्ज- मंगलबार दिउँसाे नेपाल भारत सिमाना नजिकै रहेकाे मितेरी पुल आसपासमा चलेकाे दुई राउन्ड गाेली भारतीय सिमा सुरक्षा बल एसएसबीका जवानले नै चलाएको पाइएको छ।
मंगलबार नेपाल भारत सिमाना नजिकै वीरगञ्ज र रक्सौलबीच रहेको मितेरी पुल आसपासमा नजिकै एक राउन्ड गोलीको खोका भेटिएको थियो।
प्रत्यक्षदर्शीहरूले एसएसबी जवानले नै गोली चलाएको बताएका थिए। घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले घटनास्थलमा पुगेको थियो।
उक्त गाेली नेपाल भारत सिमानामा भारततर्फ खट्ने एसएसबी ४७ औ बाहिनी पन्टोकाका जवानले आफ्नो ज्यान जोखिममा रहेकाले आत्मरक्षाको क्रममा दुई राउन्ड गोली चलाएको मोतिहारी प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार केही तस्करहरू एकजुट भएर ती जवानलाई कुटपिट गर्दै दशगजा क्षेत्र (नो मैन्स ल्याण्ड) तर्फ लगिरहेका थिए। तस्करहरुले काठ र फलामको डन्डाले जवान कुटपिट गरेपछि उनले आत्मरक्षा लागि दुई राउन्ड गोली चलाएका हुन्।
सो क्रममा तस्करहरूले कुटपिट गरि एसएसबी जवानलाई घाईते समेत बनाई दिएका छन्। एसएसबी जवानलाई कुटपिट भएको सूचना पाउनेबितिक्कै हरैया थानाका थानाध्यक्ष पुलिस अधिक्षक अँजन कुमार, प्रिती कुमारी, मखन सिंह र सशस्त्र बल हरैया थानाको टोलीले छापामारी गरि दुई जना तस्करहरूलाई पक्राउ गरेको छ।
टोलीले बिहार जिल्ला पुबै चम्पारण मोतिहारी हरैया थान निवासी जितु कुमार र खुर्शीद आलमलाई पक्राउ गरेको तथा घटनामा संलग्न रहेका अन्य ब्यक्तिहरूको खोजी कार्य भइरहेको मोतिहारी पुलिसले जनाएको छ।
खोका बरामद भएपछि गोली चलेको कसले चलाएको भन्ने बारेमा हालसम्म अनुसन्धान गरिरहेको पर्साका प्रहरी प्रवक्ता एवम् डीएसपी दीपक भारतीले जानकारी दिए। उनले नेपालको भूमिमा खोका फेला परेकोले कसरी आयो भन्ने विषयमा आवश्यक अनुसन्धान जारी हेको बताए ।