
वीरगञ्ज- पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले अबैध कारोबारलाई कानुनको दायरामा ल्याएर पारदर्शी रुपमा काम गर्न प्रहरीलाई निर्देशन दिएका छन्। प्रहरी कार्यालय पर्साले बुधबार ६९ औ प्रहरी दिवस मनाउने क्रममा प्रमुख जिल्ला अधिकारी भुसालले मानव अधिकारको सम्मान गर्दै समाजको चाहनामा चनाखो रही समर्पणभावले प्रहरी कर्मचारीलाई काम गर्ने प्रेरणा दिवसले दिने बिश्वास ब्यक्त गरे।
कुनै पनि किसिमको कम्प्रोमाईज नगरि काम गर्न पर्सा प्रहरीलाई भुसालले आग्रह गरेका थिए। सरकारको तीनै तह स्थानीय,प्रदेश र सँघीका बिभिन्न सँस्थाहरुसित न्याय,शान्ति र सुशासन प्रबाहको भुमिका खेल्न पनि प्रहरीलाई उनले अनुरोध गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै पर्साका प्रहरी प्रमुख एसपी कुमोद ढुंगेलले नेपालभरि शान्ति सुब्यवस्था कायम गर्न, अपराध रोकथाम, नियन्त्रण गर्न स्थापना भएको नेपाल प्रहरीका अग्रज,पूर्ब प्रहरी कर्मचारी,प्रहरी परिवारजनलाई दिवसको अवसरमा शुभकामना दिएका थिए।
सीमित स्रोत साधनको बाबजुद पनि समाजमा भएका अपराध रोकथाम र अनुसन्धानको कार्य सफलतापूर्वक प्रहरीले गरिरहेको उनले बताएका थिए। अगामी दिनमा पनि यस्ता जिम्मेवारी प्रहरीले बिचलित नभई गर्ने ढुंगेलको भनाइ थियो । प्रहरी कार्यालय पर्साले ’साईबर सुरक्षा आजको आवश्यकता‘ भन्ने नारासहित एक कार्यक्रम गरी ६९ औँ प्रहरी दिवस मनाएको हो। कार्यक्रमबीच विभिन्न संघ,संस्था र ब्यक्तिलाई सम्मान गरिएकाे थियाे।