श्रद्धाञ्जलि

१५ वर्षकै उमेरमा फरक समाचारकी पात्र बनेकी श्रेयलाई हार्दिक श्रद्धाञ्जलि!

१५ वर्षकै उमेरमा फरक समाचारकी पात्र बनेकी श्रेयलाई हार्दिक श्रद्धाञ्जलि!
+
-

असोज ३० गते फेसबुकको एउटा स्ट्याटसले एकैपटक मलाई झन्डै अढाइ दशकअघिको मेरो पत्रकारिताको एउटा रिपोर्टिङलाई सतहमा ल्याइदियो। त्यतिबेला म कान्तिपुर दैनिकको रिपोर्टर थिएँ र सामाजिक तथा जनस्वास्थ्यका विषयमा कलम चलाउँथे। त्यो दिन म आफ्नै कार्यकक्षमा थिएँ। तल रिसेप्सनबाट मलाई फोन आयो कि कोही मलाई भेट्न आएको छ। म तल ओर्लिएँ। मलाई भेट्नका लागि एकजना बहिनी आएकी थिइन्। मलाई अहिले ठ्याक्कै सम्झना त भएन, तर शायद ती बहिनी त्योबेला कक्षा नौ वा दशमा पढ्दै गरेको हुनुपर्छ। उनी भारतको मसुरीस्थित प्रसिद्ध विद्यालय वुडस्टकमा पढ्दै थिइन्। बिदाको समय पारेर उनी काठमाडौँ आएकी थिइन्। उनीसँग परिचय भयो र भनिन् म श्रेय थापा।

मेरो एउटा रिपोर्टिङ एचआइभी संक्रमितद्वारा सञ्चालित देशकै पहिलो संस्था प्रेरणा समूहको बारेमा थियो। आजभन्दा झन्डै अढाइ दशकअगाडि एचआईभी संक्रमित व्यक्तिहरु परिवारको मानप्रतिष्ठा तथा समाजको डर र विभेदका कारण बाहिर खुलेर आउनसक्ने अवस्था नहुँदाको त्यो कठिन समयमा यसका संस्थापक शरण क्षेत्री र उनकी श्रीमती आशा खुलेरै एचआइभी संक्रमितहरुको हक अधिकारका लागि होमिएका थिए। त्यतिबेला एचआइभी संक्रमितहरु एक भयावह आकृतिको रुपमा चित्रित हुन्थे। यस्तो चरम विभेदको अवस्थालाई चिर्दै एचआइभी संक्रमितहरुको हकअधिकारका लागि आफ्नो परिचय खोलेर बाहिर निस्कनु त्यतिबेला क्रान्तिकारी कदम थियो । प्रेरणा समूह एचआइभी संक्रमितहरुको प्रयासमा खुलेको नेपालको पहिलो संस्था पनि थियो।

त्यति बेला एचआईभीको सवाल विश्वभरमै एक ठूलो प्राथमिकता थियो र यसको संक्रमण नियन्त्रणका लागि नेपाल सरकार तथा दातृ निकायले प्रशस्त स्रोत परिचालन गरेका थिए। त्यसै अनुरुप त्यो समयमा जनचेतना तथा एचआईभी संक्रमण नियन्त्रणका लागि गैरसरकारी संस्था मार्फत प्रशस्त स्रोतहरु परिचालन गरिएका थिए। तर अफसोच, एचआईभी संक्रमित व्यक्तिहरुको नेतृत्वमा रहेको प्रेरणा समूहले भने महिनौँदेखि भाडा तिर्न सकेको थिएन।

यही सन्दर्भमा मैले गरेको रिपोर्टिंङ कान्तिपुर दैनिकमा प्रकाशित भएपछि यसले विभिन्न तहमा तरंग ल्याएको थियो। यसैमा जोडिन आइपुगेकी थिइन्, विद्यालय तहमा पढ्दै गरेकी श्रेय थापा। उनको १५ औं जन्म दिन नजिकिँदै थियो। उनले भनिन् म मेरो जन्म दिन प्रेरणामा गएर एचआईभी संक्रमित आशालगायत अन्य एचआईभी संक्रमितहरुसँग मनाउँछु र मेरो जन्म दिनमा खर्च हुने पैसा साथै परिवार, आफन्त र साथीभाइहरुले दिने उपहार नगदमा उपलब्ध गराउन आग्रह गरेकी छु र त्यो रकम प्रेरणालाई सहयोग गर्छु। त्यो कलिलो उमेरमा एचआईभी संक्रमितहरुले खोलेको संस्थामा गएर एचआईभी संक्रमितहरुसंग आफ्नो जन्मदिन मनाउने उनको निर्णय आफैमा ठूलो साहस थियो। म सञ्चारकर्मीको आखामा यसले समाज र राष्ट्रलाई दिने सन्देशको गहनता दुरगामी महत्वको थियो। मैले यसबारे कान्तिपुर तथा काठमाडौं पोष्टका तत्कालीन सम्पादक युवराज घिमिरेसँग सल्लाह गरेँ र उहाँले यो समाचारलाई प्राथमिकता दिने निर्णय गर्नुभयो। प्रायजसो राजनीतिक विषयले पत्रिकाको अघिल्लो पृष्ठमा प्राथमिकता पाउने रीतिलाई युवराज घिमिरे सम्पादक भएपछि सामाजिक विषयवस्तु पनि कान्तिपुर र काठमाडौं पोष्टको अघिल्लो पृष्ठमा उच्च महत्वका साथ छापिँदै आएका थिए। विषयको गम्भीरता बुझेर सम्पादक युवराज घिमिरेको निर्णयले श्रेयको एचआईभी संक्रमितहरुप्रति देखाएको निस्वार्थ प्रेम तथा ऐक्यवद्धतालाई त्यतिबेलाका अत्यन्तै लोकप्रिय तथा प्रभावकारी पत्रिका कान्तिपुर र काठमाडौं पोष्टको पहिलो पृष्ठमा प्राथमिकताका साथ छापिएको थियो। यो समाचार कान्तिपुरको सम्पादकीयको विषयसमेत बनेको थियो। त्यसपछिका दिनहरुमा यो विषयले सरकार तथा दातृ संस्थाहरुको ध्यान त तान्यो नै। त्यो भन्दा बढी आम पाठकहरुका लागि श्रेय थापाको त्यो साहसिक कदम प्रेरणादायी बनेको थियो।

डर र विभेदका कारण आवाज उठाउन नसक्ने अवस्थामा रहेका एचआईभी संक्रमितहरु प्रति श्रेयले १५ वर्षकै उमेरमा देखाएको त्यो करुणाभाव आफैँमा अद्वितीय थियो।

श्रेयले दुई वर्षअघि विवाहबन्धनमा रहेर श्रीमानसँगै चितवनलाई कर्मथलो बनाएकी थिइन्। र, त्यहाँ पनि हात्तीहरुलाई आफ्नै खर्चले आहारा खुवाउने र स्याहारसुसार गर्ने रहिछन् र प्रकृति र जनावर संरक्षणमा समर्पित हुने उनको लक्ष्य रहेछ । प्रकृति, मानव र जीवजन्तुहरुसँगको उनको यो लगावलाई उनले कहिल्यै प्रदर्शन गरिनन्, बरु जीवनको अभिन्न अंग बनाएर उनीहरुकै लयमा आफूलाई समाहित गरिन्।

श्रेयसँग यस समाचार प्रकाशनपछिको २२ वर्षमा मेरो भेटघाट कहिल्यै पनि भएन। तर, श्रेयलाई प्रेरणा समूहमा जन्मदिन मनाउनका लागि मैले सहजीकरण गर्ने क्रममा उनका बुवा तीर्थ थापासँग परिचय भएको थियो। यही क्रममा उहाँले नेपालको ग्रामीण स्वास्थ्य सेवामा पुर्‍याएको योगदानको बारेमा जानकार भएँ। म आफैँ पनि स्वास्थ्यका विषयमा रिपोर्टिङ गर्ने हुनाले त्यति बेलाको माओवादी सशस्त्र द्वन्द्वको कठिन समयमा तिर्थ थापा आवद्ध रहेको संस्थाले सञ्चालन गरेका अस्पतालहरुले ती ग्रामीण भेगमा पुर्‍याएको स्वास्थ्य सेवा समाचारका विषय थिए।

कान्तिपुरपछि म त्यतिवेला आवद्ध समय म्यागेजिनमा मैले केही रिपोर्टिङहरु पनि गरेँ। म र मेरो सहकर्मी किरण भण्डारी (हाल बिबिसी मिडिया एक्सनको सम्पादक) सशस्त्र द्वन्द्वको समय र मोटरबाटोले नछोएको बेला पैदलै हिडेर रुकुमको चौरजहाजीबाट स्थलगत रिपोर्टिंङ गरेका थियौँ। मैले सन् २००६ मा पत्रकारिता छोडेपछि तीर्थसरसँग पनि सम्पर्क भएन। फेसबुकले हामी जोडिएका भए पनि हाम्रो कुराकानी हुने गरेको थिएन।

तर श्रेयले १५ वर्षको उमेरमा एचआईभी संक्रमितहरुसँगै मनाएको जन्मदिन मेरो सम्झनामा जहिल्यै रहन्थ्यो । मलाई लाग्थ्यो, उनी अझै यसैगरी सिमान्तकृत र आवाजविहीनहरुका लागि कहीँ कतै काम गर्दै होलिन् ।

पछिल्लो केही सातायता श्रेयका बुवाले फेस‍बुक मार्फत श्रेयको स्वास्थ्य अवस्थाबारे गराएको जानकारीले म विचलित हुन्थेँ र जहिल्यै म २० वर्ष अगाडि कान्तिपुरमा भेटेकी श्रेय र एचआइभी संक्रमितहरुको नेतृत्वमा स्थापना भएको प्रेरणा समूहमा उनले मनाएको जन्मदिन सम्झिन्थेँ। अनि भगवानसँग प्रार्थना गर्थेँ- श्रेयलाई चाडै निको बनाइदेऊ। तर, तीर्थ थापा सरको असोज ३० गते फेसबुकमा आएको अप्रत्याशित समाचारले स्तब्ध बनायो। मन भारी भयो। श्रेय आफ्नो प्यारो परिवार र हामी सबैलाई छोडेर यस धर्तीबाट बिदा भइछन्, ३७ वर्षकै उमेरमा।

कात्तिक १ गते ह्युमन डेभलपमेन्ट एन्ड कम्युनिटी सर्भिसेजको प्रांगणमा श्रेयको अन्तिम संस्कारको कार्यक्रममा म सहभागी भएँ। श्रेयको वुवाले आफ्नी प्यारी छोरीको वारेमा कुराहरु राख्नु भयो। उहाँले छोरीको सम्झनामा अभिव्यक्त गरेका श्रद्धाञ्जलिका शब्दहरुले सबैलाई भावुक बनायो । श्रेयलाई मैले जसरी २२ वर्ष अगाडि भेटेको थिएँ, उनी त्यस्तै नै रहिछन्। ३७ वर्षसम्म उनी पूर्ण करुणाभावको जिन्दगी बाँचेकी रहिछन्। यो सुनेर एकातिर मन खुशी भयो तर अर्कोतिर श्रेयले छोडेर गएको पीडाले घोचिरहेको थियो।

श्रेयले दुई वर्षअघि विवाहबन्धनमा रहेर श्रीमानसँगै चितवनलाई कर्मथलो बनाएकी थिइन्। र, त्यहाँ पनि हात्तीहरुलाई आफ्नै खर्चले आहारा खुवाउने र स्याहारसुसार गर्ने रहिछन् र प्रकृति र जनावर संरक्षणमा समर्पित हुने उनको लक्ष्य रहेछ । प्रकृति, मानव र जीवजन्तुहरुसँगको उनको यो लगावलाई उनले कहिल्यै प्रदर्शन गरिनन्, बरु जीवनको अभिन्न अंग बनाएर उनीहरुकै लयमा आफूलाई समाहित गरिन्।

वर्षाैँपछि कात्तिक २ गते बिहान श्रेयका वुवा तीर्थ सरसँग फोनमा छोटो कुराकानी भयो। उहाँले भन्नुभयो- मनीष भाइ, श्रेय त्यही हो जसको १५ औं जन्मदिनको बारेमा तपाईँले लेख्नुभएको थियो। आज पनि मैले त्यो समाचारलाई सुरक्षित राखेको छु ।

मेरो सम्झनामा आईरहने २२ वर्ष अगाडिकी श्रेयले त्यो कलिलो उमेर छोडेको त्यो छाप मेरो सम्झनाबाट जीवनभर हराउने छैन । हार्दिक श्रद्धान्जली तिमीलाई श्रेय!

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?