
काठमाडौँ – बुलिङकाे विषयवस्तुमा आधारित भएर लेखक/पत्रकार श्रीश भण्डारी लेखेको किशोर–उपन्यास ‘अकथित’ शुक्रबार सार्वजनिक भएको छ।
अंग्रेजी ‘बुलिङ’को नेपालीमा हुबहु अर्थ दिने शब्द सायद नभएको भण्डारी बताउँछन्। तर, नेपालीमा यसलाई बलमिच्याइँ, हेपाइ, दादागिरी वा धम्किपूर्ण व्यवहार भन्न सकिने उनको भनाइ छ।
यो मानिसको बाल्यावस्था र किशोरावस्थामा देखापर्ने परपीडक–प्रवृत्ति हो। यस्ता प्रवृत्ति भएकाहरूले आफ्नै साथीसङ्गीलाई होच्याउने, खिल्ली उडाउने, धम्क्याउने, गिज्याउने, हेप्ने, हेला गर्ने, तर्साउने, पिट्ने वा रुचि नभएको काम गर्न बाध्य बनाउनेजस्ता दुर्व्यवहार गर्छन्। त्यसबाटै आफू आनन्दित हुन्छन्। यसरी आफ्नै साथी, साना वा कमजोरलाई शारीरिक वा मानसिक पीडा पुर्याएर त्यसबाटै आफूहरू आनन्दित हुने समस्या पछिल्लो समय बालबालिका र किशोरकिशोरीमा बढ्दो छ।
बुलिङको यही विषयवस्तुलाई आधार बनाएर पुस्तक लेखिएको भण्डारीको बताए। उपन्यासमा बुलिङका कारण किशोरकिशोरीको व्यक्तित्व विकासमा आउन सक्ने अवरोध र उनीहरूले सामना गर्नुपर्ने अप्ठ्याराहरूलाई एउटा सुन्दर कथामार्फत प्रस्तुत गरिएको छ।
उपन्यासको मुख्य पात्र सार्थकको लजालु स्वभाव र कमजोर आत्मबलको फाइदा उठाएर उसलाई विराज र उसका केही बदमास साथीहरूको समूहले हदैसम्मको बलमिच्याइँ (बुलिङ) गरेको छ। यस्तो बलमिच्याइँबारे जानकार भएर पनि कक्षाका साथीहरू त्यसको प्रतिकार गर्न सकिरहेका छैनन् । किताबी पढाइमा मात्रै केन्द्रित शिक्षक र अभिभावको पनि यसतर्फ बिल्कुलै ध्यान पुग्न सकिरहेको छैन। अझ कुनै–कुनै शिक्षक त पीडितलाई नै दोषी ठहर्याउनसमेत पछि परेका छैनन्।
‘बुलिङका कारण पीडितको आत्मसम्मानमा ठेस पुग्छ। हेप्दा वा होच्याउँदा प्रयोग हुने शब्द र व्यवहारले उनीहरूको आत्मविश्वास कमजोर गराउँछ। यस्तो दुर्व्यवहारबाट गुज्रिएका बालबालिका कम बोल्छन्। परिवारका सदस्यसँग पनि खासै खुल्दैनन्। साथीभाइबाट टाढै रहन्छन्। एकान्त मन पराउँछन्। प्रायः कोठामा एक्लै बस्छन्। कसैको अघिल्तिर पर्दा प्रायः शिर ठाडो गर्न र आँखामा आँखा जुधाएर हेर्न सक्दैनन्,’ लेखक भण्डारी भन्छन्, ‘कैयन् अभिभावकले यस्तो परिवर्तनलाई किशोरावस्थाको स्वाभाविक बदलाव ठानेका हुन सक्छन्। तर, समस्याको पहिचान र निकारणमा ढिलाइ भयो भने अन्ततः बालबालिका र किशोर किशोरीलाई यसले डिप्रेसनको अवस्थासम्मै पुर्याउन सक्छ।’
प्रविधि प्रयोगमा आएको व्यापकतासँगै पछिल्लो समय सामाजिक सञ्जालमार्फत् अनावश्यक सन्देश पठाउने, अश्लील शब्द, तस्बिर वा भिडियो पठाउने वा त्यस्तै भाषा प्रयोग गरेर दुःख दिने हर्कत बढ्दै गएका छन्। यस्ता क्रियाकलापहरू साइवर बुलिङ अन्तर्गत पदर्छन्। लेखक भण्डारीको ‘अकथित’ उपन्यासले साइबर बुलिङ्को यो पक्षलाई पनि चेतनामूलक ढङ्गले समेटेको छ।
‘एकैछिनको रमाइलोका लागि कसैले गर्ने गलत व्यवहार अर्कोका लागि जीवनभरिको दुःखद् कारण बन्न सक्छ भनेर कमैले हेक्का राखेका हुन्छन्। जानेर वा नजानेर यस्तो दुर्व्यवहार विद्यार्थीबाट मात्र नभई कहिलेकाहीँ शिक्षक, अभिभावक र विद्यालयका अन्य कर्मचारीबाट पनि हुन गइरहेको पाइन्छ। यसले गर्दा पीडितहरू विद्यालय र यो समाजमा आफ्ना लागि कुनै स्थान सुरक्षित नरहेको र कुनै व्यक्ति विश्वासयोग्य नभएको महसुस गरिरहेका हुन सक्छन्,’ त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, मानसिक स्वास्थ्य विभागका प्रमुख प्राध्यापक डा. सरोजप्रसाद ओझानथाक्षेँले किताबको भूमिकामा लेखेका छन्, ‘यो अवस्था लामो समयसम्म रह्यो भने पीडितहरूको मनोबल घटेर मनमा डर पैदा हुने, निन्द्रा नलाग्ने जस्ता लक्षणहरू हुँदै अन्ततः उनीहरू डिप्रेसनको शिकार बन्न पनि सक्छन्। कोही कोही त कडा डिप्रेसन भएर आत्महत्याको बाटो अपनाउनसमेत पछि पर्दैनन्।’
प्रकाशक इटर्नल पब्लिकेसनका अनुसार उप्रेरणात्मक पुस्तक अठोटका समेत लेखक रहेका श्रीश भण्डारीको यो उपन्यास विद्यालय उमेरका सबै किशोरकिशोरीका लागि उपयोगी छ। किताबको मूल्य २७५ रुपैयाँ छ।