
म्यानचेस्टर युनाइटेडले सिजनको खराब सुरुआत नसुध्रिएपछि प्रशिक्षक एरिक टेन हागलाई बर्खास्त गरेको छ। पछिल्लो खेलमा आइतवार वेष्ट ह्यामविरुद्धको खेलमा २-१ ले पराजित भएपछि प्रशिक्षक टेन हाग बर्खास्तीमा परेका हुन्।
पराजयपछि युनाइटेड ९ खेलबाट ११ अङ्कका साथ लिगको अङ्क तालिकामा १४औं स्थानमा पुगेको छ। युनाइटेडले आफ्नो नौमध्ये केवल तीन खेलमा मात्र जित निकाल्दा २ खेल बराबरी र ४ खेलमा हार भोगेको छ।
त्यस्तै युरोपा लिगको तालिकामा पनि युनाइटेड ३६ टोलीमध्ये २१औं स्थानमा छ। युनाइटेडले युरोपा लिगमा तीन खेलमा बराबरी खेलेको थियो। टेन हागका सहायकको रूपमा गत समरमा क्लबमा आएका रुड भान निस्टर्रोयलाई अन्तरिम प्रशिक्षकको रूपमा नियुक्त गरिएको छ। क्लबले भान निस्टर्रोयलाई ‘स्थायी प्रशिक्षकको नियुक्ति नभएसम्म’ जिम्मेवारी दिने बताएको छ।
टेन हागलाई क्लबका प्रमुख कार्यकारी उमर बेराडा र खेल निर्देशक ड्यान एस्वर्थले सोमबार बिहान क्यारिङ्टन प्रशिक्षण मैदानमा भेटेर क्लबको निर्णयको जानकारी गराएका थिए। क्लब स्रोतहरूलाई उदृत गर्दै बीबीसीले यो निर्णय कठिन भए पनि सर्वसम्मत रहेको बताएको छ।
युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेसले इन्स्टाग्राममा एक पोस्ट गर्दै प्रशिक्षकलाई धन्यवाद दिएका छन्। उनले लेखे ‘धेरै-धेरै धन्यवाद, बोस। तपाईंको विश्वास र हामीले सँगै बिताएका क्षणहरूको कदर गर्दछु। भविष्यमा तपाईंलाई सफलताको कामना।’
मे महिनामा भएको एफए कपको फाइनलमा म्यानचेस्टर सिटीविरुद्धको जितपछि क्लबले टेन हागको अनुबन्धमा एक वर्ष थप गरेको थियो। तर, तीन महिना नबित्दै उनलाई बर्खास्त गरिएको छ। सर एलेक्स फर्ग्युसनले २०१३ मा अवकाश लिएयता युनाइटेडले अब आफ्नो छैटौं स्थायी प्रशिक्षक खोजिमा भौतारिएको छ।