
झापा- झापा शिवसताक्षीको एक सामुदायिक विद्यालयका एक विषय शिक्षकले परीक्षामा विद्यार्थीले लेखेको उत्तरपुस्तिका नजाँची ग्रेड सिटमा ग्रेड भरिदिएको पाइएको छ।
शिवसताक्षी नगरपालिका वडा नम्बर ११ दुधेमा रहेको सामुदायिक विद्यालयमध्येको उत्कृष्ट राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयमा निमावि तृतीय श्रेणीमा कार्यरत विज्ञान विषयका शिक्षक शिवकुमार आङ्बोले विद्यार्थीको उत्तरपुस्तिका परीक्षण नै नगरी ग्रेड दिएको खुलासा भएको हो। उनले ५० पूर्णाङ्कको लिखित परीक्षाको उत्तरपुस्तिका परीक्षण नगरेका हुन् ।
शिक्षक आङ्बोले कक्षा ६ सेक्सन ‘बि’ का २६ विद्यार्थीको उत्तरपुस्तिका परीक्षण गरेका छैनन्। तर, उनले प्राप्ताङ्क सिटमा ग्रेडिङ गरेका छन्। प्राप्ताङ्क सिट हेर्दा उनले मनलाग्दी ग्रेडिङ गरेका छन्। उत्तरपुस्तिकामा एक जना विद्यार्थीले हामीलाई पढाएको छैन भनेर पनि लेखेका छन्। विद्यार्थीमाथि यो हदसम्मको लापरवाही क्षम्य नहुने अभिभावकले बताएका छन्।
अंग्रेजी र नेपाली दुबै माध्यममा अध्ययन अध्यापन हुने सो विद्यालयमा विज्ञान विषयको उत्तरपुस्तिका परीक्षण नगरी विद्यार्थीलाई नम्बर दिएको पाएपछि विद्यालयका प्रधानाध्यापक लालमणी सुवेदी पनि आश्चर्यमा परेका छन्।
प्रधानाध्यापक सुवेदीको हस्ताक्षर पनि प्राप्ताङ्क सिटमा छ। उत्तरपुस्तिका परीक्षण गरे नगरेको जाँच नगरी प्रधानाध्यापक सुवेदीले हस्ताक्षर गरेको खुलेको छ। प्राप्ताङ्क सिटमा वर्ग शिक्षको पनि हस्ताक्षर छैन। विषयगत शिक्षकले उत्तरपुस्तिका परीक्षण गरेपछि ग्रेडसहित वर्ग शिक्षकलाई दिनुपर्ने प्रावधान अन्य विद्यालयले अपनाएका छन्। तर, राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयले वर्ग शिक्षकको हस्ताक्षरको महल ग्रेड सिटमा राखेको छैन।
यसअघि विद्यालयले एक औपचारिक कार्यक्रमको आयोजना गरि अभिभावकको उपस्थितिमा नतिजा प्रकाशन गर्दै आएको थियो। गएको कात्तिक ९ गते सार्वजनिक गरिएको नतिजा विद्यालयको प्रशासन कक्षबाटै विद्यार्थीलाई उपलब्ध गराइएको बताइएको छ।
विद्यार्थीको क्षमता मापन नगरी दिएको नम्बरले विद्यार्थीको शैक्षिक भविष्यमाथि नै चरम खेलवाड भएको अभिभावक रामकुमार पौडेलले बताए। उनका अनुसार यो हदसम्मको लापरवाहीले हामी अभिभावक र स्वयम् विद्यार्थीलाई पीडा भएको छ।
विद्यालयका प्रधानाध्यापक सुवेदीले यो हदैसम्मको लापरबाही भएको बताए। उनले यो विषयमा विद्यालयले तत्काल अनुसन्धान गरी दोषी शिक्षकमाथि कारबाही गर्ने बताए। शिक्षक आङ्बोले यसअघि पनि उत्तरपुस्तिका परीक्षण नगरी विद्यार्थीको ग्रेडिङ सिटमा ग्रेड दिने गरेका थिए।
शिवसताक्षी नगरपालिकाका शिक्षा अधिकारी छवि ढकालले विद्यालयको अनुगमन गर्ने र शिक्षकको त्रुटि भेटिए कारबाही गर्ने जनाएका छन्।