
गण्डकी- ‘खोला, खोल्सा जलधि धमिला सङ्लिए छन् मजाले
डाँडापाखा रनवन शरद झाङ्गिएको हुनाले…’
कवि रामचन्द्र शर्मा एक सय १६औँ देवकोटा जयन्ती समारोहमा ‘शरद’ शीर्षकको कवितासहित यसरी प्रस्तुत भए । बागलुङको विद्यामन्दिर पुस्तकालयले महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती पारेर बिहीबार आयोजना गरेको प्रतियोगितात्मक कविता गोष्ठी एवं परिचर्चा कार्यक्रममा उनीसहित दर्जनजति कविका कविता गुञ्जिए । शर्माले छन्दमा लखेको उक्त कविताले प्रतियोगितामा द्वितीय स्थान प्राप्त गर्यो ।
कवि गोविन्द सुवेदीले अनुष्टुप छन्दको कविता ‘सुन्दरी कृष्णागण्डकी’ वाचन गरे । छन्दोबद्ध शैलीमा उनले सुनाएको कविताले दशर्कदीर्घा मुग्ध देखिन्थे । हिमालय क्षेत्र भएर बहने पवित्र कृष्णागण्डकी नदीको महिमाबारे कवि सुवेदीले कविताका सुललित पङ्क्ति यसरी प्रस्तुत गरे।
‘बग्छिन्, चेली हिमाली यी
नाम काली पुकारियो
खेग्दै गिरि शिलासाथ
हिँड्ने बानी छँदै थियो
दरौँदी र त्रिशुलीका प्रवाह
यिनका सखी
कल्याणी हुन् यी सबैकी
सुन्दरी कृष्णागण्डकी…”
कवि सुवेदीको उक्त कविताले प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्यो । कवि मुकेशचन्द्र राजभण्डारीले इजरायल र हमासबीचको द्वन्द्वबाट निम्तिएको मानवीय सङ्कलाई कवितामार्फत अभिव्यक्त गरे । ‘प्लालेस्टाइनी जनताको नाममा’ शीर्षकको कवितामा उनले न्याय, मुक्ति र स्वाधिनताका पक्षमा आफूलाई उभ्याए । कवि यामनाथ आचार्यले ‘प्रकृति’ शीर्षकको कविता गोष्ठीमा पाठ गरे ।
‘आहा रमणीय प्रकृति देखियो शोभायमान अति
नाचेका मयुर डाँफे मुनाल गीत गाउँदै कति हो कति
हिमचुली दखियो सफा अनि सेतै टल्क्यो बिहानी बेला
झुल्को किरणको पर्यो हिमालमा मोती भए पहेँला…’
आचार्यका कविताका हरफ हुन् यी । उनको कविताले तृतीय स्थान हासिल गर्यो । गोष्ठीमा कवि चन्द्रबहादुर क्षेत्री ‘चन्द्रसूर्य’, विजय राना, पुष्पिका सुवेदीलगायतले कविता वाचन गरेका थिए । स्रष्टाहरूले छन्द र मुक्त शैलीका कविता सुनाएका थिए । केही अप्रतियोगी रचनासमेत प्रस्तुत गरिएका थिए ।
कुनै सिर्जना महाकवि देवकोटाप्रति समर्पित थिए भने कतिपय समसामयिक मुद्दामा केन्द्रित थिए । भिन्दाभिन्दै भाव र कोणबाट रचनाकारले महाकविको स्मरण गरे, श्रद्धा प्रकट गरे । रसिला र चोटिला कविताले दर्शकदीर्घाबाट वाहीवाही पाए । धवलागिरि बहुमुखी क्याम्पसका उपप्राध्यापक हरिप्रसाद पाण्डेयले महाकवि देवकोटालाई नेपाली साहित्यका विराट र विलक्षण प्रतिभाका रूपमा चित्रित गरे ।