
पोखरा –तनहुँको शुक्लागण्डकी नगरपालिकामा विशेषज्ञ डाक्टरसहितको स्त्री रोगसम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार शिविर भएको छ।
शुक्लागण्डकी नगरपालिका र स्वदेशी नेपालले १२ वटै वडालाई लक्षित गरेर शिविर गरेको हो।
शिविरमा ५३५ जनाले स्वास्थ्य परीक्षण गराएको स्वास्थ्य शाखा प्रमुख ढालबहादुर थापाले जानकारी दिए। उनका अनुुसार २५९ जनामा पाठेघर सम्बन्धि समस्या देखिएको छ।
‘शिविरमा ३५ जनाको रिङ राखिएको छ। ८ जनाको अप्रेसन गर्नुपर्नेछ’, उनले भने, ‘उनीहरुको निशुल्क अप्रेसनको व्यवस्था मिलाइएको छ।’
चिर मेमोरियल हस्पिटल बनेपामा निशुल्क अप्रेसन गरिने उनले जानकारी दिए। आइतबार ढोरफूलबारी शहीद अस्पतालमा सुरु भएको शिविर शुक्रबार बगैँचा सहरी स्वास्थ्य केन्द्रमा समापन गरिएको छ। थप्रेक, लामागाउँमा समेत शिविर भएको थियो।
वुमन फर वुमन फाउण्डेसन नेदरल्याण्ड र वाइल्ड गान्जेन फाउण्डेसनको सहयोगमा भएको शिविरमा स्त्री रोग विशेषज्ञसहितको टोलीले सेवा दिएको हो।