
मोरङ – महिलाको पाठेघरको मुखको क्यान्सरको जोखिम न्यूनीकरण गर्न विराटनगर महानगरपालिकामा अभियान सुरु हुने भएको छ।
करुणा फाउण्डेसनको सहकार्यमा महानगरले सबै वडामा स्वास्थ्य परीक्षण अभियान गर्ने महानगरका मेयर नागेश कोइरालाले जानकारी दिए।
बिहीबार महानगरका जनप्रतिनिधि र कर्मचारीलाई पाठेघरको मुखको क्यान्सरसम्बन्धी एकदिने अभिमुखीकरणका क्रममा मेयर कोइरालाले परीक्षणपश्चात पाठेघरमा समस्या देखिएका महिलाहरुको महानगरअन्तर्गतका बैजनाथपुर र रानी अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाइएको जानकारी दिए।
फाउण्डेसनकी कार्यक्रम अधिकृत रविना खड्काले सम्बन्धित पालिकाहरुको नेतृत्वमा चालु आर्थिक वर्ष २०८१/८२ का लागि कोशी प्रदेशका चारवटा पालिकामा पाठेघरको मुखको क्यान्सरको पहिचान तथा रोकथाम परियोजना सञ्चालन गर्ने जानकारी दिइन्।
महानगरमा समेत फाउण्डेसनको सहकार्यमा अभियान सुरु गरिने बताउँदै अधिकृत खड्काले महानगरपालिकाका करिब ४७ हजार महिलाहरुको पाठेघरको परीक्षण गरिने योजना रहेको जानकारी दिइन्।
यसक्रममा महानगरका १९ वटा वडामा १ सय ३९ जना महिला स्वयंसेविकाहरु परिचालन गरिने बताइएको छ। हरेक स्वयंसेविकाले करिब २ सयजना महिलालाई स्वास्थ्य केन्द्रमा परीक्षण गर्न ल्याउने तयारी गरिएको छ।
कार्यक्रममा फाउण्डेसनले विराटनगर महानगरसहित कोशी प्रदेशका दुहबी, इनरुवा र धरानमा सञ्चालन हुने परियोजनामा १ लाख ७ हजार ५ सय महिलाको स्वास्थ्य परीक्षण गरिने जनाएको छ।