
झापा – विश्वप्रसिद्ध हिन्दू धर्मगुरु सन्त कालिदास (कालिबाबा)ले पूर्वको पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वरधामको ४२ औँ वार्षिक अनुष्ठानको उद्घाटन गरेका छन्।
शनिवार धाम समितिले आयोजना गरेको औपचारिक कार्यक्रममा धामको वार्षिक अनुष्ठानको उनले उद्घाटन गरेका हुन्।
अनुष्ठान उद्घाटनका लागि विश्व प्रसिद्ध हिन्दुधर्म गुरु १००८ बाबा कालिदास (कालिबाबा) र मंगलधाम कालिम्पोङका धर्मगुरु मोहन प्रियाचार्य अर्जुनधारा आइपुगेका थिए।
अनुष्ठानको उद्घाटन गर्दै कालिबाबाले नेपाल जहिले पनि हिन्दूराष्ट्र रहेको र फेरि पनि कायम गर्नुपर्ने बताए। कार्यक्रमलाई सम्बोधन गर्दै कृष्ण प्रणामीका धर्मगुरु मोहनप्रियाचार्यले केही राजनीतिक नेताहरूले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेको बताए। उनले नेपाल विश्वका हिन्दूहरूले गर्व गर्ने देश रहेको बताए।
बालाचतुदर्शी मेलाको अवसरमा ४२औँ वार्षिक अनुष्ठानको आयोजना गरी पाँच लाख बढी धार्मिक पर्यटक भित्र्याउने लक्ष्य राखिएको धाम समितिले जनाएको छ।
धाम व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज जोशीका अनुसार आगामी मंसिर १५ गतेसम्म महायज्ञ हुनेछ। विश्वशान्ति तथा पितृ उद्धारका लागि आयोजित महायज्ञमा आन्तरिक तथा बाह्य गरी पाँच लाखभन्दा बढी धार्मिक पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ।
वि.सं. २०३९ देखि यस धाममा वार्षिक अनुष्ठान हुँदै आएको छ। धाममा १०८ आचार्य ब्राम्हणद्वारा श्रीमद्भावगतसहित हवनात्मक महायज्ञ गरिने जानकारी समितिका महासचिव शिवलाल खतिवडाले जानकारी दिए। मूल मन्दिरको पूर्व–दक्षिणतर्फ १०८ व्यास (कुटी), यज्ञ, मण्डप आदि निर्माण गरिएको छ।
अर्जुनधारा जलेश्वरधामका व्यासाचार्य कुवेर सुवेदीको व्यासत्वमा हुने महायज्ञमा मूल अर्चक अग्निप्रसाद सिग्देल सहआचार्य रहेका छन्।