
काठमाडौँ – जतिबेला देशमा कोरोना भाइरस (कोभिड १९) कारण लकडाउन भयो, त्यो समयमा ४ जना बालबालिकामध्ये एक जनाले दिनको १० घण्टाभन्दा बढी इन्टरनेट चलाउने गरेका थिए। बालबालिकाका लागि डिजिटल सेफ्टीमा काम गर्ने संस्था चाइल्डसेफ्टनेटले गरेको एक अध्ययनले यो सार्वजनिक गरेको हो।
त्यसपछि भने इन्टरनेट चलाउन केही कम भए पनि पछिल्लो समय धेरै बालबालिकाहरूले इन्टरनेट चलाउने गरेका छन्। हुन त अहिलेको समय डिजिटल भएको हुनाले इन्टरनेट बालबालिकादेखि वृद्धवृद्धासम्मले चलाउँछन्।
पछिल्लो समय धेरै मानिसहरूमा साइबर सुरक्षाबारे पर्याप्त चेतना र सावधानीको कमीले गर्दा अनलाइन ठगीको सिकार पनि हुनु परेको छ।
अरुभन्दा बालबालिकाहरूमा साइबर सुरक्षाबारे पर्याप्त चेतना र सावधानको कमीले गर्दा उनीहरु अनलाइन यौन दुर्व्यवहार र यौन शोषणको जोखिममा पर्ने गरेका छन्।
बालबालिकाहरूले अनलाइन कक्षाका साथै मनोरञ्जन गर्न, गेम खेल्न, साथीभाइ र आफन्तसँग कुरा गर्न पनि इन्टरनेट चलाउने गर्दछन्। बालबालिकाहरू धेरैबेरसम्म अनलाइनमा रहँदा यौन शोषण गर्नेहरूको निशानामा पर्ने जोखिम बढी हुन्छ। त्यसैले इन्टरनेटको सुरक्षित प्रयोग गर्न आवश्यक हुन्छ।
चाइल्डसेफ्टनेटले गरेको एक अध्ययनअनुसार संयुक्त राज्य अमेरिकामा रहेकाे संस्था हराएका र शोषित बालबालिकाका लागि राष्ट्रिय केन्द्रमा सन २०२० मा नेपालबाट १ लाख ७८ हजार ३७१ वटा बाल यौन शोषण चचित्रणसम्बन्धी रिपोर्ट परेका थिए।
नेपाल प्रहरीको साइबर ब्युरोले पनि प्रत्येक वर्ष निवेदन दिने बालबालिकाहरुकाे सङ्ख्या बढिरहेको जनाएकाे छ। जसअनुसार आर्थिक वर्ष २०७५/७६ मा १०, ७६/७७ मा १०४, ७७/७८ मा २०८, ७८/७९ मा १८३, ७९/८० मा १७६ , ८०/८१ मा ७३५ र ८१/८२ मा २२३ जनाले निवेदन दिएका छन्।
साइबर ब्युरोको केन्द्रीय कार्यालयमा उजुरी दर्ता उपत्यकाका बालबालिकाहरूले गर्छन तर उपत्यका बाहिर पनि इन्टरनेटबाट बालबालिकाहरू पीडित हुने गर्छन त्यसको तथ्याङ्क भने पाउन मुस्किल छ।
ब्युराेका प्रवक्ता तथा सूचना अधिकारी एसपी दिपकराज अवस्थीले बालबालिकालाई इन्टरनेटबाट सुरक्षित राख्नका लागि सबैको सहकार्य हुन आवश्यक रहेको बताए।
उनले भने, ‘बालबालिकाले सबैभन्दा बढी समय बिताउने भनेको विद्यालय र घरमा हो। उनीहरुले इन्टरनेटमा के हेर्दै छन, कसरी चलाउँछन्। यसबारे पाठ्यक्रममा पनि हुन पर्याे। हुन त यसका लागि सरकारले गर्नुपर्छ होला। त्यसैगरी विद्यालयहरूले पनि समय समयमा यसबारे कार्यक्रमहरु गर्न पर्याे। हामीले पनि समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत इन्टरनेट यसरी चलाउनु, यसरी सुरक्षित रहन सकिन्छ भनेर भनेका छौँ। हामीले गर्ने भनेको सामुदायिक स्कुलमा हो। निजी स्कुलले पनि यसबारे सोच्नुपर्छ।’
चाइल्डसेफ्टनेटका सँस्थापक तथा अध्यक्ष अनिल रघुवंशीले पनि स्कुल, अभिभावक र सरकारले बालबालिकाहरूलाई इन्टरनेटबाट सुरक्षित रहने तरिका नसिकाएर उल्टै निषेध लगाउने गरेको आरोप लगाए।
उनले भने, ‘ स्कुलमा मोबाइल लान नदिने, गेम खेल्न नदिने, यो नगर्ने त्यो नगर्ने भन्ने तर बालकालिका र युवाहरूलाई सुरक्षित तरिकाले इन्टरनेट चलाउन नसिकाउने।’
सरकारले ट्राफिक व्यबस्थापनका लागि लाइसेन्स लगायतका व्यबस्था गरेजस्तै इन्टरनेट सुरक्षित बनाउनका लागि केही नीति बनाउन पर्ने उनको सुझाब छ।
अहिले साइबरसम्बन्धी मुद्दाहरू साइबर ब्युरोले मात्र नभई सबै जिल्ला प्रहरी कार्यालयहरूले हेर्ने गरेको अवस्थीले बताए। उनका अनुसार बालबालिका इन्टरनेटबाट पीडित भए साइबर कसुरमात्र नभइ बालबालिका सम्बन्धी ऐन २०७५ अनुसार अनुसार अनुसन्धान अगाडि बढ्ने गर्छ। यस मुद्दामा अलदालतले पीडकलाई धरौटीमा नछाडी पुर्पक्षमा पठाउने गर्दछ।
बालबालिका कसरी अनलाइन यौन दुर्व्यवहार र शोषणमा पर्न सक्छन्?
साइबर ग्रुमिङ
बालबालिकालाई यौन दुर्व्यवहार र शोषणका लागि अनलाइनमा साथी बनेर फकाउने, लोभ देखाउने कार्य
बाल यौन दुर्व्यवहार र शोषण सामग्रीहरू
अवैध व्यवसायका लागि समेत प्रयोग हुनसक्ने बालबालिकाका यौनजन्य फोटो, भिडियो तथा लेखाइ
अनलाइन यौन बदला
बदलाका लागि प्रेमी/पूर्वप्रेमीद्वारा यौनजन्य फोटो वा भिडियो बनाएर वा अरुलाई पठाउने कार्य।
बाल यौन दुर्व्यवहार र शोषणको प्रत्यक्ष प्रसारण
वेबक्यामको अगाडि बालबालिकालाई यौनजन्य क्रियाकलाप गराई प्रत्यक्ष प्रसारण गराउने कार्य।
सेक्सटोर्शन
यौनजन्य वा नग्न अर्धनग्न फोटो वा भिडियो प्रयोग गरी यौन, पैसा वा अन्य असूली ब्ल्याकमेलिङ्ग गर्ने कार्य।
सेक्सटिङ्ग
फोन वा मेसेजद्वारा पठाइने यौनजन्य फोटो, भिडियो, लेखाइ, जुन यौन शोषणका लागि प्रयोग गरिन सक्दछ।
– इन्टरनेटमा सुरक्षित रहन के गर्ने ?
१ साना र ठूला अक्षरका साथै अङ्ग र चिन्हसमेत राखेर कम्तीमा आठ अक्षर को पासवर्ड बनाउने,
२ कसैले अनलाइनमा नग्न/अर्धनग्न फोटो/भिडियो वा अश्लील मेसेज पठाएमा वा देखाउन/पठाउन भनेमा आमाबुबा वा विश्वासिलो साथीलाई भन्ने।
३ अनलाइनमा यौन दुर्व्यवहार र यौन शोषण गर्न खोज्नेलाई ब्लक गर्ने र रिपोर्ट गर्ने।
-के नगर्ने ?
१ पासवर्ड कसैलाई पनि नदिने, मिल्ने साथीलाई पनि नदिने।
२ आफूलाई नराम्रो र अप्ठ्यारो पार्नसक्ने फोटो र भिडियो फोन, कम्प्यूटर र सामाजिक सञ्जालमा नराख्ने, अरुलाई पनि नपठाउने।
३ एक्लै भेट्न बोलाएमा नजाने। राम्ररी नचिनेका मानिससँग अनलाइनमा साथी नबन्ने।
चाइल्डसेफ्टनेटले शुक्रबार काठमाडौँमा बालबालिकालाई डिजिटल सुरक्षाबारे जानकारी दिनका लागि एक दिने ‘डिजिटल सेफ्टी कार्यशाला’ पनि सञ्चालन गरेको थियाे।