
काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख रुपैयाँ दिने निर्णय गरेको छ।
यसअघि भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमार्फत एक लाख रुपैयाँ दिने गरिएकामा स्वास्थ्यमन्त्री प्रदीप पौडेलले दाताका परिवारलाई एक लाख थप गरी दुई लाख उपलब्ध गराउने निर्णय गरेका हुन्।
अङ्ग दानमा सघाउने अस्पताललाई यसअघि दिने गरिएको ५० हजार रुपैयाँमा मन्त्रालयले २५ हजार रुपैयाँ थप गरेर ७५ हजार रुपैयाँ पुर्याएको छ। उक्त निर्णय कार्यान्वयनमा अर्थ मन्त्रालयले आन्तरिक स्रोतबाट व्यवस्थापन गर्ने गरी सहमति दिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्यमन्त्री पौडेल स्वयंले पनि यसअघि मृत्युपश्चात् अङ्ग दान गर्ने घोषणा गरिसकेका छन्। देशभर हरेक वर्ष मिर्गौला प्राप्तिका लागि एक हजार र कलेजो प्राप्तिका लागि ५५ जनाले मानव अङ्ग प्रत्यारोपण केन्द्रमा नाम लेखाउने गरेका केन्द्रले जनाएको छ।
विद्यमान कानुनी व्यवस्थाअनुसार जीवित रगतको नाता पर्ने बाहेकले अङ्गदान गर्न पाउँदैनन्। मृत्युपश्चात् भने अङ्ग दान गर्न पाउने व्यवस्था छ। मृत्यु भएको २४ घण्टाभित्र दिन सकिने अङ्ग अरू जीवित व्यक्तिलाई प्रत्यारोपण गर्न सकिन्छ।
हाल भक्तपुरको सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रले देशमा बर्सेनि दुई सय मिर्गौला तथा २० जनाको कलेजो प्रत्यारोपण गर्दै आएको छ। यो कूल अङ्ग प्रत्यारोपणको झण्डै ७० प्रतिशत हो। वीर अस्पताल, त्रिवि शिक्षण अस्पतालसँगै केही निजी अस्पतालले समेत अङ्ग प्रत्यारोपण गर्दै आइरहेका छन्।