मुगु – मुगुको उत्तरी सोरु गाउँपालिकाको लिब्रु गाउँमा पहिलो पटक गाडी पुगेपछि स्थानीयवासी खुसी भएका छन्। सोरु गाउँपालिका–४ लिब्रुमा बिहीबार गाडी पुग्दा गाउँलेहरूको वर्षौँदेखिको सपना पूरा भएको छ।
मुगु–हुम्ला लिंक रोडको १३ किलोमिटर ट्र्याक खुलेपछि गाडी लिब्रु पुगेको हो। करिब २ करोड रुपैयाँ लगानीमा निर्माण गरिएको यो सडक सोरु गाउँपालिका, कर्णाली प्रदेश सरकार र स्थानीय पूर्वाधार विकास कार्यक्रमको सहकार्यमा बनेको हो।

सडक उद्घाटन समारोहमा सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाही र पूर्व राज्यमन्त्री हस्तबहादुर मल्लले संयुक्त रूपमा रिबन काटेर उद्घाटन गरे। अध्यक्ष शाहीले आफ्नो चुनावताका बेला गाउँगाउँमा सडक पुर्याउने चुनाबी वाचा जनता सामु गरे अनुसनर पूरा भएको र ५६ बस्तीमध्ये ५० बस्तीमा सडक पुगेको जानकारी दिए।
उनका अनुसार आगामी वर्ष बाँकी बस्तीहरूमा पनि सडक पुर्याइनेछ। यो सडकलाई हुम्लासँग बेलिब्रिजमार्फत् कर्णाली करिडोरमा जोडिने योजना छ।

सडकले हुम्ला जिल्लाका तल्लो भेगका पालिकाहरू अदानचुली, सर्केगाड, र चंखेलीका नागरिकलाई पनि यातायात र बैंकिङ सेवामा सजिलो हुने अपेक्षा गरिएको छ।
दुर्गम गाउँ लिब्रुमा कृषि उत्पादनमा धनी मानिन्छ। सिमी, मास, केरा जस्ता बाली अब सजिलै बजार पुर्याउन सकिनेछ। यसअघि बजार टाढा हुँदा बाली कुहिने समस्या थियो। अब भने गाडीले व्यापार र आयआर्जनमा सहयोग पुर्याउने स्थानीय रामबहादुर शाहीले बताए।

भर्खरै
लोकप्रिय






































































































































































































