
झापा- झापाको बिर्ताबजार–घैलाडुब्बा सडकखण्डमा फनमिन बोर्डिङ स्कुलको बस पल्टिएर शुक्रवार दुर्घटना भयो।
अपरान्ह ४.१५ बजे बिर्तामोड नगरपालिका वडा नं.– ३ खुकुरी चौकस्थित बिर्ताबजार– घैलाडुब्बा भित्री सडकखण्डमा बिर्ताबजारबाट फनमिन बोर्डिङ स्कुलतर्फ जाने क्रममा ना ४ ख ७४४० नम्बरको बस अनियन्त्रित भइ रोड साइडमा पल्टिँदा मानवीय क्षति हुन पाएन। भाग्यबश सो बस विद्यार्थीहरुलाई पुर्याएर फर्किँदै गरेको थियो ।
बस चालक बिर्तामोड–३ बस्ने ४१ वर्षीय देवकुमार राजबंशी सकुशल रहेको र बसलाई दुर्घटनास्थलबाट उठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।
दुई दिनअघि गौरीगञ्जमा स्कुल बसको ठक्करबाट बाबु छोरा घाइते भए। गौरीगञ्ज गाउँपालिका वडा नम्बर २ बाहुनटोलस्थित भित्री सडकखण्डमा तुलाचन चौकबाट टटुवामारी चोकतर्फ जाँदै गरेको प्र१–०१–००१ क ९७८ नम्बरको देवकोटा बोर्डिङ स्कुलको बस र बिपरित दिशाबाट आउँदै गरेको प्र–१–०१–०१६ प ५०६७ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाएर दुर्घटना भएको थियो। दुर्घटनामा मोटरसाइकल चालक गौरीगञ्ज आँपगाछी बस्ने १९ वर्षीय अन्वारीश कुमार राजवंशी र मोटरसाइकलमा पछाडि सवार उनका बुवा ५५ वर्षीय फागु राजवंशी घाइते भएका थिए।
टाउको र दाहिने खुट्टामा चोट लागेका अन्वारीशकुमार सामान्य घाइते छन् भने फागुको अबस्था गंभीर रहेको छ। दुवै जना घाइतेलाई गौरीगञ्ज आधारभूत अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारको लागि निम्स अस्पताल दमक रेफर गरिएको छ ।
बस र बस चालक गौरीगञ्ज ३ तेलगानी बस्ने ४१ वर्षीय एगराज कटुवाल इलाका प्रहरी कार्यालय गौरीगञ्ज र मोटरसाइकल प्रहरी चौकी कोरोबारीको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।
गत बैशाख २३ गते झापा बुद्धशान्ति ३ मा रहेको एरा एभरग्रिन बोर्डिङ स्कुलको बस बुधबारे पुलचोकको हडिया पुलमा पल्टिएको पाँच दिनअघि बिर्तामोड ४ आनन्दगञ्जस्थित हर्कलाल मार्गमा दुईवटा स्कुल बस एक आपसमा जुधेका थिए।
यसरी झापामा स्कुल बस दुर्घटना हुने क्रम बढेको छ । थोत्रा बस र त्यसमा बस चालकहरुले लापरवाहीसंग चलाउने गर्दा स्कुल बस दुर्घटना बढेको हो ।
कन्डिसनमा नभएको फनमिनको बस अनियन्त्रित भएर पल्टिएको बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकीले बताए । उनले स्कुल बसहरुको लापरवाही बढेकाले त्यसतर्फ ट्राफिक प्रहरीको ध्यान जान जरुरी भएको बताए ।
सवारीसाधन दुर्घटना न्यूनीकरणका लागि सामुदायिक तथा निजी विद्यालयका सवारी साधनहरुको अनुगमन जरुरी भएको हो ।
बिर्तामोड क्षेत्रमा चल्ने विद्यालयहरुका सवारीहरुको अवस्था, चालकको सवारी चालक अनुमतिपत्रलगायतका विषयमा ट्राफिक प्रहरी कार्यालयले चेकजाँच गर्नुपर्ने वडाध्यक्ष बुढाथोकीको भनाइ छ ।
झापाका करिव चार सय संस्थागत विद्यालयका ११०० को हाराहारीमा स्कुल बस छन् । त्यसमा केही विद्यालयहरुले २० वर्षभन्दा माथिका थोत्रा गाडी चलाइरहेका छन् ।
केही विद्यालयहरुले पुराना रात्रिबसलाई मर्मत गरेर स्कुल बसको रुपमा चलाइरहेको प्याब्सन झापाका अध्यक्ष गौरीमान फागोले स्वीकार गरेका छन्।
उनले अन्तर्राष्ट्रिय नियमअनुसार स्कुल बसलाई पहेलो बनाउन लगाए पनि स्कुल बस बाटोमा गुड्दा कसैले पनि प्राथमिकता नदिएको गुनासो गरे ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख, प्रहरी निरीक्षक गणेश पौडेलले साना नानीबाबुहरूलाई बसमा हालेर पठाउने स्कुल संचालक र कुदाउने चालक बढी जिम्मेवार हुनुपर्ने बताए।
उनले कतिपय स्कुल बसहरूले लापरवाही गर्दै आएको बताए।