
झापा- झापाको दमक नगरपालिकाका मेयर राम थापाले दमक ३ मा बनेको भ्युटावरको जस तथा अपजस पनि प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताएका छन्।
आइतबार भ्युटावर उद्घाटन कार्यक्रममा बोल्दै मेयर थापाले केही महिना अघि नै टावरको उद्घाटन गर्ने भनिए पनि उक्त टावर निर्माणको जस तथा अपजस प्रधानमन्त्री स्वयंले लिनुपर्ने बताएका हुन्।
प्रधानमन्त्री ओली स्वयंले शिलान्यास गरेको र उद्घाटन पनि उनले नै गरेकाले अब यसको जस तथा अपजस प्रधानमन्त्रीमै आएको बताए।
कार्यक्रममा बोल्दै मेयर थापाले भ्युटावर निर्माणको काम भइरहँदा र सञ्चालन गर्ने तर्खर भइरहँदा स्थानीय सरकारलाई नसोधिएकोमा असन्तुष्टि व्यक्त गरे।
उनले भने, ‘दमकमा भ्युटावर बनेको छ। संरचना तयार भएको छ। तर स्थानीय सरकारलाई सोधिएको छैन।’
भ्युटावरमा कस्ता व्यवसाय सञ्चालन हुन्छन् भन्ने अहिलेसम्म टुंगो लागेको छैन्। यस्तै, भ्युटावर निर्माण भए पनि यसको घर नक्सा दमक नगरपालिकाबाट पास भएको छैन्।
घर नक्सा मात्र होइन, सरकारी निकायबीचको समन्वय अभावले अझैसम्म वातावरणीय प्रभाव मूल्यांकन पनि हुन सकेको छैन्।
त्यहाँका स्थानीयले भ्युटावर निर्माणका लागि ५ विगाहा बढी जग्गा नगरपालिकालाई दिएको र सोही स्थानमा १८ तले सुविधासम्पन्न भ्युटावर तयार गरिएको हो ।
स्थानीय सरकारसँग समन्वय नगरी संघीय सरकारले उक्त टावर निर्माण गरेकोमा स्थानीय सरकारका जनप्रतिनिधिले असन्तुष्टि जनाएका हुन्।