
काठमाडौं- सुदूरपश्चिमले दिएको १ सय २४ रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्स ५१ रनमा समेटिएको छ।
योसँगै सुदूरपश्चिमले ७२ रनको जित हासिल गर्यो। यो सँगै जनकपुरले लिगमा पहिलो हारको सामना गरेको छ।
सुदूरपश्चिमले लिगमा जितसँगै पाँचौं खेलमा चौथो जित निकाल्दै ८ अङ्क बनाएको छ। जनकपुरको पनि ८ अङ्क रहेको छ।
टस हारेर पहिले ब्याटिङ गर्दै सुदूरपश्चिमले दिएको १ सय २४ रनको लक्ष्य पछ्याएको जनकपुरका लागि जोसुआ ट्रम्पले १३ रन बनाउनु सर्वाधिक रह्यो। उनले मात्र दोहोरो स्कोरमा रन बनाए। अन्य कुनैपनि ब्याटरले दोहोरो स्कोरमा रन बनाउन सकेनन्।
जनकपुरलाई सस्तैमा समेट्ने क्रममा हर्मित सिंह, दीपेन्द्र सिंह ऐरी र इशान पान्डेले २-२ विकेट लिए। त्यस्तै स्कट कुगलिङ्ग, नरेन साउद र साइफ जैबले १-१ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २३ रन बनाएको थियो।
राम्रो सुरुवातका बाबजुत मध्य क्रम र पछिल्लो क्रमले लगातार विकेट गुमाउँदा सुदुरपश्चिम सामान्य स्कोरमा समेटियो। पहिलो विकेटका लागि ५५ रनको साझेदारी गरेको उसले थप ६८ रन जोड्द ९ विकेट गुमाएको थियो। तर मध्यम लक्ष्यमा पनि उसले फराकिलो जित निकाल्न सफल भयो।