
काठमाडौँ– शुक्रबार राजधानीमा नवौं नानहाई बौद्ध सम्मेलन सम्पन्न भएको छ। सम्मेलनमा २८ देश र क्षेत्रका बौद्ध धर्म गुरु र प्रतिनिधि उपस्थित भएका थिए। उक्त सम्मेलनको अर्को शृङ्खला शनिबार बौद्ध धर्मका संस्थापक तथा एसियाका तारा गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा हुँदैछ।
होटल याक एण्ड यतिमा भएको सम्मेलनको उक्त सम्मेलनका प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओली थिए। सम्मेलनमा नेपालका लागि चिनियाँ राजदूत छेन सङ, कम्बोडियाका संस्कृतिमन्त्री चाय बोरिन, चीनको बौद्ध संघका उपाध्यक्ष डा.शि यिनशुन, सेन्चेन ओभरसिज फ्राइन्डसिपका सभापति वाङ जियाङ, महाविहारका प्रमुख जेम्बु जाइकालगायत अन्य व्यक्तिहरू उपस्थित थिए।
सम्मेलनको सुरुमा ‘सबै धर्मको मूल एउटै हो, सबैको उद्देश्य संसारमा सद्भाव र शान्तिपूर्ण सहअस्तित्व कायम गर्नु हो’ भन्ने विषयमा केन्द्रित भएर छलफल भएको थियो भने अन्त्यमा युवा मञ्च भएको थियो।
सम्मेलनको आयोजक समितिका सदस्य तथा चीनको बौद्ध संघका उपाध्यक्ष डा.शि यिनशुनले नेपाल, बुद्धको जन्मस्थल भएको उल्लेख गर्दै चीन-नेपाल धार्मिक सांस्कृतिक आदान प्रदान सुदृढ बनाउनु सम्मेलनको मुख्य उद्देश्य रहेको बताए।

चीनको बौद्ध संघका उपाध्यक्ष डा.शि यिनशुन।
सम्मेलनले नानहाई बौद्ध संस्कृतिको परम्परालाई आगाडि बढाउने, मानव सभ्यताका आदान प्रदान र परस्पर शिक्षा मार्फत मानवताका लागि साझा भविष्य निर्माण गर्नु र धार्मिक प्रतिवद्धता प्रदान गर्नै अपेक्षा राखेको उनको भनाइ छ।
सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल र चीनबीचका सम्बन्धमा बौद्ध धर्म एक चम्किलो धागोका रूपमा रहेको बताएका छन्।
उक्त धागोले दुई राष्ट्रहरूको आध्यात्मिक र सांस्कृतिक कपडालाई एकसाथ बुन्ने तथा सद्भाव र समझदारीको दिगो बन्धनलाई बढावा दिने उनले बताए। ‘नेपाल-चीन केवल सीमाभन्दा बढी धेरै विषय आदानप्रदान गर्छन् । हामी हाम्रो इतिहासको अविष्मरणीय कालखण्ड, हाम्रा पहाडहरूको भव्य आलिङ्गन, हाम्रा नदीहरूको जीवनदायी प्रवाह र हाम्रा संस्कृतिहरूको गहिरो र समृद्धिको बन्धनमा बाँधिएका छौँ’, प्रधानमन्त्री ओलीले भने, ‘नेपाल र चीनबीच इतिहासदेखि नै असल मित्रता रहिआएको छ । यो सम्मेलनले मैत्रीको बन्धनलाई गहिरो बनाउनेछ, आपसी सिकाइलाई प्रसारित गर्नेछ र नेपाल, चीन र त्यसभन्दा बाहिरका बौद्ध समुदायहरूबीच शान्ति, करुणा र सहयोगका शाश्वत मूल्यहरूको वकालत गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।’
उपाध्यक्ष यिनशुनले नेपाल बौद्ध अनुयायीहरुका लागि आदर्श देश रहेको बताए। उनले भने, ‘नेपाल, पवित्र र उज्यालो मोतीझैँ संसारको छानो हिमालयमा सुशोभित भएकोले प्रत्येक बौद्ध अनुयायीहरुका लागि आदर्श देश हो जहाँ भाव र धर्मको साझा सोच छ जसले हाम्रो हृदयलाई सँधै तानिरहन्छ।’
नेपालका नदीको पानीले मानव सम्भ्यताकाे अथाह महासागरलाई जीवन्त बनाएको उनले उल्लेख गरे।
‘बौद्ध धर्मका संस्थापक बुद्ध नेपालमा जन्मे । नेपालको जलाधार सदियाेँदेखि दक्षिण तर्फ भारत, श्रीलङ्का, कम्बोडिया हुँदै पूर्वतर्फ चीन, जापान, कोरिया हुँदै विशाल समुन्द्रमा परिणत भएका छन्। यी धाराहरूले मानव सम्भ्यताकाे अथाह महासागरलाई जीवन्त बनाएको छ।’
गएको ९ वर्षमा बुद्धका पाइला पछ्याउँदै नानहाई बौद्ध सम्मेलनले संस्कृति, शिक्षा, परोपकार स्वास्थ्य सेवा र युवाहरूका क्षेत्रमा आदान प्रदान र सहकार्यलाई सुदृढ बनाउँदै आएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार यसले अन्तर्राष्ट्रिय छात्रवृति, परोपकारी प्रकाश कार्यक्रम, बौद्ध ग्रन्थहरूको पारस्परिक अनुवाद जस्ता पहिचानयोग्य पहलहरूलाई अगाडि सारेको छ। साथै यसले दक्षिण सागर क्षेत्रमा शान्ति कायम गर्न र मानव सभ्यताका आदान प्रदानलाई प्रबर्द्धन गर्न योगदान पुर्याएको छ।
नानहाई बौद्ध सम्मेलन क्रमश: अन्तर्राष्ट्रिय धार्मिक आदान प्रदानको एउटा महत्वपूर्ण मञ्च बन्दै गएको र जसले मानवताको साझा भविष्य निर्माणमा सकारात्मक उर्जा सञ्चालन गरेको उनले बताए।
यिनशुनले प्रधानमन्त्री ओलीसाँग भएको आफ्नो भेटलाई स्मरण गर्दै सन २०१५ मा लुम्बिनीमा रोपेको पिपलको बिरुवा अहिले हराभरा भएको र उक्त हराभरा पिपलले जस्तै बुद्ध धर्मको भावनाले सबैलाई शीतलता दिने बताए।
चीन र नेपाल बिचको दीर्घकालीन मित्रता बौद्ध धर्मले निर्वाह गरेको महत्वपूर्ण भूमिकाबारे ओलीले चर्चा गरेको भन्दै उनले ओलीलाई धन्यवाद दिए।
लुम्बिनीमा चीनले निर्माण गरेको चिनियाँ बौद्ध मन्दिर चीन/नेपाल धार्मिक सांस्कृतिक आदानप्रदानको प्रतीक बनेको उनको भनाइ छ।
आज भएको सम्मेलनमा ३ प्रस्तावमा छलफल भएको थियो। ‘मूल उद्देश्यमा अहिक, साझा विश्वासको स्थापना, ‘मेलमिलाप र सहअस्तित्व सभ्यताको आपसी शिक्षा’ र व्यापक परोपकार प्राणीमात्रको भलाइको लागि काम गरौँ भन्ने प्रस्तावमा छलफल भएको थियो।
लुम्बिनीमा रहेको चिनियाँ बौद्ध मन्दिरले चिन नेपालबीच धार्मिक र सांस्कृतिक आदान प्रदानका लागि एक प्रमुख पुल बनेकाले सम्मेलनमा निम्न प्रस्ताव राखिएको थियो।
– नेपालका प्राचीन बौद्ध संस्कृतिका अवशेषहरूको संरक्षणलाई प्रबर्द्धन गर्दै लुम्बिनीमा बौद्ध धर्म संस्कृति क्षेत्रको पुननिर्माणमा योगदान पुर्याऔँ
– चिनियाँ बौद्ध मन्दिरको तेस्रो चरणको निर्माणलाई तीव्रता दिँदै चिनियाँ बौद्ध मन्दिर र नेपालका साझेदारहरू मिलेर लुम्बिनी अन्तर्राष्ट्रिय ध्यान केन्द्रको विकासलाई प्रोत्साहन गरौँ
– विभिन्न देशको सहकार्यमा लुम्बिनीमा ३ प्रमुख बौद्ध उपदेश आयोजना गर्ने योजना बनाऔँ। साथै नेपालको बुद्ध जयन्ती र अन्तर्राष्ट्रिय वैशाख पूर्णिमा महोत्सव जस्ता महत्वपूर्ण कार्यक्रममा सक्रिय सहभागिता जनाऔँ
-लुम्बिनीका लागि चिनसँग नियमित हवाई मार्गको व्यवस्था गरौँ जसले धार्मिक र सांस्कृतिक आदान प्रदानलाई थप प्रोत्साहन गर्ने छ।
सेचेन ओभरसेज फ्राइन्डसिपका सभापति वाङ जियाङले यो सम्मेलन पहिलोपटक बुद्धको जन्मस्थल नेपालमा आयोजना भएकोले जुनसुकै दृष्टिकोणले राम्रो हुने बताए।
आजको यो सम्मेलन चिन र नेपालका बौद्ध समुदायले दुबै देशका नेताहरूबीचको सहमतिलाई सकारात्मक प्रतिक्रिया जनाउँदै उठाएको एक ठोस कदम रहेको उनको भनाइ छ।
उनले चिनको सेचेन सहर र नेपाल बिच धरै रोचक र प्रेरणादायी कथा रहेको स्मरण गरे।

सेचेन ओभरसेज फ्राइन्डसिपका सभापति वाङ जियाङ
उनले भने, ‘२०१४ मा काठमाडौँ र चिनको सेचेन सहरबीच मैत्रीपूर्ण सम्बन्ध स्थापना, यो १० वर्षहरुमा दुबै सहरका नेताहरुले गरेको परस्पर भ्रमण,सञ्चनमा उत्पादित विद्युतीय उपकरण र जैविक औषधि उत्पादनहरु नेपालीहरुले मन पराएको, नेपालबाट सेचेनमा निर्यात हुने कपडा सुगन्धित तेल र बहुमुल्य ढुंगाका गहनाहरुमा व्यापार तीव्र गतिमा बढ्नु, सेचेनका नागरिकहरुले नेपाललाई मनमोहक पर्यटक गन्त्व्य ठान्नु। यी त मैले केही महत्वपूर्ण कुरा मात्रै भनेँ।’
उनले फेरि थपे, ‘चीनले लुम्बिनीमा निमार्ण गरेको चिनियाँ बौद्ध मन्दिर चिनकै एक संस्थाको नेतृत्वमा रहेको छ। यस मन्दिरले सेचेनको एक बौद्ध मन्दिरको सहकार्यमा चीन नेपाल बौद्ध सांस्कृतिक आदान प्रदान प्रर्वद्धन गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ। नेपालको सम्बन्धमा विशेष महत्व राख्ने र चीन नेपाल धार्मिक सांस्कृतिक आदान प्रदानको प्रतीक बनेको छ। यस सम्मेलनको श्रंखलाका रुपमा प्रेमपूर्ण उज्यालो यात्रा नामको एक कार्यक्रम शनिबारबाट हुँदैछ। यो कार्यक्रम चिनियाँ बौद्ध मन्दिरको सक्रियतमा गरएिको हो। यो सातौँपटक नेपालमा आयोजना हुँदैछ। यस्ता गतिविधिहरुले चिन र नेपालको सम्बन्ध थप मजबुत हुनेछ।’
सम्मेलनमा नेपालका लागि चिनियाँ राजदूत छेन सङले विश्वमा जतिपनि अस्थिरता भएपनि चीन र नेपालको सहकार्य र विकासको मूल भावना कहिल्लै परिवर्तन नहुने बताएका छन्। बौद्ध धर्मको ज्ञान र आशिर्वादले विभिन्न देशका जनताहरु एक अर्काप्रति नजिक हुने उनको भनाइ छ।