
काठमाडौँ – नेपाल प्रिमयर लिग (एनपिएल) मा प्लेअफ पुगिसकेको जनकपुर बोल्ट्सविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको चितवनले जितका लागि १८१ रनको उच्च लक्ष्य प्रस्तुत गरेको छ।
चितवनको उच्च स्कोरमा कप्तान कुशल मल्लले ४१ बलमा ३ चौका र ७ छक्का प्रहार गर्दै ७२ रनको सानदार अर्धशतकीय इनिङ्स खेले। उनलाई रवि बोपराले गतिलो साथ दिए। बोपरा ३२ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ४४ रनमा आउट भए।
५५ रन जोड्दा ३ विकेट गुमाएको चितवनका लागि कुशल मल्ल र रवि बोपराले चौथो विकेटका लागि ११३ रनको सानदार साझेदारी गरेका थिए। यी दुईबीचको शतकीय साझेदारीमा चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८० रनको स्कोर तयार गरेको थियो।
जनकपुरका लागि ललित राजवंशीले २ विकेट लिँदा हर्ष थकर, मोहम्मद मोहसिन र जेम्मी निसमले समान १–१ विकेट लिए।
आजको खेलमा चितवनले जित हासिल गरेमा विराटनगर र पोखरा अन्तिम खेलअगावै प्रतियोगिताबाट बाहिरिने छन्।