
काठमाडौँ – नेपाल प्रिमयर लिग (एनपिएल) मा चितवन राइनोजले ‘प्लेअफ’को सम्भावनालाई कायम राखेको छ। शनिबार भएको दिनको दोस्रो खेलमा चितवनले प्लेअफमा स्थान बनाइसकेको जनकपुर बोल्ट्सलाई ३२ रनले पराजित गरेसँगै उसको प्लेअफ सम्भावना कायम रहेको हो।
चितवनले जनकपुरलाई हराएसँगै अन्तिम खेलअगावै विराटनगर किंग्स र पोखरा एभेन्जर्स प्रतियोगिताको ‘प्लेअफ’ सम्भावनाबाट बाहिरिएका छन्।
यो समीकरणपछि बाँकी तीन स्थानका लागि ४ टोलीको प्रतिस्पर्धा हुनेछ। जसमा सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स र चितवन राइनोज र काठमान्डु गुर्खाजमध्धे तीन टिमले प्लेअफमा स्थान बनाउने छन्।
टियू मैदान कीर्तिपुरमा चितवनले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको जनकपुर १८ ओभरमा अलआउट हुँदै १ सय ४८ रनमा समेटियो। उसका लागि न्युजिल्यान्ड्का स्टार जिमी निसमले २४ बलमा ६५ रनको इनिङ्स खेले पनि टिमको लक्ष्य भेटाउन पर्याप्त रहेन। उनले आफ्नो विष्फोटक इनिङ्समा ५ चौका र ६ छक्का प्रहार गरेका थिए।
थप दोहोरो स्कोरक रुपमा आसिफ शेखले २३ रन बनाउँदा मोहम्मद मोहसिनले १३ रन बनाएका थिए।
चितवनका लागि रिजन ढकाल, सोहिल तनवीर र कुशल मल्लले २–२ विकेट लिए भने अर्को एक विकेट अमर रौटेलाले लिएका थिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो। उसका लागि कप्तान कुशल मल्लले ४१ बलमा ३ चौका र ७ छक्का प्रार गर्दै ७२ रनको सानदार अर्धशतकीय इनिङ्स खेलेका थिए। त्यस्तै, उनलाई रवि बोपराले गतिलो साथ दिए। बोपरा ३२ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ४४ रनमा आउट भए।
५५ रन जोड्दा ३ विकेट गुमाएको चितवनका लागि कुशल मल्ल र रवि बोपराले चौंथो विकेटका लागि १ सय १३ रनको सानदार साझेदारी गरेका थिए। यी दुईबीचको शतकीय साझेदारीमा चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८० रनको स्कोर तयार गरेको थियो। जितसँगै चितवनले ८ अङ्क बनाएको छ।