
काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) को ‘प्लेअफ’ समीकरण अन्ततः अन्तिम खेलसम्म धकेलिएको छ। रोमाञ्चक बनेको लिगमा अब अन्तिम खेलका रुपमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच सोमबारको खेलपछि ‘क्वालिफायर’ र ‘इलिमिनेटर’का चार टोलीको प्रतिस्पर्धाको समीकरण पक्का हुनेछ।
आइतबार भएको खेलमा सुदूरपश्चिमले नाटकीय रुपमा पोखरालाई पराजित गर्दै आफ्नो ‘क्वालिफायर’ यात्रा अन्तिम खेलअगावै निश्चित गर्यो। यस्तोमा दोस्रो टिमको तय सुदूरपश्चिम र कर्णालीबीचको खेलले हुनेछ।
यदी सोमबार कर्णालीले सुदूरपश्चिमलाई हराएर जनकपुरको भन्दा राम्रो रनरेटको जित निकालेमा ‘प्लेअफ’ मात्र होइन क्वालिफायरनै पुग्नेछ। सुदूरपश्चिमको भने राम्रो रनरेट रहेकाले उसको क्वालिफायर निश्चित भएको हो।
काठमान्डुको प्लेअफ सम्भावना कति?
काठमान्डुको प्लेअफ समीकरण अब सुदूरपश्चिमको हातमा पुगेको छ। आफ्ना सबै खेल खेलेको काठमान्डुले ८ अङ्क बनाएको छ। नेटरनरेटमा समान ८ अङ्कका बाबजुत चितवन र कर्णालीभन्दा तत्काललाई पछि छ। उसका खेल सकिएकाले अब कर्णालीलाई सुदूरपश्चिमले फराकिलो अन्तरले हराए मात्र काठमान्डुको सम्भावना रहन्छ। अन्यथा काठमान्डुको केवल गणितीय सम्भावना मात्र बाँकी छ।
काठमान्डुको प्लेअफ यात्राका लागि कम्तिमा कर्णाली ५५ रन या सोभन्दा बढीको मार्जिनले पराजित भए मात्र प्लेअफमा पुग्ने सम्भावना रहन्छ। जुन गणितीय सम्भावना मात्र हो। त्यसैले काठमान्डुका लागि भोलिको खेल प्रतिक्षाका लागि प्रतिक्षामा सीमित हुने सम्भावना छ। तर क्रिकेटमा सबैथोक सम्भव मानिन्छ। त्यसैले काठमान्डुको प्रतिक्षा स्वभाविक हुन्छ।
कर्णालीलाई ‘क्वालिफायर’कै अवसर
कर्णाली याक्स र सुदूरपश्चिमबीचको अन्तिम खेलमा कर्णालीलाई प्लेअफ मात्र होइन क्वालिफायरकै अवसर रहेको छ। यदि कर्णालीले सुदूरपश्चिमविरुद्ध फराकिलो जित निकाल्दै जनकपुरलाई नेट रनरेटमा पछि पारेमा उसको शीर्ष दुईमा रहँदै क्वालिफायर खेल्ने सम्भावना रहन्छ।
कस्तो छ अङ्क तालिका र नेट रनरेट
सुदूरपश्चिम रोयल्स अङ्क तालिकामा अन्तिम खेलअगावै राम्रो रनरेटसहित शीर्ष स्थानमा रहेको छ। सुदूरपश्चिमले ६ खेलबाट ५ जित र १ हारसहित कुल १० अङ्क बनाएको छ। उसको नेटरनरेट २.१०० रहेको छ।
त्यस्तै, दोस्रो स्थानको जनकपुर बोल्ट्सको ७ खेलबाट ५ जित र २ हारसहित १० अङ्क छ र उसको ०.१६४ रनरेट रहेको छ। अहिलेको अवस्थामा दोस्रो स्थानमा छ।
तेस्रो स्थानको चितवनको पनि प्लेअफ पक्का भइसकेको छ। उसको ८ अङ्क छ र ०.६३४ रनरेटसहित तेस्रो स्थानमा छ। यस्तोमा कर्णाली र सुदूरपश्चिमको खेलले चितवनलाई असर गर्ने छैन।
सोमबार पराजित भएमा कर्णाली अहिले नै चितवनभन्दा नेटरनरेटमा पछि छ। त्यसैले हारेको खण्डमा चितवनभन्दा अघि रहने सम्भावना हुँदैन र जितेको खण्डमा स्वतः १० अङ्कसहित तेस्रो स्थानमा रहने छ। चौंथो स्थानमा रहेर चितवनले इलिमिनेटर खेल्ने छ। काठमान्डु बाहिरिने छ।
अहिले चौंथो स्थानमा रहेको कर्णालीको अन्तिम खेल बाँकी छ। उसको ६ खलबाट ८ अङ्क छ र ०.०९५ को रनरेट रहेको छ। जितेमा स्वतः प्लेअफ पक्का हुन्छ भने झिनो अन्तरले हारेमा पनि उसको प्लेअफ पक्का हुनेछ।
चौथो स्थानमा रहेको काठमान्डुको पनि ८ अङ्क छ तर उसको रनरेट –०.३२१ रहेकाले कर्णालीको फराकिलो हारको प्रतिक्षाबाहेकको विकल्प काठमान्डुसँग छैन।