ठीक ११ बजेर ४६ मिनेटमा फूलहरुद्वारा सिँगारिएको काठमाडौँ महानगरपालिकाको ‘भ्यान’ मा राखेर एउटा पार्थिव शरीर चाक्सीबारीस्थित गणेशमान सिंह परिवारको घरबाट बाहिर निकालियो, नेपाली कांग्रेसको सानेपास्थित कार्यालयतर्फ। प्राण र उर्जाले कहिल्यै साथ नछोड्लाजस्तो लाग्ने पीएल सिंहले राति एक बजे त्यही घरमा प्राण त्यागेका थिए, र त्यसको झन्डै ११ घण्टापछि अन्तिम संस्कारका लागि पूर्वमेयरको सम्मानमा आफ्नो ‘भ्यान’ पठाएको थियो महानगरले।
सम्भवत: पीएल अर्थात प्रेमलाल सिंह काठमाडौँमा सर्वाधिक परिचित र सम्मानित व्यक्ति थिए। ०१७ साल पुस १ गते पहिलो निर्वाचित संसद् र मन्त्रिपरिषद् विघटित हुँदा उनी विदेशमा थिए। फर्कनासाथ अर्थात २१ वर्षको उमेरमा उनले दुईवटा अघोषित जिम्मेवारी लिए। पहिलो, संसदीय प्रजातन्त्र पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले अह्राएको या आफूलाई उचित लागेको भूमिका खेल्ने र दोस्रो, गणेशमान सिंह – मंगलादेवी परिवारको मूलीका रुपमा नाबालिग छोराछोरीको हेरचाह र पढाइको जिम्मेवारी लिने।
मुलुकको राजनीति अनेक चरणबाट गुज्रिँदै ०४६ को आन्दोलनको तयारी भइरहँदा पीएल बाह्य जगतसँग ‘लबिङ’ मा सर्वाधिक सक्षम र सक्रिय व्यक्ति थिए। त्योसँगै उनी एउटा वस्तुनिष्ठ ‘पर्यवेक्षक’ पनि थिए राजनीतिमा।
२०४७ को संविधान जारी भएपछि काठमाडौँ नगरपालिकाको पहिलो मेयर बने उनी। ‘हराभरा स्वच्छ काठमाडौँ’ को लक्ष्य राखे पनि उनको अव्यवस्थित जीवनशैली, योजना र कार्यान्वयनमा सक्षम संयन्त्रको अभावमा त्यो लक्ष्य पूरा भएन। तर, उनी लामो सोचका साथ आन्तरिकभन्दा बाहिरी जगतमा आफ्नो व्यक्तिगत ‘गुडविल’वापत सहयोग खोज्नमा बढी लागे।
नेपाली कांग्रेसले उनलाई दोस्रोपल्ट ‘टिकट’ दिएन। तेस्रो संसदीय निर्वाचन (२०५६) मा उनी काठमाडौँ क्षेत्र नम्बर ४ मा सफलताका साथ लडे। विजय जुलुसका क्रममा बाटोमा काठमाडौँ क्षेत्र नम्बर १ बाट पराजित मालेका वामदेव गौतम भेटिए, पीएलले गाडीबाट उत्रिएर अभिवादन मात्र गरेनन्, विजयको प्रतीक अविर पनि लगाइदिए।
चुनावमा जनताको जित हुन्छ र उनीहरुले जिताएको मान्छे सबैको ‘जित’ को प्रतीक बन्छ। पीएल र गौतम दुवैले यो कुरा बुझेका थिए। पीएल कहिल्यै परिवर्तित भएनन्। आफ्नो मान्यता राष्ट्रको स्वाधिनता र सार्वभौमसत्ताको पक्षमा, अनि बाह्य जगतसँगको लम्पसारवादको विरोधमा डटिरहे। झुकेनन्, टुटेनन्।
२०६३ को ‘आन्दोलन’ पछि १२ बुँदे सहमतिअनुसार शेरबहादुर देउवा मन्त्रिपरिषद्को सिफारिसमा विघटित तेस्रो प्रतिनिधिसभालाई ब्युँत्याइयो। जनताको निर्णायक मतबाट निर्वाचित हुने संसदलाई बाह्य आदेशमा १२ बुँदेका आठभाइ नेताहरुले पुनर्स्थापनाको एजेन्डा अघि सारे, अग्रगमनको राजनीतिका नाममा। राजा ज्ञानेन्द्रले अनुमोदन गरे। दुई व्यक्ति मात्र सांसद बनिरहन चाहेनन्, विदेशी एजेन्डाअन्तर्गत ‘प्राण फुकिएको’ त्यो संसद्मा, पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र पीएल सिंह।
त्यसपछि स्थापित सन्त नेता कृष्णप्रसाद भट्टराई प्रतिष्ठानमा भट्टराई जीवनपर्यन्त संरक्षक रहे भने उनकै आग्रहमा पीएल अध्यक्ष। त्यसपछि दुवै नेपाली कांग्रेसबाट अलगिएका थिए र प्रतिष्ठानसँगको आवद्धता नै उनीहरुको अन्तिम सार्वजनिक भूमिका बन्न पुगेको थियो। दुवैको व्यक्तित्व र मान्यता एउटा दलको घेरामा बाँधिनसक्ने स्वभावको थिएन।
‘०६३’ यता पीएलको एउटै मान्यता रह्यो, ‘राष्ट्रले बाटो बिराएको छ, ‘लिडरहरु’ ‘डिलर’ बनेका छन्। त्यस्तो अवस्थाबाट बाहिर आउन जुन विन्दुबाट बाटो भुलिएको हो, त्यहीँ फर्केर नयाँ बाटो खोज्नु पर्छ। त्यसका लागि ०४७ को संविधानमा फर्कनु अहिलेको व्यवहारिक र एक मात्र विकल्प हो।’ तर डिलरहरुले उनको कुरा सुनेनन्।
चाक्सीबारीबाट उनको ‘शव’ नेपाली कांग्रेसको कार्यालयमा लोकरिझ्याइँका लागि लगिए पनि नेपाली कांग्रेसमा अब केही पनि ‘नेपाली’ छैन भन्ने निष्कर्ष साथ उनी एक्लै हिँडिरहेका थिए, शरीरले साथ दिँदासम्म। उनले सदस्यता नवीकरण गरेका थिएनन् वर्षौँसम्म।
‘०६३’ यता पीएलको एउटै मान्यता रह्यो, ‘राष्ट्रले बाटो बिराएको छ, ‘लिडरहरु’ ‘डिलर’ बनेका छन्। त्यस्तो अवस्थाबाट बाहिर आउन जुन विन्दुबाट बाटो भुलिएको हो, त्यहीँ फर्केर नयाँ बाटो खोज्नु पर्छ। त्यसका लागि ०४७ को संविधानमा फर्कनु अहिलेको व्यवहारिक र एक मात्र विकल्प हो।’ तर डिलरहरुले उनको कुरा सुनेनन्।
तर, पीएल राजनीतिक दलभन्दा माथिको सामाजिक प्राणी र एउटा असल मान्छे थिए। आफ्ना लागि कम र अरुका लागि सधैँ बाँचिराखे, ८४ पार गर्दासम्म। पीएलको पूरा नाम के हो भनी सोध्दा उनी प्रेमलाल सिंह अर्थात पिएलएस ‘पिपुल्स लभ सर्भिस’ भनेर परिभाषित गर्ने गर्थे। उनी त्यसका उदाहरण थिए वास्तवमा।
जीवन नियतिको उपहार र संयोग हुन सक्छ। तर, पीएलको जीवन सधैँ परीक्षा र परीक्षण पनि रह्यो। एउटा परिवारमा जन्मे तर राजनीतिक र मानवीय संवेदनशिलताका कारण अर्को परिवारसँग जोडिन पुगे। गणेशमान सिंह र मंगलादेवीको अवसानपछि उनी चाक्सीबारीबाट विस्तारै टाढिँदै बाहिरिए।
धर्मसंकट आइलाग्यो, उनका भाइ इन्द्रलाल सिंह दाइ फर्केर ताम्सिपाखास्थित निवास आओस् भन्ने चाहना राख्थे। पीएलमा मैले नअपनाएको घरमा जीवनको उत्तरार्धमा कसरी जाने भन्ने नैतिक संकट थियो। सेवाको राजनीतिमा पीएलको जीवनशैली कठीन बनेको थियो। रातदिन उनका साथी कठीनाइमा परेका र हितैषीहरु हुन्थे। झिंझो नमानी उनीहरुलाई स्वागत गर्ने घर उनीसँग थिएन। त्यसैले थुप्रै मित्रहरुले घरको ‘अफर’ गर्दा उनले त्यसलाई स्वीकार्न सकेनन्। चाक्सीबारीभित्र पनि परिस्थिति सहज थिएन। चौतर्फी दबाब थियो, अन्तत: पीएल फर्के र आफ्नै प्रिय परिवेश, घर र स्वजनहरुकै बीच प्राण त्यागे।
उनका केही आदर्श थिए, त्यसका उदाहरण बने। आफूले कसैलाई लगाएको ऋण/गुनको चर्चा कहिल्यै गरेनन्। पाएको सानो सहयोग कहिल्यै बिर्सिएनन्। उनलाई राम्रो कपडादेखि राम्रो खाने कुराका शोख थियो। अन्तिम सातामा पनि आफूलाई मन पर्ने ‘थलथले मासु’ कीर्तिपुरबाट मगाए। तर, सधैँ उनले अर्कालाई के मन पर्छ, त्यसको ध्यान राखे। एक्लै बिरलै खाए होलान्। भेट्दा अरुलाई केही न केही उपहार दिने बानी थियो उनको। दिँदा भन्ने गर्थे ‘प्रजेन्ट टु रि-प्रजेन्ट’ अर्थात म जे दिँदै छु अरुलाई दिनू। अर्थात संग्रह र लोभ उनको बानी थिएन। स्वार्थ र घर त्यागेका थिए। समाज र राष्ट्रलाई माया गर्थे। साँचो अर्थमा उनी उच्चकोटीका ‘अघोरी’ या ‘अवधुत’ थिए।
पीएलका मित्रमण्डली या सामाजिक वृत्तमा बच्चादेखि उनकै समकालीन हुने गर्थे। व्यवहार पनि एकनासको हुने गर्थ्यो। राजदरबारमा कुनै समय सचिव रहेका दयारामभक्त माथेमा पीएल लाई ‘बेसार’ अर्थात सबैमा मिल्ने व्यक्ति भन्ने गर्थे।
मेरो आफ्नै परिचय या पीएलसँगको पहिलो भेट सन् १९७८ को अप्रिलतिर भएको थियो दिल्लीमा। उनी गणेशमान सिंहको ‘एम्स’ मा उपचारको क्रममा त्यहाँ थिए, म अध्ययनको सम्भावना खोज्न। उनी फूर्तिला र ऊर्जाशील थिए। त्यो भेटपछि गहन मित्रतामा परिणत भयो, खासगरी सन् १९८६ मा म पत्रकारका रुपमा दिल्ली पुगेपछि। पीएलका मित्रमण्डली त्यहाँ पनि विशाल थियो। चन्द्रशेखर, पीवी नरसिंह राव, अटल बिहारी वाजपेयीसँगको उनको सम्बन्ध राम्रो थियो।
विभिन्न तहका पत्रकारहरु पनि उनका मित्र थिए। गणेशमान सिंह अन्तिम समय ‘एम्स’ मा भर्ना हुँदा (सन् १९९७) पीएल सँगै थिए। स्वास्थ्यलाभ गरी गणेशमान सिंह फर्केपछि उनी देहरादुनतिर लागे। सहयोग गर्ने केही पात्रहरुलाई धन्यवाद दिन। तर, उनी उतै छँदा उनका पितातुल्य गणेशमान सिंहको निधन भयो काठमाडौँमा।
अस्पतालमा गणेशमान सिंहलाई भेट्न आएका बाजपेयीले आफ्नो एउटा किताब निकाले उपहार दिन। सबैले सोचेका थिए, त्यो गणेशमान सिंहका लागि तर त्यो पीएलका लागि थियो।
बोली फुटेका या त्योभन्दा माथिका दोहोरो कुरा गर्न सक्ने हरेक बच्चीहरु पीएलका लागि ‘लिलिपुटन मादम’ हुन्थे। खाली हात पीएल कतै नजाने हुनाले ती बच्चीहरुलाई उनको आगमन मिठो हुनु स्वाभाविकै थिए। एकपल्ट मैले पीएललाई बच्चाहरुका लागि राम्रा, ठूला होटलबाट खानेकुरा ल्याउँदा उनीहरुको बानी बिग्रिँदैन? भनी सोधेको थिँए। ‘इफ दे नो हाउ टु स्पेन्ड, दे विल नो हाउ टु अर्न,’ उनले भने। सबै विषयमा पीएलको फरक दृष्टिकोण र जीवनदर्शन थियो।
मन रुँदा नचाहँदा नचाहँदै पनि उनले कहिलेकाहीँ आफ्ना नेताहरुको ‘लिलीपुट’ चरित्रका बारेमा कुरा गरे उनले यदाकदा मसँग, तर आफूलाई प्रतिशोधको भावनाले त्यो स्तरमा झार्ने दुस्साहस कहिल्यै देखाएनन्। यस्ता दुर्लभ प्राणी हाम्रा अगाडि नमरुन र पत्रकारका रुपमा उनको ‘अविच्यूरी’ लेख्नु पर्ने अवसर नआओस् भन्ने सोच पीएलको बारेमा आउने गर्थ्यो मेरो दिमागमा। पीएलको मृत्युले मेरो त्यो चाहना अधुरो रह्यो।
काठमाडौँको सर्वाधिक परिचित र सायद मन पराइएका सार्वजनिक व्यक्तित्वको निधन भएको छ। नेपाली कांग्रेसले पछिल्लो समय एउटा गैरकांग्रेसीको जीवन बाँचेका पीएलको पार्थीव शरीरलाई आफ्नो पार्टीको कार्यालयमा फूलमाला चढाएको छ। लोकाचारमा यदि यो सीमित रहेन र वास्तवमा पीएलले भनेजस्तै ‘नेपाली’ नरहेको कांग्रेस फेरि नेपाली कांग्रेस बन्न सक्यो भने पीएलको आत्मा दुःखी हुनेछैन। उनी खुसी हुनेछन्।