
काठमाडौँ – काठमाडौँका पूर्वमेयर पीएल सिंहको अन्त्येष्टि गरिएको छ। काठमाडौँको डल्लुनजिकै कंकेश्वरी घाटमा सिंहको अन्त्येष्टि गरिएको हो।
त्यसअघि सिंहको पार्थिव शरीर ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको थियो।
उनको सोमबार बिहान चाक्सीबारीस्थित निवासमा ८५ वर्षको उमेरमा निधन भएको थियो। गत वर्ष उनको पेटको शल्यक्रिया गरिएको थियो। उनको फोक्सोमा समेत समस्या थियो।
उनी २०४९ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित भई तत्कालीन काठमाडौँ नगरपालिकाको मेयर बनेका थिए। उनी मन्त्रीसमेत बनेका थिए।
नेपाली कांग्रेसका संस्थापक नेता तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहका प्रमुख सहयोगी भएर उनले काम गरेका थिए । कांग्रेसले पछिल्लो समय लिएको नीतिप्रति उनले असहमति राख्दै आएका थिए ।
२०६३ सालको आन्दोलनपछि राजनीतिक दलको दबाबमा राजाले पुनःस्थापित गरेको प्रतिनिधिसभाका २०५ सदस्यमध्ये कृष्णप्रसाद भट्टराई र पीएल सिंहले शपथ लिन अस्विकार गरेका थिए।