
झापा- सीमावर्ती झापामा सवारी चालकहरूले लागुऔषध सेवन गरेर सवारी चलाउने गरेकाले यात्रुको ज्यान जोखिममा पर्दै गएको छ।
करिब डेढ बर्ष अघि काँकरभिट्टामा सार्वजनिक सवारी साधनका पाँच जना चालकहरूलाई गरिएको लागुपदार्थ सेवन जाँच गर्दा तीन जनामा पोजिटिभ देखिएको थियो।
उनीहरूविरुद्ध प्रहरीले लागुऔषध मुद्दा चलाएको थियो। यात्रु तथा यातायात व्यवसायीहरूले मादक पदार्थ सेवन जाँचका साथै लागुऔषध सेवनको पनि जाँचलाई निरन्तरता दिइनुपर्ने माग गर्दै आएका थिए।
सोही क्रममा शुक्रबार झापाको कमल गाउँपालिका ३ केर्खास्थित पूर्वपश्चिम राजमार्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले सार्वजनिक सवारी साधनका चालकहरूको स्वास्थ्य परीक्षण तथा लागुपदार्थ सेवन परीक्षण गरेको थियो।
२८ जना चालकको लापसे जाँच गर्दा १४ जनामा पोजिटिभ देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिए।
जाँच गरिएकामध्ये ५० प्रतिशतलाई लापसे पोजिटिभ देखिनु स्थिति भयावह रहेको प्रहरीको बुझाइ छ। सडक दुर्घटनामा चालकको लापरवाही, मादक पदार्थ सेवन मुख्य कारण भनिँदै आइएकोमा अब लागुपदार्थ सेवन गरेर सवारी चलाउने पनि अर्को कारण थपिएको देखिन्छ।
शुक्रबार लागु औषधको प्रभावमा सवारी संचालन गर्ने शंकास्पद चालकहरुको पिसाबलाई किट परीक्षणको आधारमा प्रारम्भिक नतिजा निकाली १४ जनालाई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय दमक झापामा राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक पौडेलले जानकारी दिए।
सार्वजानिक बस चालक ४ जना, सहचालक ६ जना, इभी चालक २, सह चालक १ र मोटरसाइकल चालक १ जनामा लागुपदार्थ पोजिटिभ देखिएको थियो।
उक्त परीक्षण झापाको काँकरभिट्टाबाट धरान तथा बिराटनगर चल्ने सार्वजानिक सवारी साधन लक्षित थियो।
सवारी दुर्घटनाको एउटा महत्वपूर्ण कारण लागुऔषधको पनि भएकाले अब सबै पक्ष गम्भीर बन्नुपर्ने झापाका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक पौडेलको भनाइ छ।