
काठमाडौँ- अंग्रेजी नयाँ वर्षको अवसर पारेर काठमाडौँको फ्रन्टलाइन अस्पताल र दावाली मिलन क्लबले संयुक्त रुपमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन्।
शनिबार काठमाडौंको शान्तिनगरमा निशुल्क स्वास्थ्य शिविर गरिएको हो। शिविरमा जनरल मेडिसिन, जनरल सर्जरी, पेट तथा कलेजो रोग, हाड जोर्नी तथा नशा रोग, नाक, कान घाँटी रोग, प्रसुती रोग, छाला रोग, क्यान्सर रोग, आँखा रोग, मुटु रोग, मुख तथा दाँत रोग, बाल रोगको सेवाहरु उपलब्ध गराइएको कार्यक्रमका संयोजक डा. कैलाशकुमार भण्डारीले जानकारी दिए।
उनले नयाँ वर्षमा नयाँ काम गरौँ र समाजलाई सहयोग गरौँ भन्ने भावनासहित शिविर सञ्चालन गरिएको बताए। उनले काठमाडौं बाहिर निःशुल्क स्वास्थ्य शिविर राखिए पनि काठमाडौं उपत्यकामा लक्षित गरी अहिले शिविर सञ्चालन गरेको जानकारी पनि दिए।
उनले सुकुम्बासी र निम्न वर्गका नागरिकहरुका लागि समाजप्रतिको दायित्व निर्वाह गर्न स्वास्थ्य शिविर राखेको जानकारी पनि दिए। सिद्धेश्वर माध्यमिक विद्यालयमा सञ्चालन भएको शिविरमा बिहान ९ बजेदिख दिउँसो २ बजेसम्म सञ्चालन भएको थियो।
शिविरमा २ सय ५० जना सेवाग्राहीको उपस्थिति थियो। नकारात्मकता बढी फैलिरहेको अवस्थामा समाजमा सकारात्मक ऊर्जा दिन कार्यक्रम राखिएको र महिनामा दुई पटक शिविर सञ्चालन गर्न लागिएको जानकारी पनि डा. भण्डारीले दिए।
चिकित्सक टोलीले निसहाय आश्रममा गई करिब ४० जना बृद्धबृद्धाको पनि स्वास्थ्य जाँच गरेको थियो।