देशसञ्चार चौतारीको यसपटकको अंकमा हामीले मिर्गौला रोग विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठलाई निम्त्याएका छौँ। भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक श्रेष्ठ र उनको टिमले अहिलेसम्म ठूलो संख्यामा मिर्गौला प्रत्यारोपण गरिसकेको छ भने सानो संख्यामा कलेजो प्रत्यारोपण पनि गरेको छ।
‘अहिलेसम्म हामीले प्यांक्रियाजको प्रत्यारोपण भने गरेका छैनौँ,’ उनले देशसञ्चार चौतारीका क्रममा भने।
नेपालमा मिर्गौला प्रत्यारोपण सहज र सुविधाजनक बनाउन ठूलो भूमिका खेलेका छन् डा. श्रेष्ठ र उनको टिमले। ‘हामीले नेपालमा मिर्गौला प्रत्यारोपण गरेर नेपालको करिब २० अर्ब रुपैयाँ बचाएका छौँ,’ उनले अन्तर्क्रियाका क्रममा भने। योसँगै उनले सयौँ बिरामीको ज्यान पनि बचाएका छन्।
उनले २००८ देखि यता १६ वर्षको यात्रालाई मिर्गौला प्रत्यारोपणको स्वर्णयुगका रुपमा बुझेका छन्। २००८ पहिले मिर्गौला फेल भएपछि केही महिनामै ९० प्रतिशतभन्दा बढीले ज्यान गुमाउने अवस्था रहेको र अहिलेको दिनसम्म आइपुग्दा त्यसमा आश्चर्यजनक ढंगले परिवर्तन आएको पनि बताए।
वीर अस्पतालबाट सुरु भएको प्रत्यारोपणयात्रा अहिले सहिद धर्मभक्त केन्द्रसहित टिचिङ र अन्य केही अस्पतालमा पनि हुन थालेको उनले बताए। ‘नेपालमा यसको सफलताको दर ९९ प्रतिशत छ, यो त भगवान्कै कृपा हो,’ उनले बताए। १२ वर्षको अवधिमा सहिद धर्मभक्त केन्द्रमा १३४० वटा मिर्गौला प्रत्यारोपण र ३० वटा कलेजो प्रत्यारोपण भइसकेको जानकारी पनि उनले दिए। ‘त्यो पनि निशुल्क,’ उनले भने।
अहिले सहिद धर्मभक्त केन्द्रलाई विस्तार गर्न आफू र आफ्नो टिमले असहजताको सामना गर्नुपरिरहेको पनि उनले बताए।
अंग प्रत्यारोपण नै सिक्न आफू बेलायत पुगेको र त्यहाँ ६ वर्ष यसकै अध्ययन गरेर आफू नेपाल फर्केको पनि उनले बताए। ‘राम्रो अंग्रेजी बोल्न पनि गाह्रो थियो, तैपनि निरन्तर सिकाइमा सक्रिय रहिरहेँ,’ उनले भने। बेलायतमा ६ वर्ष अध्ययन गरेर नेपाल फर्केका डा. श्रेष्ठलाई किन नेपाल फर्केछु जस्तै कहिल्यै पनि लागेन।
ब्रेन डेड भएकाहरुको अंग निकालेर पनि प्रत्यारोपण गर्न सकिने उनले बताए। नेपालमा यसको अभ्यास भइरहेको पनि उनले बताए।
नेपालमा मिर्गौला प्रत्यारोपणको कानुन पनि राम्रो बनेको उनले बताए। ‘यसको छिद्र प्रयोग गरेर दुरुपयोग गर्ने सम्भावना पनि उत्तिकै छ,’ उनले भने।
मिर्गौला फेल भएपछि सुरुवाती अवस्थामा डायलासिस गरिने भए पनि प्रत्यारोपण स्थायी उपचार प्रक्रिया भएको उनले बताए। प्रत्यारोपणका लागि अंगदानका लागि १८ वर्षका व्यक्ति आवश्यक हुने भए पनि अंग लिने काम भने १२ वर्षदेखि बुढाबुढीसम्म दान दिएको अनुभव रहेको उनले बताए।
उनले युवामा मिर्गौला रोग बढिरहेको भन्दै यससँग जोगिने युवाहरुबारे पनि चर्चा गरेका छन्।
विस्तृत कुराकानी: